» » यसकारणले फिर्ता बोलाईयो राजदूत उपाध्यायलाई

काठमाडौ, बैशाख २५ गते । उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले राष्ट्रिय हित विपरित काम गरेकोले भारतकालागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय भएको बताउनुभयो ।

राजधानीमा आयोजित एक कार्यक्रम उहाँले राजदुत जस्तो व्यक्तिले अर्को देशमा काम गर्दा आफ्नो देशको अनुहार हेरेर सरकारको नीति निर्देशन र कुटनीतिक मर्यादा कायम राख्न सक्नु पर्ने, परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई कार्यक्षेत्र छाड्ने, तराई जस्तो आन्दोलन भईरहेको संवेदनशिल क्षेत्रमा अर्को देशका राजदुतसँग कार्यक्रममा संलग्न हुँदै हिड्ने र सरकार फेरबदलको प्रसंगमा उहाँको संलग्नताको कुरा आएका कारण फिर्ता बोलाएको बताउनुभयो ।

उपप्रधानमन्त्री रावलले राजदुतले के काम गर्ने भन्ने मान्यता र कुटनीतिक मर्यादा विपरित जान नहुने भन्दै यस्तो संवेदनशिल विषयमा राजदुतलाई फिर्ता बोलाउन स्पष्टीकरण लिनु पर्ने वा सोध्ने पर्ने आवश्यकता नभएको बताउनुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा रावले राजदुत फिर्ता भारतसँगको सम्बन्धमा फायर खोल्ने भन्दा त्यसलाई रोक्न भएको दावी गर्दै सरकारले भारतसँग सुमधुर सम्बन्ध राख्न चाहेकोले सम्बन्ध र समझदारीलाई अझै राम्रो र विकसित गर्न  फिर्ता बोलाउनु परेको तर्क गर्नुभयो ।

राष्ट्रपतिको भारत भ्रमण 

कुटनीतिक कारण नभई आन्तरिक कारणले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको जानकारी दिदै रावलले भन्नुभयो, ‘देशमा संसद चलिरहेको छ, राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पर्ने छ, सरकार परिवर्तनको चर्चा चलिरहेको थियो, कानून निर्माणको कुरा छ यस्तोबेलामा राष्ट्रपतिको उपस्थिति आवश्यक देखेर भ्रमण स्थगित गरिएको हो ।’

उहाँले राष्ट्रपतिको भ्रमण स्थगित हुनुको पछाडि राजदुत फिर्ता प्रकरणसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै मुलुक अप्ठ्यारोमा रहेको बेला सरकार प्रमुख र राष्ट्र प्रमुखको भ्रमण स्थगित गर्ने अन्तरराष्ट्रिय प्रचलन नै भएको बताउनुभयो ।

सुरक्षा नीति

प्राकृतिक स्रोत साधनमा आधारित राष्ट्रिय क्षमतमा सुरक्षा परिचालन  गर्न र समग्र सुरक्षा अवस्थालाई सदृढ गर्ने गरी सुरक्षा परिषदले राष्ट्रिय सुरक्षा नीति पारित गरेको भन्दै यसलाई छिट्टै मन्त्री परिषदले अनुमोदन गरेर कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो । उहाँले नेपालको भौगोलिक सवेदनशिलतालाई हेरेर सुरक्षा नीति र परराष्ट्र सम्बन्धलाई समेत संयुक्त रुपमा नीतिलाई अगाडि बढाईएको बताउनुभयो ।
नीति तथा कार्यक्रम

उपप्रधानमन्त्री रावलले भोली राष्ट्रपतिले सार्वजनिक गर्ने सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, संघीयतालाई प्रभावकारी बनाउन कानुन निर्माण र संस्थागत प्रबन्ध गर्ने, स्थानीय निकायको निर्वाचनको तयारी, भुकम्प पछिको पुनःनिर्माण र पुर्नस्थापना, भौतिक पूर्वाधारको विकास, विकास निर्माण, सामाजिक सुरक्षा, उर्जा संकट निवारण, पर्यटन, कृषि क्षेत्रको विकास, शान्ति सुरक्षा दह्रिलो बनाउने, छिमेकीसँग पारस्परिक लाभको आधारमा सम्बन्ध अघि बढाउने र देशलाई विकासको गन्तव्यमा पुर्याउने गरी आउने बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..