» » यो आन्दोलन अलि पहिला गर्नुपथ्र्यो

-जया यादव
गृहणी
उहाँ हुनुहुन्छ संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादवका श्रीमती जया यादव । उहाँको उद्देश्य न राजनीतिक गर्नु हो, न श्रीमानलाई सहयोग गर्नु नै । तर उहाँ मधेशको अधिकारका लागि सडकमा नियमित देखिनु हुन्छ । ब्यानर, झण्डा र टाउको फटा बाँधेर काठमाडौ केन्द्रीत आन्दोलनमा सक्रिय देखिनु भएका उहाँ आन्दोलनमा आउँदा एक्लै आउनु हुन्न । आफ्ना दुई चारजना महिला साथीहरुलाई पनि लिएर आउनु हुन्छ । आफै नलडेसम्म अधिकार पाउन नसकिने बुझेका उहाँले महिला पनि अधिकारका लागि नलडेसम्म अधिकार नपाउने प्रष्टका साथ भन्नुहुन्छ । जेठ ५ गते रत्नपार्कको जनसभामा भेट भएका जया यादवसँग गरिएको कुराकानीको छोटो अंशः

हामीले सुनेको तपाई त गृहिणी हुनुहुन्छ, तैपनि नियमिति आन्दोलनमा आउनुहुन्छ किन ?
–आफ्नो अधिकारका लागि । गृहिणी भएर घरमा बसेर मात्र हुँदैन । यसका लागि लड्नुपर्छ । संघर्ष गर्नुपर्छ बुझेर नै सडकमा आएको हुँ र यो समयको माग पनि हो ।

तपाईको श्रीमान नेता हुनुहुन्छ, उहाँले भनेर आउनु भएको छ कि ?
–होइन, म आफै आएको छु । म यहाँ काठमाडौमा मात्र होइन । मधेश आन्दोलनमा पनि सक्रिय थिए । मेरो उद्देश्य राजनीतिक गर्ने होइन तर अधिकारका लागि भइरहेको आन्दोनलमा सहभागि भएर अधिकारका लागि लड्ने हो । श्रीमान राजनीतिकमा हुनुहुन्छ मेरो सहयोग छ । तर, म उहाँका लागि मात्र यो आन्दोलनमा आएको होइन । अहिले घरमा बसि रह्यो भने फेरि सधैका लागि घरमै बसि रहनु पर्छ त्यसैले अहिले नै मौका हो ।

आन्दोलनमा सहभागि हुँदा हुँदै राजनीतिकमा लाग्नु भयो भने के हुन्छ ?
–त्यो त भविष्यको कुरा हो तर अहिले राजनीतिक गर्ने मेरो होइन ।

के लाग्छ काठमाडौ केन्द्रीत आन्दोलन गरेर मधेशले अधिकार पाउँछ त ?
–यो तालले पाउला जस्तो लाग्दैन । यो आन्दोलन अलि पहिले नै गर्नुपथ्र्यो । यहाँ चार दिन आन्दोलन हुँदा सरकारमाथि जति दवाव पर्यो मधेशमा ६ महिना आन्दोलन गर्दा पनि परेको थिएन । यो आन्दोलन अलि पहिले गरेको भए सायद मधेशीले बलिदानी दिनुपर्ने थिएन । अलि ढिलो भयो जस्तो लाग्छ ।

अधिकार किन नपाउला जस्तो लाग्छ ?
–काठमाडौमा मधेशी जनताले साथ नदिएको जस्तो लाग्यो । काठमाडौमा जति मधेशीहरु छन् एक दिनका लागि मात्र सडकमा आइ दियो भने एकदिनमै सबै हिसाब किताब हुन्छ तर मधेशीहरु आआफ्नो घरमा बसेर आन्दोलनलाई टुलु टुलु हरेर बसेका हुन्छन् । घरमा बसेर आन्दोलनमा यो भएन त्यो भएन भनेर गाली गरिरहेका हुन्छन् तर सडकमा आउँदैन ।

यसपालीको आन्दोलनमा मधेशी महिलाहरु निकै जागरुक भएर आएका छन् त्यसको कारण के हुनसक्छ ?
–मधेशी महिलाले पनि थाह पाइसके कि आफ्नो लागि आफै नलडी हुँदैन । आफ्नो अधिकारका लागि आफै सडकमा नआउन्जेल कसैले कसैका लागि लडि दिँदैन भनि बुझेका छन् । अर्को कुरा पहिलो मधेश आन्दोलनपछि मधेशी महिलाहरुमा राजनीतिक चेतनाको विकास निकै भएको छ । पहिलो सविधानसभामा मधेशी महिलाहरुले पाएको अवसर देखेर पनि राजनीतिकमा धेरै महिलाहरु लागेका छन् । जो राजनीतिकमा लागेका छन् ढिलो चाँडा अवसर पाएकै छन् त्यसैले मधेशी महिलाहरुको आकर्षण मात्र होइन, मधेश आन्दोलनमा अग्रमोर्चा महिलाहरुले नै सम्हालेका छन् ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..