» » देउवासँगको छलफलमा के भने मधेशी मोर्चाले ?


काठमाडौँ, वैशाख २२ गते । व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संविधानमा मधेसका मुद्दा उठाएर आन्दोलन गरिरहेको मधेसी मोर्चाबीच मुलुकको पछिल्लो राजनीतिक घटना क्रमका विषयमा केन्द्रित रहेर आज छलफल भएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भएको उक्त छलफलमा वर्तमान सरकारको प्रमुख सत्ता साझेदार एनेकपा माओवादी सरकारबाट बाहिरिनसक्ने अभिव्यक्ति र त्यसपछिको परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको थियो ।

छलफलमा मधेसी मोर्चाले वर्तमान सरकारलाई ढाल्न जस्तोसुकै सहयोग र समर्थन गर्नसक्ने भए पनि संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा सरकारमा जान नसक्ने धारणा राखेका थिए ।

सरकार सबै क्षेत्रमा असफल भएको हुँदा यसको औचित्य समाप्त भएको हुँदा अब ढाल्नुपर्छ भन्नेमा दुवै पक्ष सहमत भएको मोर्चासँग आबद्ध एक घटक मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताउनु भयो ।

उहाँले भन्नुभयो– “अब सरकार ढल्छ, सरकार ढाल्न हामी साथ दिन्छौँ भनेका छौँ, सरकार सबै क्षेत्रमा असफल भएकाले औचित्य समाप्त भइसक्यो भन्ने हाम्रो बुझाइ हो ।”

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मधेसका मुद्दा सम्बोधन गर्न अग्रसरता लिनुपर्छ भन्ने पार्टीको निर्णय र सत्ताको प्रमुख घटक एनेकपा माओवादीबाट असन्तुष्टि र समर्थन फिर्ता लिनसक्नेसम्म सम्भावना भएको पछिल्लो विज्ञप्तिपछिको उत्पन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर र सकारात्मक छलफल भएको जानकारी दिनुभयो ।

सोही पार्टीका नेता महेश आचार्यले भूकम्पपीडितलाई राहत, पुनःनिमाण, संविधान कार्यान्वयन, बजेटको पुँजीगत खर्च गर्न, कालोबजारी नियन्त्रण तथा भ्रष्टाचार रोक्नेलगायतका सर्वक्षेत्रमा सरकार असफल भएको परिस्थितिमा विकल्पमा कसरी अघि बढ्ने भन्नेबारेमा मोर्चासँग छलफल भएको बताउनु भयो ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाले उठाउँदै आएको ११ बुँदे मुद्दामा नेपाली काँग्रेसको दृष्टिकोण र अहिलेको सरकारको बहिरगमनबारेमा छलफल भएको जानकारी दिनुभयो ।
छलफलमा नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा, नेताहरु निधि, आचार्य, गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । मोर्चाकातर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष महतो, सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..