» » पुस्तक प्रदर्शनीमा साहित्यिक कार्यक्रम


विराटनगर, वैशाख २७ गते । मोफसलमा पनि पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ घोस्ट राइटिङले यहाँ आयोजना गरेको पुस्तक प्रदर्शनीमा साहित्यिक कार्यक्रमले पाठकलाई आकर्षित गरेको छ ।

हरेक दिन तीन चरणमा साहित्यिक कार्यक्रम हुने गरेको छ । आइतबार मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि चन्द्र घिमिरेको काठको बाकस कविता सङ्ग्रहमाथि अन्तक्र्रिया र चारजना युवा कविले कविता वाचन गरेका थिए ।

सरकारका सचिवसमेत रहेका घिमिरेको हालै प्रकाशित काठको बाकस कविता सङ्ग्रहको परिचर्चा गरियो । प्रतिष्ठानकी अध्यक्ष ज्योति जङ्गलले सहजीकरण गरेको कार्यक्रममा कवि मनु मञ्जिल र मिश्र वैजयन्तीले घिमिरेको लेखन, शिल्प, शैली, कविताका विषयवस्तुलगायतमा आआफ्ना धारणा राख्नुभयो ।

कवि भरत गुरागाईंले वाचन गरेको काठको बाकस कवितामाथि झोराहाट नाट्य समूहका कलाकार सुदीप कार्कीले अभिनय गर्दा उपस्थित दर्शक निकै भावुक देखिन्थे । गुरागाईंले वाचन गरेको कविताको भावमा कार्कीले अभिनय गर्नुभएको थियो ।

त्यस्तै सोही अवसरमा आयोजित गाउँमा कविता शृङ्खलामा कवि रोहित पराई, उमेश लुइँटेल, तारा पराजुली र रमेशचन्द्र अधिकारीले आआफ्ना सिर्जना प्रस्तुत गरे । चारजना विराटनगरभन्दा बाहिर मोरङकै सर्जक हुन् । पराइले इच्छा, प्यारो छ नेपाल यो, शिखरिणी, वर्तमान, वैशाख कविता वाचन गरे ।

लुइँटेलले वाचन गरेको क्षीतिज टाढिँदा, आमा, मृत परिधि र नदीभित्र आमा कविताले दर्शकको राम्रै ताली पायो । पराजुलीले गिट्टी कुट्ने दिदी, वृद्धाश्रममा आँसु, सडक चोकमा र अस्वीकत उपहार तथा अधिकारीले माजीहडाम, कविता आत्महत्या गरिरहेछन्, सिमलफूल र यात्रा वाचन गर्नुभयो ।

कार्यक्रममा वाचन गरिएका कवितामाथि प्राज्ञ विवश पोखरेलले टिप्पणी गर्नुभयो । चारजना युवापुस्ताका सशक्त र आशलाग्दा कवि भएको पोखरेलको भनाइ थियो ।

यसैबीच, पुस्तक प्रदर्शनीअन्तर्गत आइतबार साहित्यकार ताराबहादुर बुढाथोकीको जिन्दगीका कुइनेटा संस्मरण सङ्ग्रहको समेत परिचर्चा गरियो । मकालु साहित्यिक समाज सङ्खुवासभाको आयोजनामा भएको कार्यक्रममा जिन्दगीका कुइनेटा संस्मरण सङ्ग्रहका विषयमा प्रा डा टङ्क न्यौपाने र प्राज्ञ उपेन्द्र पागलले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो ।

तीन दशकभन्दा लामो समयदेखि सङ्खुवासभामा रहेर नेपाली भाषा साहित्यको क्षेत्रमा सक्रिय बुढाथोकीका विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन् । उहाँले कार्यक्रममा तीनवटा कविता वाचन गर्नुभयो । वैशाख २० गतेदेखि सुरु प्रदर्शनीमा हरेक दिन काव्य–वाचन, कृतिमाथिको परिचर्चा, नाटक मञ्चन, चित्र प्रदर्शनी, सिर्जनात्मक लेखनसम्बन्धी प्रशिक्षणलगायतका कार्यक्रम हुने गरेको घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले बताउनुभयो ।

प्रदर्शनीमा आत्मकथा, जीवनी, उपन्यास, कथा, धार्मिक, विदेशी लेखकका नेपाली अनुवाद कृति बढी बिक्री भएको उहाँले जनाउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..