» » स्वर्गीय सुवेदीको सम्झनामा शोकसभा


सीताराम चौधरी
कपिलवस्तु, जेठ २७ गते । नेकपा एमाले जिल्ला सल्लाहकार समिति सदस्य तथा प्रकाश उच्च मावि सुन्दरीडाँडाका प्रधानाध्यापक स्वर्गीय परशुराम सुवेदीको सम्झनामा नेकपा एमालेले हिजो शोकसभा गरेको थियो ।

कपिलवस्तुको शिवगढी ५, सुन्दरीडाँडा निवासी स्वर्गीय सुवेदीको नवौं दिनको पुण्यतिथिको अवसर पारेर एमालेले सुवेदी निवास सुन्दरीडाँडामा श्रद्धाञ्जलीसभा गरेको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै एमाले केन्द्रिय सदस्य एवं कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले स्वर्गीय सुवेदीको तस्बीरमा फूलमाला चढाउँदै पार्टीको वफादार नेतृत्वकर्ता गुमाएकोमा पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभयो । एमाले युवा नेता भट्टराईले मृतात्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको थियो ।

एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले स्वर्गीय सुवेदीले पार्टीलाई दिएको योगदान अविस्मरणीय रहेको औल्याउनुभयो । पार्टी अध्यक्ष पोख्रेलले स्वर्गीय सुवेदीको योग्दानको उच्च मूल्यांकन गर्दै पार्टीप्रति लगाएको उहाँको गुन कहिल्यै तिर्न नसकिने बताउनुभयो ।

कार्यक्रममा एमाले महिला नेत्री एवं केन्द्रिय स्कूल विभाग सदस्य बिमला घिमिरेले स्वर्गीय सुवेदी जिल्लाको पश्चिमी क्षेत्रमा रहेर पार्टीप्रति दिएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्ने बताउनुभयो । साथै उहाँले मृतात्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने मिलोस् भन्दै परिवारले मृतकको अधुरा सपनालाई पुरा गर्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रचारप्रसार विभाग सदस्य बाबुराम सापकोटाले स्वर्गीय सुवेदीको जीवनीबारे चर्चा गर्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..