» » हामीले सरकारलाई मौका दिएकै हो


–राजेन्द्र महतो
संविधानसभाबाट जारी संविधानले मधेसमा विद्यमान विभेदको अन्त्य गर्न असमर्थ देखियो । त्यसैले हामीले पहिलो चरणमा ४० दिनसम्म मधेसकेन्द्रीत आन्दोलन गर्यौं ।

मधेसी जनता आफ्नो अधिकारको लागि पेट खाली राखेर भए पनि आन्दोलनमा उत्रिए । त्यो अवधिभर मधेस ठप्प रह्यो, जनजीवन प्रभावित बन्यो । तर, त्यहाँको आवाज कहिल्यै सिंहदरवारले सुनेन । त्यसपछि हामी असहयोग आन्दोलन सुरु गर्न बाध्य भयौं । जसअन्तर्गत आपूर्ति असहज बनाउन सीमा अवरोधको कार्यक्रम सार्वजनिक गर्यौं । यो बाध्यात्मक आन्दोलनको एउटै उद्देश्य थियो कि कानमा तेल हालेर बसेको सिंहदरबारले अधिकारका लागि लडिरहेका मधेसी जनताको आवाज सुनोस् र यथाशीघ्र समस्याको समाधान गरोस् ।

यस प्रकारको आन्दोलनबाट सबैभन्दा बढी जनतामा नै असर पर्छ भन्ने जान्दा–जान्दै पनि हामी यस्तो अप्रिय र कठोर निर्णय लिन बाध्य भएका थियौं । किनभने हाम्रो अपेक्षा थियो– आपूर्ति व्यवस्था असहज भएपछि सरकारमाथि जनताको दवाब बढ्नेछ । त्यसपछि वार्ता र संवादको माध्यमबाट मधेसी जनताको माग राज्यले सम्बोधन गर्नेछ ।

वीरगञ्ज नाकाबाहेक अरु नाका बन्द भएन

सीमा अवरोधको कार्यक्रम ल्याउँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र हामीले कार्यविभाजन पनि गर्यौं । चारवटा पार्टीहरूले विभिन्न नाकाहरूको जिम्मा पाए । उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालले विराटनगर, हाम्रो सद्भावना पार्टीले वीरगञ्ज, महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टीले भैरहवा र महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टीले अन्य साना नाकाहरूको जिम्मा पायो । हामीले लगातार सीमा अवरोध गर्यौं । तर, वीरगञ्ज नाकाबाहेक अन्य नाकाहरू ठप्प हुन सकेन ।

हाम्रो मधेसमा एउटा कहावत छ, ‘ताला लगल वा कि खुलल वा’ अर्थात ‘ताला लागेको हो कि खुलेको हो ?’ वीरगञ्ज बन्द भए पनि अन्य नाकाहरूबाट सामान धमाधम भित्री रहे । सीमा अवरोधको बहानामा कालोबजारी मौलायो । उता, सरकारले पनि जनतालाई खोक्रो राष्ट्रवादको अफिम खुवाएर दिग्भ्रमित बनाइराख्यो । मधेसी जनताले अधिकारका लागि होइन, मधेस टुक्राउनका लागि मात्र आन्दोलन गरिरहेका छन्, भारतले अघोषित नाकाबन्दी गर्यो, हामी झुक्नुहुँदैन जस्ता आसयका प्रचारबाजी गरियो । सबै कुराको दोष आन्दोलनकारीमाथि मात्र थोपर्ने काम भयो ।

जनताले सरकारमाथि दवाब दिन्छन् भन्ने अपेक्षा गरेका थियौं, त्यो हुन सकेन । जुन प्रयोजनका लागि सीमाअवरोधसहितको आन्दोलनका कार्यक्रमहरू ल्याइएका थिए, ती असफलजस्तै देखिए । दुःख सरकारलाई दिन खोजेको, जनतालाई मात्र पर्यो ।
त्यही भएर जनताबाट दवाब आयो– कि सरकारलाई सबै नाका बन्द गरेर दवाब देऊ नत्र कालाबजारीलाई पोस्न मात्र एउटा नाका बन्द नगर । त्यसो त आन्दोलनको स्वरूप पनि परिर्वतर्न गर्ने बेला भइसकेको थियो । शान्तिपूर्ण आन्दोलन एकैनासले लामो समय चल्न सक्दैन । एउटै मौसममा आन्दोलन सकियो भने त्यो एकै प्रकृतिको हुन्छ । ६–७ महिना लामो आन्दोलनको स्वरूप विभिन्न चरणमा विभिन्न हुन्छ । एउटै तरिकाको मात्र आन्दोलन भयो भने आन्दोलन ‘फेजआउट’ हुन्छ ।
यो आन्दोलनको सिद्धान्त नै हो । मोर्चाभित्र सबैको मानसिकता अब आन्दोलनको स्वरूप परिर्वतन गर्नुपर्छ भन्ने नै थियो । तर, निर्णय हुन सकिरहेको थिएन ।

त्यसपछि मैले पनि अब जनतालाई मात्र धेरै दुःख दिनुहुँदैन भनेर मोर्चाको बैठक हुनुभन्दा एक दिनअघि विराटनगरमा गएर आन्दोलनको स्वरूप परिर्वतन गर्ने विषयमा प्रस्ताव आफँै लैजान्छु भनेर बोलेँ । किनभने नाकाबन्दीका लागि सबैभन्दा धेरै खट्ने म नै थिएँ । यसमा सबैभन्दा धेरै दवाब ममाथि नै थियो किनभने सबैले यसको दोष मलाई नै दिइराखेका थिए । मैले विराटनगरमा बोलेको मात्र के थिएँ, जनताले भोलिपल्टै वीरगञ्जमा आफैँ गएर नाका खोलिहाले । नाका सहज भइहाल्यो ।

साथीहरुले धन्यवाद दिनुपथ्र्यो
मोर्चाका अन्य साथीहरूले त्यसमा धन्यवाद दिनुपथ्र्यो । किनभने यत्रो समय जनताले साथ दिएर नाकाबन्द भएकै थियो । हाम्रो मानसिकता पनि आन्दोलन परिवर्तन गर्ने बनिसकेको थियो । जनताले पनि त्यही अनुसार नाका खोलिदिए । यसमा जनतालाई धन्यवाद दिएको भए पनि हुन्थ्यो । तर, मोर्चाका साथीहरूले राजेन्द्र महतोले नाका खोल्यो भनेर गाली गर्न थाले ।

आन्दोलनको स्वरूप परिवर्तनको विषयमा मोर्चाका अन्य साथीहरू पनि बोलेकै थिए, मैले पनि बोलेँ । के अनर्थ गरेँ र मैले ? एक महिनाअघिदेखि महन्थजी, उपेन्द्रजी र महेन्द्रजीले बोल्नुभएकै हो । मिडियाले पनि त्यसलाई प्रचार गरेकै हो । उहाँहरूले बोल्दा खुलेन, मैले बोल्दा फ्याट्टै खुल्यो । यस्तो किन भयो भने नाकाबन्दी गर्न सबैभन्दा बढी म नै खटेको थिएँ । अन्य नेता काठमाडौंमा हुँदा म मधेसमा थिएँ । त्यसमाथि बन्द भएको एउटै नाका मेरो नेतृत्वमा थियो । मैले बोल्ने बित्तिकै उक्त नाकामा असर पर्नु स्वभाविक नै हो ।

दिल्लीको भूमिका

नाकाबन्दी खुल्नुमा दिल्ली र बिहार भ्रमणको कुनै भूमिका छैन । किनभने आन्दोलनको स्वरूप परिवर्तन गर्ने कुरा त दसैंपछि देखिनै सुरु भएको हो । नाकाबन्दीको कार्यक्रम एक महिनाभन्दा बढी चल्नुहुँदैनथ्यो । त्यति अवधिमा नै वार कि पार हुनुपथ्र्यो । सबै नाका एक महिनामात्र ठप्प भएको भए सरकार घुँडा टेकिहाल्थ्यो । आन्दोलन लामो समय चल्यो, आन्दोलनको स्वरूप परिर्वतन गर्ने बेला भइसकेको थियो । प्रधानमन्त्रीलाई बाटो खोलिदिएको !

प्रधानमन्त्रीको भारत भ्रमणको लागि बाटो खोलिदिएको भन्ने विश्लेषण पनि आएको छ । तर, त्यो एकदमै गलत कुरा हो । यो काग करायो दक्षिणा हरायो भन्ने कुरा मात्र भयो । प्रधानमन्त्रीको भारत भ्रमणको कुरा अहिले मात्र चलेको हो, नाका खोल्ने कुरा धेरै अघि नै भएको थियो । त्यसैले यो संयोग मात्र हो । आज वा भोलि नै नाका खुल्छ भन्ने कुरा भइरहेको थियो । तर, त्यतिबेला म नाकाबन्दी खोल्ने पक्षमा थिइनँ ।

निर्देशन दिने कुरा चित्त बुझेन

मिडियामा प्रचारबाजी भएजस्तो मोर्चाभित्र कुनै टकराव छैन । ‘जैसा कर्म करेगा, वैसा फल भरेगा ।’ जस्तो काम गर्यो, जनताले त्यसकै फल दिने हो । एकआपसमा टकराव गरेर केही फाइदा नै छैन । हाम्रो लक्ष्य एउटा हो, त्यसलाई मिलेर पूरा गर्नुपर्छ । पछिल्लो मोर्चाको बैठकको सन्दर्भ छ, त्यसमा उहाँहरूले एउटा निर्णय गरेर ल्याउनुभयो, जुन कुरा मलाई चित्त बुझेन । मलाई निर्देशन दिने भन्ने कुरा चित्त बुझ्ने थिएन । ६ महिनासम्म मधेसमा खटेर आन्दोलनलाई अघि बढाएँ । अहिले काठमाडौंमा बस्नेले ‘चोर बोले जोर से’ भन्ने जस्तै मलाई माफी माग्नुपर्ने भनेपछि मैले निर्णयमा सही गरिनँ ।

मोर्चाको बैठकमा पनि साथीहरूले कुरा राख्नुभयो, ‘मधेस आन्दोलनको जस सबै तपाईंले मात्र लिनुभयो ।’ तर, जस भन्ने कसैले लिएर लिने कुरा होइन । त्यो कसैले गरेको कामको आधारमा जनताले मूल्यांकन र समीक्षा गरेर दिने हो । राजेन्द्र महतोको ‘हाइट’ बढ्यो भन्ने कुरा छ, त्यो उसै बढेको होइन, जनताले बढाइदिएको हो । पहिलो मधेस आन्दोलनमा पनि उपेन्द्र यादवजीको हाइट बढेकै हो नि । आन्दोलनमा जसले काम गर्छ, जनताले त्यही आधारमा नम्बर दिन्छन् । कसैको मनमा लाग्दैमा हुने कुरा होइन ।

भारत के चाहन्छ नेपालमा ?

मधेस आन्दोलनमा भारतले हस्तक्षेप गरेको हो भन्ने कुरा आएको छ । तर के साँच्चै भारतले हस्तक्षेप गरेको हो त ? यहाँको मिडियाहरूले एउटा कुरा बुझ्न जरुरी छ कि मधेसमा भारतले हस्तक्षेप गरेको होइन । यद्यपि, मधेसबारे भारतको चिन्ता र चासो भने अवश्य हो ।

नेपालसँग भारतको सुरक्षाको विषय जोडिएको छ । त्यही भएर उनीहरू नेपालमा शान्ति र स्थिरता चाहन्छन् । किनभने नेपाल र भारतबीच खुला सीमाना रहेको छ । मधेस अशान्त हुँदा भारतलाई फाइदा छैन । शान्तिपूर्ण आन्दोलन सफल भएन भने त्यसले हिंसात्मकरूप लिन्छ । मधेसमा हतियार उठ्यो भने त्यो मधेसमा मात्र सीमित रहँदैन । त्यो भारत पनि पस्न सक्छ । मधेसको अस्थिरतामा फाइदा उठाउँदै भारतविरोधीहरूले त्यहाँ खेल्न सक्छन् भनेर उसले सधँै मधेसप्रति चासो व्यक्त गरिरहेको हुन्छ ।

त्यही भएर भारतले मधेसको समस्या समाधान गर्नका लागि चिन्ता व्यक्त गरेको हो । यहाँको सरकारलाई मधेसको समस्या चाँडो समाधान गर भनेर दबाब दिएको हो । दोस्रो कुरा, विभेद र रंगभेदको आन्दोलनमा भारतीयहरूले जहिले पनि साथ दिएको इतिहास छ । गान्धीजी दक्षिण अफ्रिाकासम्म पुगेर लड्नुभएको थियो । नेपालमा पनि त्यही प्रकृतिको आन्दोलन हो । सीमित खसबादी संकीर्ण सोच भएकाहरू, जो मधेसी, जनजाति, आदिवासी, थारूलगायतलाई अधिकार दिनुहुँदैन भन्ने छन्, उनीहरू विरुद्धको आन्दोलन हो । नश्लवादी सोच र चिन्तनविरुद्धको आन्दोलन हो यो ।

त्यस्तै, जनता आन्दोलनमा हुँदा भारतले जहिले पनि साथ दिएको छ । राजा त्रिभुवन पनि जनताको लागि लड्दा भारतले साथ दिएको थियो । ०४६ सालको आन्दोलनमा पनि साथ दिएको थियो, ०६२ र ६३ मा साथ दिएकै हो । त्यतिबेलाका आन्दोलनकारीहरूले भारतसँग नाकाबन्दी गर्न आग्रह गरेको थियो । गिरिजाबाबुले आफैँ नाकाबन्दीको कुरा राख्नुभएको थियो । आज हामीले नाकाबन्दी गर्दा कसरी राष्ट्रघाती भयौँ ? यो त द्वैध चरित्र भएन र ?

हामीले पहिलो मधेस आन्दोलनमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सम्झौता भएको थियो । त्यसबेला भारतले भूमिका खेलेको थियो । तर, अहिले त्यो सम्झौता लागू भएन । त्यही भएर हामीले भारतलाई सोधेका हौं, ‘तिमीले सम्झौता लागू गराएको खै ?’

प्रधानमन्त्रीको भारत भ्रमण र मधेस आन्दोलन
मधेस आन्दोलनलाई भारतीय जनताको नैतिक समर्थन छ । त्यही भएर मधेस आन्दोलनलाई वेवास्ता गरेर प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा निस्किँदा भारतीय जनताले उनलाई फूलमाला लिएर स्वागत गर्न सक्दैनन् । आन्दोलनकारीले एकतर्फीरूपमा लचक भएर आन्दोलनको स्वरूप परिवर्तन गरेर सहज परिस्थिति निर्माण गर्दा पनि सरकारले कानमा तेल हालेर बस्न थाल्ने हो भने त्यसले राम्रो सन्देश दिँदैन । त्यसैले, मैले पटक–पटक भनेको छु, प्रधानमन्त्रीको भारत भ्रमण त्यतिबेला मात्र फलदायी हुनसक्छ, जब उहाँ यहाँको सवालहरूलाई सम्बोधन गरेर भारत जानुहुन्छ । यहाँको समस्या समाधन गर्छु भनेर शुभसंकेत दिएर भारत जानुपर्यो । त्यसैले यो कुरा केपी ओलीजीकै हातमा रहेको छ । ६ महिनादेखि भारतसँग तितो सम्बन्ध छँदैछ, फेरि दिल्लीमा त्यस्तै तितो भयो भने सन्देश राम्रो हुँदैन ।

हामीले परिस्थिति सहज बनाइदिएका छौं । त्यही भएर केपी ओलीजीलाई मेरो सुझाव के छ भने यसको भरपूर फाइदा उठाउनुहोस् समस्या समाधानका लागि । अब पनि समस्या समाधान नभए हामी चुप लागेर बस्दैनौँ । जेठ १ गतेदेखि घनघोर आन्दोलन शुरु हुँदैछ ।

संयन्त्र होइन षड्यन्त्र हो 

सीमांकनको विषय समाधान गर्नका लागि राजनीतिक संयन्त्र गठन गर्ने कुरा भएको छ, त्यो संयन्त्र हो कि षड्यन्त्र हो ? त्यो त समयले बताउला । तर, हामीले मागेको भनेको हामीसँग भएका सम्झौताहरूको कार्यान्वयन र अन्तरिम संविधानमा राखिएका तर नयाँ संविधानमा हटाइएका विषयहरू पुनः राख्ने हो । नयाँ केही पनि होइन । यसलाई सम्बोधन गर्न किन गाह्रो मानिरहेको हो, मैले बुझ्न सकेको छैन ।

यो आन्दोलनले कुनै नेता वा पार्टी गरेको आन्दोलन होइन । यो, जनआन्दोलन हो । हामी त आह्वानकर्ता मात्र हौं । यो आन्दोलनमा जनताले तीनवटा कुरा भनेका छन् । एउटा वार कि ार – आन्दोलनको लक्ष्य प्राप्ति नभएसम्म आन्दोलन चलिरहन्छ । दोस्रो, अभी नही तो कभी नही – यो आन्दोलनबाट अधिकार लिनै पर्छ नत्र कहिले अधिकार लिन सकिन्न । अहिले पाएनौं भने कहिले पनि पाउँदैनौं । र तेस्रो, आन्दोलनको अन्त्य उधारोमा होइन नगदमा यानी आन्दोलन सम्झौतामा मात्र होइन, नतिजासहित अन्त्य हुनेछ । पहिलो मधेस आन्दोलन उधारोमा अन्त्य गर्दा जुन परिणाम आयो, अब त्यो हुँदैन । संविधानमा हाम्रो अधिकार लेखिएपछि मात्र आन्दोलन अन्त्य हुन्छ भनेर जनता भनिरहेका छन् ।

आन्दोलन कुनै पदसँग साटिनेवाला छैन । २०६२ र ६३ को पुनरावृत्ति यहाँ हुँदैन । त्यो गल्ती यहाँ दोहोरिँदैन । मधेस आन्दोलन र सत्ताको कुनै सरोकार छैन । सत्ताको खेलमा मोर्चा लाग्ने वाला छैन । संसदमा हामीले प्रधानमन्त्री निर्वाचनको बेला मतदान गरेका थियौं । त्यो हाम्रो भूमिका थियो । संसदीय गतिविधिमा भाग लिने हाम्रो कर्तव्य पनि थियो । तर, हामीलाई सरकारमा जानका लागि कुनै पनि आकांक्षा छैन । हामी सडकमा छौं, आन्दोलनको माग पूरा नभएसम्म सत्तामा जाने कुरा छैन ।

(सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग गरिएको कुराकानीमा आधारित)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..