» » एउटा सहिद परिवारको कथा: सरोय रायको शब्दमा

हिजो १० अषाढ, दोस्रो पल्ट महोत्तरीको शहिद अमित कापडको घर गएको थिए । जलेश्वरबाट ३ किमी पश्चिम उनका गाउँ बखरी रोड छेउमै रहेको छ ।

घर पुग्दा कोई थिएन, सबैजना अमितको परिवार मनतोरिया देवीलाई जचाउन र सिडीओ कार्यालयको कामले जलेश्वर गएका थिए । मनमा आशा थियो कि शहिदको परिवारलाई धेरै ठाउँबाट सहयोग आएको होला र चार अन्नामा बनेको फुसको घरमा केहि विकास भएको होला तर घर जस्ताको त्यस्तै नै थियो ।

एक छिनमा त्यहाँ २-३ जना बालकहरू आए जसमा दुईजना आफु अमितको सानो भाइ रहेको बताए र भित्रबाट कुर्सी ल्याएर बस्न दिए । रियाज भाइले ति बालकहरूलाई चकलेट र चाउचाउ खान दिए र हामी उनिहरू सँग खेल्दै सानो सानो जानकारी लिन थाले ।

शहिद अमित कापडको चार जना भाइ र तीन जना बहिनी रहेका छन । अमितको विहे भइसकेको छ । उनि मात्र १२ सदस्यी परिवारको कमासुत थिए तर उनका शहादत पछि परिवारको भार उनका ६० वर्षीय बुवा रामवृक्ष कापड माथी आई परेको छ ।

अमित भन्दा कान्छो भाइ २१ वर्षीय सुजीत कापड जलेश्वर स्थित वन कार्यालयमा भान्सेको काम गर्छन् र त्यहाँबाट पाउने तलबले आफ्नो जिवीका चलाई रहेका छन । उनी भन्दा कान्छो १७ वर्षीय सोनु कापड अमितको शहादत भन्दा पहिले गाउँकै चिनजानको आफन्त कहाँ भारत काम गर्न गएका अहिलेसम्म फर्केका छैन ।

उनी भन्दा कान्छो १४ वर्षीय सन्जीत कापड भन्नलाई त सरकारी स्कुलमा कक्षा ६ मा पढछन् तर घरमा पैसाको अभाव भएको बेला कक्षा छोडेर दैनिक चारसय रुपियाँको ज्यालादारीमा सिमेन्टी उठाउने काम गर्न थाल्छन् ।

उनी भन्दा सानो १२ वर्षीय मन्जीत कापड गाउँमै रहेको अमर ज्ञान ईंग्लिशमा कक्षा नर्सरीमा पढ्छन् । यो भन्दा पहिला मन्जीत सरकारी स्कुलमा कक्षा ४ मा पढेपनि ईग्लिश स्कुलमा पढ्न छुट पाए पछि क्षमता अनुसार नर्सरीमा पढ्न थाले ।

यता सरकारी स्कुलमा पढ़ाईको अवस्था यस्तै छन, कक्षा ६-७ मा गएपनि कतिपयलाई आफ्नो नामको स्पेलिगं पनि आउँदैन। सन्जीतको अवस्था पनि यस्तै छन।

अमित कापडको तीन बहिनीमध्ये ठुलो १८ वर्षीय रेणु कापड सामान्य पढलेख जानेकि छिन् । अहिले कापडको बुवा आमालाई रेणुको बिहे गर्न पिर लागेको छ । जस्तो सुकै केटा पाए पनि दाईजोमा मोटरसाईकल र कमसे कम २-३ लाख रूपैया माग गर्छन् रे ।

उनि भन्दा कान्छो ८ वर्षीय नेहा कापड अमरज्ञान स्कुलमा कक्षा नर्सरीमा पढिरहेकि छिन । उनि भन्दा कान्छो ५ वर्षीय कारी कापड त्यही स्कुलको कक्षा प्ले ग्रुपमा पढिरहेकि छिन ।

हामी यहि जानकारी लिंदै थिए कि जलेश्वरबाट अमीतका बुवा र आमा आई पुगिन् । आश्चर्य लाग्यो ८ महिना पछि उहाँहरूलाई मेरो नाम र अनुहार दुईटै याद रहेको छ । उहाँ जानकारी दिन थाल्नु भयो कि आज सबैजना सिडीओ कार्यालय क्षतिपूर्ति लिनको लागी अन्तिम सहीछाप गर्न गएका थियौ।

तर अमितको परिवार मन्तोरिया देवीको दाहिने हातमा ठुलो घाव भएको हुनाले सहीछाप हुन पाएन र घाव निको हुन्जेलसम्म कुर्नु पर्ने हुन्छ । समयमा किन ईलाज गराउनु भएन प्रश्नको उतरमा अमितको आमाले पैसाको समस्या देखाउनु भयो ।

एकजनाले फ्रि ईलाज गरिदिन्छ भनेर एउटा डाक्टर कहाँ पठायो तर उसले पनि सातसयको औषधी नै लेखि दियो, अमितको आमा अगाडी भनिन् ।

अहिले परिवारको गुज़ारा अमितको बुवा गाउँमै एकजनाको गाई भैंसीको स्यार सुशार गरेर महिनाको साढे पाँचहजार तलबबाट जसोतसो गुजारा गरिरहेका छन् ।

म भेट्न आउने मुख्य उद्देश्य उनीहरूलाई बताए । यदि एउटा सानो किराना पसल तपाईहरूलाई सहयोगमा खोल दिँदा के तपाईहरूको दैनिकमा केहि फरक पर्छ सोध्दा उनिहरू धेरै पर्छ भन्नु भयो र यसमा कमसे कम ६०-९० हजारको पूँजी लाग्छ बताउनु भयो। हाल तपाईको लागी के गर्न सकिन्छ भन्ने प्रश्नको उतरमा छोरीको विहेको पीर बारे बताउनु भयो ।

तत्काल तपाईलाई हेल्प मधेशी (क़तार च्यापटरु बाट रू ५५०० रुपियाँ दिने निर्णय भईसकेको र पैसा पनि पठाई सकेको हुनुपर्छ जानकारी दिए ।

तपाईको परिवारको यतार्थ बुझ्दा संस्थाबाट थप रकमको सहयोगका लागि आग्रह गर्नेछु भनि पनि उहाँहरु समक्ष प्रतिवद्धता जनाए । कापड परिवारका लागि महिनाको करिब २० हजार रहेको जानकारी अमितको बुवाले पाए ।

त्यहीबीच अमितको कान्छो भाइ सुजीत कापड अमीतको जेठो छोरा ४ वर्षीय अमन कापडलाई लिएर आयो । अति चुलबुले र स्मार्ट छ अमन  । रियाजले दिएको चकलेट र खिलौनाबाट एकदम खुशी थिए ।

हामी खेल्दै थिए कि भित्रबाट बहिनी चिया र खाजा लिएर आयो । हामी चिया र खाजा खांदै कुरा अगाडी बढ़ाए । अंकलले जानकारी दिनु भयो कि बुहारी हात ठिक भए भन्ने क्षतिपूर्तिको १० लाख पाउने हो तर हाम्रो हातमा अलिकता पनि नगद आउँदैन। सब पैसा अमितको आमा र उनका श्रीमति ख़ातामा जम्मा हुन्छ जसलाई अमितको छोरा १६ वर्ष भएपछि मात्र चलाउन पाउँछन् ।

एक किसिमले यो नियम ठिक भएपनि यस परिवारको लागी उपयुक्त लागेन किनभने बिना पैसा यो परिवार गुज़ारा कसरी चलाउंछन् । फेरी अमितको वुवा वृद्ध हुन लाग्नु भयो, वहाँ पछि के हुन्छ ?

यहि बिचमा मेरो मनले किराना पसल नै उपयुक्त हुन्छ भन्यो र मनैमन एउटा अठोट लिए कि जसरी भएपनि किराना पसलको लागि अवश्य पहल गर्नेछु ।

अब हाम्रो पनि जाने बेला भईसकेको थियो तर एउटा प्रश्नको उतर अझै खोजी रहेको थिए। आखिर अमित कापड संग घटना कसरी भयो ?

प्रश्न सोधु कि नसोधु ? दुविधामा थिए, बाहिरको ले फरक फरक सुनाउँछन् त्यसैले यो यतार्थ बुझ्न अमितको आमासँग सोधे । उहाँले विना कुनै आनाकानी प्रष्टसँग भन्नु भयो, त्यो दिन अनिल गर्ववति बुहारीलाई भारतबाट जचाएर घर फर्केका थिए, वुहारीलाई घरको गेटमै ओरालेर फेरी फर्किन थालेका थिए, त्यतिकैमा वुहारीले रोक्ने धेरै प्रयास गर्नुभयो कि अहिले कतै नजानु यत्रो घाम छ । जवाबमा छोरोले यति भन्यो, सबजना अधिकारको लागी सडकमा ओर्लेछन, म चुरा लगाएर घरमा बसु ?

 खाजा तयार गरेर राख, बेलुका आई हाल्छुु यति भन्दै साईकल लिएर जलेश्वर तिर लागे ।

केहि बेर रूकेर भावुक हुंदै फेरि भनिन्, हो बउवा हमर अमित साईकल लाबे गेलई, तीन चार गोडा सादा पोशाक वाला सट्टाके गोली मार देलकई, बउवा हमर ठरे प्राण छोड़ देलकई ।

म आवाक भए र सोच्न थाले के साँची नै यस्तो भएहोला, तर एउटा आमाले झुठ कसरी बोल्छन्, त्यो पनि बिना कुनै कारण जसको बोलीमा पीडा लुकेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..