» » मैले भोगेको अख्तियार

जेपी गुप्ता

राजाले असोज १८ गते शासनसत्ता आफ्नो हातमा लिएपछि लोकेन्द्रबहादुर चन्दको सरकारलाई मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, स्थानीय निकायको निर्वाचन सम्पन्न गराउने, प्रतिनिधिसभाको निर्वाचन गराउने, सबै तहबाट भ्रष्टाचार हटाउनेजस्ता जिम्मेबारीहरू दिएका छन् । यो नेपाली जनताले तत्कालै ठम्याउन नसक्ने राजाको ठूलो पाखण्ड हो । मेरो बयानको क्रममा अख्तियारका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले आफ्नो शेखी देखाउदै मलाई भनेका थिएः मुलुकमा राजनीतिक दलहरूको राज्य चलाउने बारे कुनै एजेन्डा भएन । त्यसैले राजाद्वारा केही निश्चित एजेन्डाहरू निर्धारण गरेर राज्यको कार्यकारिणी अधिकार लिइएको हो । यिनैमध्ये भ्रष्टाचार हटाउने राजाको एउटा मुख्य एजेन्डा हो । तसर्थ राजाको सदाशयतालाई साकारपार्न हामीउपर कारबाही गरेरै छोड्छौं ।

सूर्यनाथका सबै कुराहरू सुन्न विवश रहेको मेरा सामुन्ने उनी बडो सहजताका साथ रत्ति पनि आफ्नो दम्भलाई नलुकाएर बोल्ने गर्छन् । म पनि बडो रमाइलो मानेर सुनिरहेको हुन्थे । सायद शाखा अधिकृत वा अझ त्यसभन्दा पनि तलको तहमा रहदांदेखि मजस्ता राजनीतिक मानिसहरूका अगाडि नतमस्तक रहिआएका सूर्यनाथ आज सजिलै राजनीतिक मानिसहरूलाई स्वेच्छाको भरमा थुन्न सक्ने अवस्थामा पुग्दा देखाउने व्यवहारलाई विथ्थामा के को अहंकार भन्नु । मैले सामान्य रूपमा नै लिएको छु । तर, यसबाट भने अब मुलुकमा राजाको यस्तो इच्छालाई मूर्तरूप दिन हाल कतिपय सूर्यनाथहरू जन्मेको र तम्सेको विषयमा मलाई कुनै शंका रहेन ।

आजभोलि सूर्यनाथ अख्तियारको प्रमुख नियुक्त भएको विषयमा विभिन्न प्रकारका चर्चाहरू चलेको छ । यस विषयलाई लिएर कांग्रेसका मानिसहरू आपसमा शंका उपशंका पनि गर्दैछन् । कसैले महेश आचार्यलाई त कोहीले सुशील कोइरालालाई दोषि देख्दैछन् । तर, मलाई लागेको छ, यी सब कुराहरू एउटा भिन्नै एजेन्डाअनुसार सम्पादित भएका हुन् ।

वि।सं। २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलताको लगत्तैपछि शक्ति गुमाएका राजा र जनआन्दोलनकारी जनताका सरकारको बीच सार्वजनिकरूपमा देखिएको पहिलो विवाद नै संविधान निर्माण गर्ने आयोगका बारेमा भएको हो । त्यसबेला राजाले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको तथा अन्य दलहरूको परामर्श बेगर नै विश्वनाथ उपाध्यायको अध्यक्षतामा आफू खुसी एक आयोगको घोषणा गरेका थिए । यसमा होराप्रसाद जोशीहरू पनि थिए । यसमा राखिएका कतिपय मानिसहरूलाई पछि विवादका कारणले हटाइयो । जनआन्दोलन पछिको राजा र जनताको बीचको यो पहिलो विवादित विषयको रूपमा सामुन्ने आएको आयोगमा यिनै सूर्यनाथ उपाध्याय राजाबाट सदस्यसचिव राखिएका थिए । संविधानको निर्माताहरू सरह नै । राजाबाट एक्कासि भएको यस घोषणको सबैभन्दा पहिला नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले सार्वजनिकरूपमा विरोध गरेका थिए र त्यसपछि मात्र यो मुद्दा बन्यो । गणेशमानजीले राजाको यस कदमलाई जनआन्दोलनको मनशाय विपरीतको कार्य भनी कडा रोष व्यक्त गरेपछि यसको समाधान स्वरूप राजाबाट यस आयोगलाई फिर्ता लिइयो र सरकारको सुझावअनुसार अर्को आयोगको घोषणा भयो । जसमा केही महत्त्वपूर्ण हेरफेर भयो । यस हेरफेरमा यिनै सूर्यनाथ उपाध्याय सदस्यसचिवबाट हटाइए । उनीपछि आयोगमा सहयोगी कर्मचारीको रूपमा मात्र रहे । यसबाट सन्देहरहित रूपमा पुष्टि हुन्छ कि सूर्यनाथ मुलुकमा प्रजातन्त्र आएकै दिनदेखि प्रजातन्त्रलाई अफाप सावित गर्ने अभियानका भरपर्दो पात्र हुन् । भलै उनको यो पछिल्लो नियुक्ति कसैको इशारामा जोसुकैले गरेको होस् । त्यसैले आज मुलुकमा राजाको इच्छाअनुसारको परिणामहरूलाई हासिल गराउने काममा एउटा निर्धारित एजेन्डालाई सम्पादन गराउने दायित्व यिनको जिम्मामा पनि परेको छ । आज संयोग भनौं वा जे, हामी पनि यसका पात्र हुनपुगेका छौं । आज यिनीहरूलाई असोज १८ गतेका दिन राजाले चालेका कदमलाई विविध कोणहरूबाट सान्दर्भिक र आवश्यक थियो भन्ने देखाउनु छ । मलाई पूरा विश्वास छ, यो कार्य पूरा नहुञ्जेलसम्म अख्तियार जस्तो संस्थाहरूको गलत प्रयोग रोकिने छैन । कि त राजाको अभियान असफल हुनु पर्यो ।
तसर्थ अब राजाको इच्छाको औचित्य प्रमाणित नहुञ्जेलसम्म हामी थुनाबाट छुट्ने छैनौं भन्ने मेरो विश्वास भएकै कारणबाट थुनाका दिनहरूलाई उपयोगी बनाउनका लागि म लेख्न र पढ्ने कार्यमा केही हदसम्म आफूलाई व्यस्त राख्न चाहेको हुं । यता यस्ता अनेक कुराहरूको मनमा सम्झना आउन सुरु भएको छ ।

(अख्तियारको थुनाःमेरो संझना पुस्तकबाट)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..