» » हुलाकी सडक जीर्ण हुँदा आवागमनमा समस्या


मनिष गुप्ता
कपिलवस्तु ९ गते । मधेशका जिल्लाहरु जोड्ने देशकै अति पुरानो हुलाकी मार्ग सैकडो स्थानमा टुटफूट हुनुका साथै खाल्टाहरुमा पानी जमेका कारण सर्वसाधारण जनतालाई आवागमनमा समस्या व्यहोर्नुपरेको छ ।

कपिलवस्तु जिल्लाको जमुनि, बुटाहनिया, भलवारी, बराईपुर, राजपुर, बर्गदी, छोटकी तौलिहवा जस्ता स्थानहरुमा सडकमा ठूला–ठूला खाल्टाहरुमा पानी जम्नुका साथै बाटो हिलाम्मय बन्न पुगेको छ ।

मधेशको ग्रामिण भेगका वासिन्दाहरुका लागि महत्वपूर्ण मानिने हुलाकी सडकमा सदरमुकाम कपिलवस्तुदेखि २० किलोमीटर पश्चिम बहादुरगंज सम्मा ठूलाठूला खाल्टाहरु रहेको र विगत केही दिन यताको वर्षाले पानी जम्नुका साथै अत्यधिक हिलोले गर्दा ट्रयाक्टर बाहेकका सवारी साधन चल्न समस्या भएको भलवारी गा।वि।स।का प्रदिप चौधरीले बताउनुभयो ।

उहाँका अनुसार सडक हिलाम्मय हुनुका साथै पानी जमेर बाटो अति खतरनाक बन्न पुगेको छ । उक्त बाटो भएर मोटरसाइकल चलाउन समेत जोखिम मोल्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

‘ठूला खाल्टाहरुमा ट्रयाक्टर त जेनतेन चलेको छ तर अन्य सवारी साधन भने चल्न सकेको छैन’ स्थानीय वासिन्दा चौधरीले भन्नुभयो, ‘हिलोले गर्दा मोटरसाइकल समेत दैनिकजसो चिप्लिने गरेका कारण यात्रुहरु दुर्घटनाको शिकार बन्ने गरेको छ ।’

हुलाकी सडकको विभिन्न स्थानहरुमा बाटो जीर्ण हुन गई वर्षा यामभरि आवत–जावत गर्न समेत जोखिम उठाउनुपरेको दुःखेसो सुनाउनुभयो ।

कपिलवस्तुको महाराजगंज गा.वि.स. निवासी नरसिंह काहारले सदरमुकाम कपिलवस्तुबाट दैनिकजसो पसलकालागि सामान ल्याउनुपरेकोले हुलाकी सडक भएर यात्रा गर्नैपर्ने भएकोले साइकलमा सामान बोकेर ल्याउँदै गर्दा कैयौं दिन साइकल चिप्लिदा हिलाम्मय बाटोमा लड्नुपरेको उहाँले बताउनुभयो ।

सडकको अवस्था सुध्रिएला भन्ने आशा अब मरिसकेको दुखेसो सुनाउँदै ३०वर्षिय काहारले भने ‘हुलाकी सडक आज बन्ला, भोली बन्ला भनी आश्वासन सुन्दासुन्दै आश पनि मरिसकेको छ, आफूले होश सम्हालेदेखि नै सडकको अवस्था जस्ताको त्यस्तै छ ।’

निर्वाचनको समयमा बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनावी नारा बनाए पनि जितेर गएपछि प्रायः सबै प्रतिवद्धताहरु प्रतिवद्धतामै सिमित हुन पुगेको बहादुरगंज गा.वि.स.का स्थानिय राम मानोरथ चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्लामा ५ क्षेत्र छन जसमा एकै पटक ४ जना मन्त्रीसम्मको उच्च जिम्मेवारी पनि सम्हाले, तर सर्वसाधारण जनताको जीवनजिविकासँग जोडिएको हुलाकी सडक निर्माणका लागि ठोस पहल गरेनन्, सबै नेताहरु धोकेबाज नै भए ।’

खेतबारीमा उत्पादित सामान तथा कुमालेसहितका पेशागत जातिहरुद्वारा उत्पादित सामानहरु बजारसम्म पुर्याउन नसकेका कारण रोजीरोटी चलाउन पनि समस्या भएको स्थानीय कृषकहरुको दुखेसो रहेको छ ।

अहिले दिनहुँजसो मोटरसाइकल तथा साइकल चालकहरु समेत रातिको बेला दुर्घटनामा पर्ने गरेको छ । अन्य यातायातका साधनहरु चल्न सकेको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..