» » केपी ओलिलाई बृषेशचन्द्र लाललेे दिनुभयो यस्तो जबाफ


प्रधानमन्त्री केपी शर्मा ओलीले बिराटनगरमा -  ‘ मधेशीका मांग के हुन् ? संविधान संशोधन गर्न तैयार छौं ।‘ भन्नु भएको छ ।  निश्चय नै वहाँको सम्पूर्ण भाषणलाई ध्यानपूर्वक हेर्ने हो भने झूठा गफ र लफ्फाजी बाहेक उनको भनाईमा केही छैन । सत्यताको र यसकालागि चाहिने स्वच्छ हृदयको गन्धसम्म भेट्न गाह्रो छ ।
तै पनि, सम्माननीय प्रधानमन्त्रीज्यू,
१. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तपाईंकै नेतृत्त्वको मन्त्रीपरिषद्ले गठन गरेको वार्ता टोली मार्फत राज्यसमक्ष राखेको ११ सूत्रीय मांग, त्यसपछि पुन: संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रतिनिधिमण्डलले महन्थ ठाकुरको नेतृत्त्वमा तपाईंको निवासमा तपाईकै हातमा दिएको ज्ञापन-पत्र तथा ७५ जिला प्रशासन कार्यालय मार्फत संघीय गठबन्धनले तपाईंलाई पठाएको ज्ञापन-पत्रको राम्री अध्ययन गर्नुहोस् ।
२. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्त्वमा जारी मधेश आन्दोलनको मांग तपाईंले भने जस्तो मधेशी मात्रको मांग होइन; मधेशी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, पिछडावर्ग सबै सिमान्तकृत समुदायको मांग हो । समानता, राज्यका अंगहरुमा समानुपातिक समावेशिता तथा पहिचान सहितको संघीयता सम्पूर्ण देशका जनताका मांग र सबैलाई स्वीकार्य हुने ‘राष्ट्रियता’को व्यापक आधार निर्माणका एजेन्डा हुन् । यसबारे सत्ता र विपक्ष संयुक्त रुपमा बसेर स्पष्ट धारणा निर्माण गर्नुहोस् ।
३. वार्ताको वातावरण निर्माण गर्न आन्दोलनको क्रममा राज्यबाट भएको नृशंस दमनको निष्पक्ष छानबीन गरी दोषीमाथि कारबाहीको लागि ‘न्यायिक जाँच आयोग’को गठन, दमनमा परी शहीद भएका आन्दोलनकारीहरुलाई शहीद घोषणा र घाईतेहरुको उपचारको तत्काल समुचित प्रबन्ध र खर्चको व्यवस्था तथा आन्दोलनकारीहरुमाथि लगाइएका झूठा मुद्दाहरुको खारेजीको घोषणा गरी भाषणबाट होइन औपचारिक रुपमा देशलाई सम्वोधन गरी सार्थक तथा उपलब्धिमूलक वार्ताको आह्वान गर्नुहोस् ।
४. अहम् को परित्याग गरी जबर्जस्ती लादिएको संविधानको सम्बन्धित सबै धारामा पुनर्लेखन वा संशोधन जे जरुरी छ गर्ने प्रतिवध्दता व्यक्त गर्नुहोस् ।
समस्याको समाधान हुन्छ । देशलाई द्वन्द्वतिर तपाईं र तपाईंजस्ताहरुको शासक समूहले ढकेलेको हो । मधेशीहरु शान्ति र स्थिरता चाहन्छन् । समानता र राज्यका अंगहरुमा जनसंख्याको हिसाबले आफ्नो र सबै सिमान्तकृत समुदाय सहितको प्रतिनिधित्त्व चाहन्छन् - कुनै विशेषाधिकार होइन । आवश्यकता देश र राष्ट्रप्रति तपाईंहरुको इमानदारिताको हो ।
 धन्यवाद !

                                                                                                                                              २०७३ ज्येष्ठ २९
(बृषेश चन्द्र लाल)
उपाध्यक्ष, तमलोपा

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..