» » राजेन्द्रजी यो झोक्र्याएर बस्ने बेला होइन

-महेश चौरसिया
पोखरीको पानीमा रमाएको माछोलाई खुला समुन्द्रमा पौडी खेल्न डर लाग्दो होला, उसलाई पोखरी नै मन पर्छ । ऊ समुन्द्रदेखि डराउँछ । कम्तीमा तपाइँहरुले त्यसरी डराउनु पर्दैन । पोखरी भन्दा बाहिर आउनुस् । समुन्द्रमा पौडी खेल्न सिक्नुस्, रमाउनुुुस्, यसैमा संघर्ष गर्नुस् ।

मधेशमा मात्रै सीमित हुने सपना नदेख्नुस्, सिङ्गो देश र जनता तपाइँको आफ्नै हो । लडाइँ राज्यसँगको हो, सरकारसँगको हो । ओलीको सर्वसत्तावाद विरुद्धको लडाइँ हो । सार्वभौमसत्ता प्राप्तिको लडाइँ हो । गर्व गर्नुस्, यहाँका सिङ्गो आदिवासी जनजाति, मगरात, लिम्बूवान, खम्बूवान, ताम्सालिङ, तमुवान, थारु, कर्णाली, दलित, महिला, सीमान्तकृत, उत्पीडित, उपेक्षित जनता तपाईसँगै छन्, अर्थात उनीहरु सबै संघीय गठबन्धनको साथमा छन् ।

यो झेली गर्ने समय होइन । विवाद गर्ने बेला होइन । बिरामी हुने बेला पनि होइन । झोक्र्याएर बस्ने बेला त हुँदै होइन । हृदय खुला गर्नुस् । मनको विकार हटाउनुस् । राजनीतिको दायरा फराकिलो गर्नुस् । मैदान खुला छ । सिङ्गो उत्पीडित पहाडी समुदायको साथ छ ।

कम्तीमा उपेन्द्र यादवले त्यो माहोल नेपालमा बनाइदिएका छन् । त्यसलाई सदुपयोग गर्नुस् । निसन्देह संघीयता र पहिचान उपेन्द्र यादव नेतृत्वको पार्टी र जनताको देन हो । स्वीकार्न नहिच्किचाउनुस्, मधेशी–जनजातिको ऐतिहासिक संगम पनि उपेन्द्र यादवकै देन हो । यसकारण उपेन्द्रजीलाई नेता मान्न रत्तिभर पनि हिचक मान्नु पर्दैन ।

उपेन्द्रजीको बढ्दो उचाइँ र लोकप्रियतासँग रिस, डाह वा तुलना पनि नगर्नुस् । यो संघर्षको समय हो । दश टुक्रामा विभाजित माओवादी पार्टी एक हुन सक्छ भने उत्पीडित जनताको नेता तपाइँहरु एक ढिक्का किन नरहने ? सिंहदरबार र वालुवाटार घेराऊ मधेशी मात्रको क्षमताको विषय थिएन । बुटवलमा आजसम्म कुनै मधेशी नेताले सम्बोधन गरेको इतिहास छैन । पोखरामा सडक तताउन सक्ने मोर्चामा दम छैन । मोर्चा एक्लैले काठमाडौंमा प्रदर्शन गरोस्, कति मान्छे मारिन्छन् गनेर राख्नु होला ।

जनजातिको साथ थियो, र तपाइँ हनुमान स्थानमा निर्धक्क धर्ना बस्न सक्नु भएको हो । नबिर्सनुस्, आन्दोलनकारीभित्र आफ्नो जस्तै अनुहार देखेर मात्र हो दमन गर्न प्रहरी हच्किएको । तपाइँलाई पनि थाहा छ, उपेन्द्र यादव इतिहासको एउटा यस्तो पात्र हुन्, जसले मधेश र पहाडलाई एक ठाउँमा ल्याउन सफल भएका छन् । उनले मधेशी र पहाडीलाई एउटै धागोमा ऊनेर देखाएका छन् । दुई फरक समुदायबीचको शदियौं पुरानो दूरी घटाउन सघाएका छन् ।

फरक भाषा र संस्कृतिका दुई समुदायलाई संघर्षको एउटै मैदानमा ल्याएका छन् । उपेन्द्र यादवको विचार, सिद्यान्त, दायरा, उचाइँ र नजरमा तपाइँहरु प्रतिस्पर्धी हुँदै होइन । तपाइँहरु उनको सहकर्मी र सहयात्री अवश्य हो । यसमा रिस वा डाह गर्नु पर्दैन । गठबन्धनको हरेक बैठक र कार्यक्रममा सहभागी हुने अनि बाहिर बैठक बहिष्कार गरेको बाहियात हल्ला फिँजाउनु परिपक्व राजनीति होइन । स्टन्ट पानीको फोका मात्र हो । जुन क्षणिक हुन्छ । चटक, स्टन्ट वा भ्रमको राजनीतिले लामो यात्रा कसैले पनि तय गर्न सक्दैन ।

बधाइँ दिनुस् उपेन्द्र यादवलाई, जसले मधेशी र जनजातिबीचको बलियो पुल बनाए र त्यो पुल दिनानुदिन झन् बलियो हुँदैछ । संघीय गठबन्धनका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई बधाई दिनुस् ।

 मधेसी र आदिवासी जनजातिको संगमले नेपालको संक्रीण र संकुचित राष्ट्रियताको परिभाषालाई चुनौती दिएको छ । त्यसलाई चकनाचूर पारेको छ । ढोँगी राष्ट्रवाद विरुद्धको यो ऐतिहासिक पाइला हो । जुन सफल हुँदैछ । मधेशलाई पहाड विरुद्ध उचाल्ने र पहाडलाई मधेश विरुद्ध उचाल्ने राज्यको षड्यन्त्र विरुद्ध यो उच्चकोटीको संघर्ष हो । अहिले सिंहदरबार हल्लिएको छ । वालुवाटार आत्तिएको छ । खोक्रो राष्ट्रवाद भत्किँदैछ । नयाँ इतिहास रचिँदैछ । विभेद विरुदको यो आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गर्दैछ ।

आजै नहोला, तर सफल अवश्य हुन्छ । यसमा सिङ्गो देशको जीत हुन्छ । जसमा मधेश पनि पर्छ, पहाड पनि पर्छ, र हिमाल पनि । मधेश आन्दोलन विखण्डनकारीको आन्दोलन हो भनेर हिजो हल्ला फिँजाइएको थियो, त्यो अफवाह आज चीरिँदैछ । यो आन्दोलनले काठमाडौंको केन्द्रीकृत सत्तालाई खुल्ला चुनौती दिन सफल भएको छ । विखण्डनको आरोपलाई मधेशी र जनजातिको सहकार्यले निराधार प्रमाणित गरिसकेको छ । मधेशी र जनजातिबीच सहकार्यको यो आन्दोलनले नेपालको एकल जातीय राष्ट्रियताको परिभाषा फेर्दैछ । नयाँ राष्ट्रियता स्थापित गर्दैछ । पहिचानको नयाँ बाटो कोर्र्दैछ ।

नेपालको इतिहास मै यो एउटा ऐतिहासिक क्षण हो, जहाँ मधेशी र जनजाति दुई भिन्न समुदाय एक साथ उभिएका छन् । काँधमा काँध मिलाएका छन् । सहकार्य गर्न तयार छन् । सँगै मर्न र मार्न तयार छन् । यसमा तपाईहरु भाँचो नहाल्नुस् । बाधक नबन्नुस् ।

ओलीको गोटी नबन्नुस् । क्षणिक स्वार्थमा नलाग्नुस् । बन्नै लागेको स्वर्णिम इतिहासको विपक्षमा नउभिनुस् । मुलुकमा मधेशी र पहाडीबीच ठूलो खाडल थियो, छ । त्यो खाडललाई पूर्न मधेशी र जनजातिको सहकार्य अनिवार्य थियो । यो अवसर उपेन्द्र यादवले जुटाइदिएका हुन्, यो तथ्यलाई तपाइँले स्वीकार्नै पर्छ । मधेश मात्रले यो लडाइँ जित्न सक्दैन ।

धरातलीय यथार्थ बुझ्नुस् । जनजातिसँगको सहकार्य बिना मधेश एक्लैले यो लडाइँ कहिल्यै जित्न सक्दैन । जनजाति समुदाय पनि मधेशको साथ बिना यो युद्ध जित्न सक्दैनन् । कठोर वर्तमानको यो कटु यथार्थ हो । यद्यपि, ओलीको सर्वसत्तावाद विरुद्ध उपेन्द्र यादव एक्लै सक्षम छन् । उनले त्यो सञ्जाल र मैदान बनाइसकेका छन् । र त्यो पथमा उनी अविचिलित छन् । तपाईहरुको साथ बिना पनि संघर्षको यो रक्तरञ्जित लडाइँ अधूरो कदापि रहनेछैन । उनीसँग सिङ्गो उत्पीडित समुदाय छ, फोरम नेपाल छ, संघीय सठबन्धन छ, समग्र उत्पीडित पहाडी समुदाय छ ।

उपेन्द्रजीसँग कुनै गुनोसो छ भने खुलेर संवाद गर्नुस् । समस्या छ भने हल गर्नुुस् । कमिकमजोरी हरेक मान्छेमा हुन सक्छ । त्यसलाई खुला संवाद र छलफलले निरुपण गर्न सकिन्छ । ओलीको तानाशाही र सर्वसत्तावाद विरुद्धको लडाइँ लड्दै जाँदा मधेशी र पहाडीबीच वर्षौदेखि खनिएको खाडल पूर्ने यो सुनौलो अवसर हो । मधेशी र जनजातिको सहकार्यले त्यो खाडल पूर्न सक्षम छ । इतिहास बनाउने यो अवसरलाई सदुपयोग गर्नुस् । मधेशी, जनजाति, दलित, उत्पीडित वर्ग, सीमान्तकृत समुदाय एक ठाउँमा नरहुन्, राज्य सत्ता र ओलीको यहीँ रणनीति हो । यो तथ्यलाई आत्मसात् गर्नुस् ।

मधेशमा ६ महिना बढी आन्दोलन गरेर पाँच दर्जन बढी सपूत गुमाएको मधेश आन्दोलनको गौरवाञ्चित इतिहास स्वर्णिम अक्षरले लेखिनेछ । यसका लागि मधेशी मोर्चाको भूमिका सराहनीय छ । मोर्चाको भूमिका र योगदानलाई कसैले पनि अवमुल्यन गर्न सक्दैन, ढुक्क हुनुस् । मोर्चाको अस्तित्व र त्यसको भूमिकाप्रति पछिल्लो समय तपाईहरु चिन्तित रहेको सुनियो । यो अन्यथा पनि होइन ।

तपाईहरु जस्तै उपेन्द्रजीलाई पनि मोर्चाको माया छ । तर आज मधेशीलाई जनजातिको साथ चाहिएको छ, जनजातिलाई मधेशीको साथ । यी दुई समुदाय एक सिक्काका दुई पाटा बनेर उभिएका छन् । तपाइँहरुलाई आग्रह छ, थोरै पनि दूरगामी राजनीति र नवनेपाल निर्माणप्रति सचेत एवं जिम्मेवार हुनुहुन्छ भने मधेशी र जनजातिबीचको यो ऐतिहासिक र अभूतपूर्व सहकार्यलाई हृदयले स्वीकार्नुस् । यसलाई बिथोल्न खोज्ने प्रतिगामी एवं आत्मघाती कदम कदापि नचाल्नुहोला ।
(महेश चौरसिया संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक हुनुहुन्छ)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..