» » आमाको नामले नागरिकता नपाउने अर्जुनको कुरा कसले सुन्ने ?


–धनवीर महतो
महोत्तरी जिल्लाको मटिहानी ८ का २४ वर्षिय अर्जुनकुमार साहले आमाको नामले नागरिकता पाउनु भएन । उहाँको वुवा भारतीय भए पनि ३५ वर्षदेखि मटिहानीमै रहँदै आएका अर्जुनले अझै नागरिकता पाउन सक्नु भएको छैन । आमा मिथिलाकुमारी साह नेपालमै स्वास्थ्य क्षेत्रमा अनमी पदमा कार्यरत हुनुहुन्छ । आमाको नामले पनि नागरिकता पाउने संवैधानिक व्यवस्था भए पनि अर्जुनले आमाको नामले नागरिकता नपाउनु चर्चाको विषय बनेको छ ।

नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाउँदा धाउदै हैरान भएका अर्जुनले यस्ता समस्याहरुलाई समाधान गर्न राजनीतिक तथा सरोकारवालाहरुलाई गुहारे पनि कसैले चासो नलिएको गुनासो गर्नुभएको छ ।

उहाँ मात्र होइन् बर्दिबासमा मासुको पसल संचालन गरिरहेका अनिल विष्टको पनि यही समस्या छ । उहाँको वुवा पनि भारतीय भए पनि आमाको वंशजको नागरिकता रहेको छ । वुवा वर्षौदेखि बर्दिबासमै मासुपसल खोलेर गुजारा गर्दै आउनु भएको छ । उहाँले नागरिकताको लागि वर्षौदेखि दौडधुप गरेका छन् तर पनि अहिलेसम्म नागरिकता पाउन सकेका छैनन् ।

यी समस्या अर्जुन र अनिलको मात्रै होइन, तराई मधेशमा हजारौंको छ । नागरिकता ऐन, २०६३ को दफा ३(१) अनुसार ‘कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालका नागरिक रहेछन् भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्था छ’ ।

त्यसैगरी नेपालको अन्तरिम संविधान, २०६३ को भाग २ को धारा ८ को उपधारा १ मा अन्तरिम संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरिसकेको व्यक्ति र नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरु नेपालको नागरिक हुने व्यवस्था भएको देखिन्छ ।

त्यस्तै धारा ८ को उपधारा (२) मा अन्तरिम संविधान प्रारम्भ हुँदाका वखत नेपालमा स्थायी बसोबास भएको वंशजको आधारमा नेपालको नागरिकता प्राप्त व्यक्ति र उपधारा (२) को खण्ड (ख) मा कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक भएमा त्यस्तो व्यक्ति नेपालको नागरिक हुने व्यवस्था स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

नागरिकता अभावमा एउटा नेपाली आफ्नो संवैधानिक र कानुनी हकबाट बञ्चित हुने र श्रोतमाथिको पहुँच र विभिन्न खालका अवसरहरुबाट समेत बञ्चित हुनुपर्ने भएकोले ऐन, नियमावली अनुसार नागरिकता प्रमाणपत्र वितरण गरिनुपर्ने माग महोत्तरीबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकका प्रकाशक÷सम्पादक कृष्णचन्द्र झाले गर्नुभएको छ । उहाँले नागरिकता राज्य र जनताबीचको सम्बन्ध स्थापना गर्ने माध्यम भएको र हरेक नेपाली नागरिकको नागरिकता पाउने अधिकार भएकोले सरकार र स्थानीय प्रशासनले त्यसको सम्मान गर्नुपर्ने बताउनुभयो ।

मटिहानीका अर्जुनले आफ्नो पहिचानको आधार र राज्यबाट प्राप्त हुने अन्य सुविधाको साथै आफ्नो थुप्रै हक अधिकारबाट बञ्चित भएको हुँदा आफु राज्यविहिन भई बाँच्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘नेपाली महिला विदेशीसँग विहे गरी हाल आफ्नै देशमा बसोबास गर्दा निजलाई नागरिकता दिइने विषयमा नीतिगत निर्णय गरिनुपर्छ’ ।

सन् जनवरी २०१२ मा गृह मन्त्रालयले स्थानीय प्रशासनलाई जसको बाबु वा आमा नेपाली नागरिक हुन् तीनका सन्तानहरुलाई वंशजको आधारमा नागरिकता दिनु भनी आदेश गरेको थियो । तर त्यस्तो आदेशको गृह मन्त्रालय मातहत रहेका जिल्ला प्रशासन कार्यालयहरुले नमानेको देखिएको छ ।

महोत्तरी जिल्लामा अहिलेसम्म आमाको नामबाट एउटा पनि नागरिकता वितरण नगरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले परिपत्रहरु नआएको कारणले मात्रै नदिएको अवस्था रहेको बताउने गरेका छन् तर यो अधिकार भने प्रमुख जिल्ला अधिकारीमा निहित छ ।

महोत्तरी वार एशोसिएशनका जिल्ला उपाध्यक्ष अधिवक्ता विकरु यादवले सरकारले नागरिकता ऐनमै संशोधन नगरेको कारणले नागरिकता वितरणमा समस्या आएको बताए । उनले तत्कालको लागि व्यवस्था गरिएको ऐनलाई फोटोकापी गरि प्रमाणहरु पेश गर्ने हो भने नागरिकता पाउन सक्ने जिकिर गर्नुभयो ।

एक वर्षभित्र मात्रै सर्वोच्च अदालतको आदेशमा केही व्यक्तिहरुले आमाको नामबाट नागरिकता पाए पनि यसमा भने एउटा पनि मधेशी नपरेको गुनासो गर्दै अर्जुनले भन्नुभयो, ‘आफुले पनि नागरिकता पाउन सर्वोच्चमा २०६९ फागुन ७ गते मुद्दा गरे पनि अहिलेसम्म अदालतले मुद्दाको छिनोफानो गर्न सकेको छैन् ।’ उहाँले यो विभेद नभए के हो प्रतिप्रश्न गर्दै राज्यले सम्पूर्ण नागरिकसँग समान व्यवहार गर्नुपर्नेमा त्यस्तो नगरेकै कारण मधेश अहिले पनि आन्दोलनमै रहेको तर्क गर्नुभयो ।

ठूलो भएपछि छोराछोरीले आमावुवाको सेवा गर्ने सोच सबै आमावुवाको हुन्छ तर नेपालको कानूनको फितलोपनाको कारण अर्जुन अहिले आफैं आमाबुवामाथि बोझ बन्न पुगेको गुनासो गर्दै यसलाई समयमै सच्याउन उहाँले राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ । अर्जुन नागरिकता अभियन्ता पनि हो । नेपालमा देखिएका नागरिकता समस्याको बारेमा उहाँले अभियान नै चलाउनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..