» » तातो दुध दिएर बिरालोले दुध नै खाँदैन भनेर कहाँ हुन्छ हजुर


‘गोनु झाले आफ्नो छिमेकीको विरालोलाई दुध खुवाउनका लागि आफ्नो घरमा राख्नु भएको थियो । तर विरालोले धेरै दुध खाई दिएपछि गोनु झालाई चिन्तित बनायो । त्यसपछि उहाँले एक उपाय सुझाउनुभयो ।

दुधलाई बेसरी उमालेर तातै दुध खान दिनुभयो विरालोलाई । सधै झै चिसो दुध होला भनेर विरालोले खान झम्टे तर तातो भएको कारण विरालोको मुख पोल्यो । विरालो कुदेर भाग्यो त्यसपछिको दिनमा गोनो झाले विरालोलाई जस्तोसुकै दुध दिँदा विरालो टाढैबाट भाग्थ्यो ।’

अहिले मधेशवादी दलका नेताहरुको अवस्था ठिक त्यही विरालो जस्तो भएको छ ।


पटक पटक सरकारका परराष्ट्रमन्त्री एवं सरकारी वार्ता समितिका संयोजक कमल थापासँग मधेशवादी दलका नेताहरुले तीन दर्जन पटकभन्दा बढी पटक वार्ता गर्नुभयो तर कुनै निष्कर्ष निस्केन । निस्कुन पनि कसरी । गोनु झाकै जस्तै मन्त्री कमल थापाले मधेशवादी दललाई मुख पोलि दिएको छ ।

अब थापाहरुले जति बोलाएपनि मधेशवादी दलका नेताहरु वार्तामा जाँदैनन् । संघीयता, धर्मनिरपेक्ष, गणतन्त्रका घोर विरोधी कमल थापासँग वार्ता गरेर पनि कुनै उपलब्धी हुने बाला छैन । र, त्यही सोच विचार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले कमल थापालाई उच्च स्तरीय राजनीतिक समितिको संयोजक तथा वार्ता समितिको संयोजक समेत बनाएर वार्ताका लागि पठाउनु भएको छ ।

ताकि मधेशवादी दलले गोनु झाको विरालो जस्तै टाढा टाढा रहोस् ।

शुरु शुरुमा वार्ताप्रति लचिलो रहेका कमल थापा पछिल्लो समय कठोर भएपछि मधेशवादी दलहरु गोनो झाको दुध जस्तै चिसो होस् वा तातो त्यस वरिपरी जाँदै नजाने भएको छ । कमल थापा नेतृत्वको वार्ता समितिसँग वार्ता नगरेको होइन, यहाँदेखि दिल्लीसम्म मधेशवादी दलले वार्ता गरेकै हो ।

तर, वार्ता सकारात्मक मोडमा गएपछि गोनु झा जस्तै कमल थापाले तातो दुध खुवाई दिएका छन् जसको कारणले मधेशवादी दल झस्केका छन् । अब कमल थापाले वार्ता आउ भन्दा पनि मधेशवादी दलहरु कुलेलम ठोकेर भाग्ने गरेका छन् । तातो दुध रुपी त्यस्तो के भनि दिनु भएको छ जसले गर्दा मधेशवादी दलहरु भागि हिडि रहेका छन् । त्यो खुल्न सकेको छैन ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जो संघीयता विरोधी छन्, संघीयता उसको एजेण्डामै छैन, धर्म निरपेक्ष उसको एजेण्डामा छैन, गणतन्त्र उसले चाहेका छैनन् भने त्यस्ता व्यक्तिसँग के वार्ता गर्नु भन्दै मन्त्री थापाको आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो, कमल थापालाई हामीसँग वार्ता गर्ने कुनै नैतिक आधार छैन । र, हाम्रो पनि नैतिक दायित्वभित्र पर्छ कि त्यस्तो व्यक्तिसँग वार्ता नगर्नु ।’ राजासहितको संघीयता ल्याउन संघर्षरत कमल थापासँग संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको विषयमा वार्ता गर्न सकिदैन भनि निष्कर्षमा मधेशी मोर्चा पनि पुगेका छन् ।

२०६२÷०६३ सालमा भएको जनआन्दोलनमा गृहमन्त्री भएर आन्दोलन दवाउन खेलेको भूमिका पनि मधेशवादी दलका नेताहरुले विर्सेका छैनन् । अहिले यो गणतन्त्रमा आएर कमल थापा जस्ता व्यक्ति आन्दोलनकारीसँग वार्ता  गर्नका लागि अघि सारेका छन् ।

कमल थापा यस्ता व्यक्ति हुन जसले सरकारको आधिकारिक पत्र दिल्ली पुगि मधेशी मोर्चासँग वार्ता गराई दिनका लागि भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई चारबुँदे पत्र थमाउनु भएको थियो । मधेशवादी दलसँग वार्ता गराई दिन प्रधानमन्त्री ओलीको भक्त बनेर पटक पटक भारत जानु भएको थियो ।

मधेशी मोर्चाको यस्तो विरोध भएपछि एउटा कार्यक्रममा मन्त्री थापाले भन्नुभएको थियो, म यदि वार्ताको बाधक हुँ, मेरै कारणले वार्ता भइरहेका छैन भने म वार्ता समिति र उच्च स्तरीय राजनीतिक समिति पनि छाड्न तयार छु ।’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि कमल थापासँग वार्ता गर्न नसकिने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘एक त सरकारको वार्ताप्रति हामीलाई विश्वासै लागेको छैन त्यसमा वार्ता समितिको संयोजकमा यस्ता व्यक्तिलाई राखिएको छ जसले हाम्रो मागको विरोधी हुन्, देशमा त्यो प्रणाली र व्यवस्था लागु नहोस् भनि संघर्ष गरिरहेका छन् । त्यस्ता व्यक्तिसँग हामी वार्ता गर्दैनौ । त्यसको ठाउँमा अर्को कुनै व्यक्ति आयो भने त्यसबारेमा सोच्न सकिन्छ ।’


उपेन्द्र, राजेन्द्र र थापाभन्दा ठिक उल्टो सेचाईका हुनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओली । मधेशी नेताले विरोध गरेपछि समितिमा नबस्ने कमल थापाले भनेपछि त्यसको बचाउ गर्दै वार्ताका लागि मधेशवादी दललाई पठाएको पत्रमा बुँदा नं. ६ मा कमल थापको बारेमा जिकिर गर्नुभएका छ । मधेशी मोर्चाको सो जिकिर तथा मागलाई प्रधानन्त्री ओलीले आग्रहयुक्त भन्नु भएको छ ।

उहाँले भन्नुभएको छ, ‘जहाँसम्म सीमा सम्बन्धि मागलाई संबोधन गर्न सरकारद्वार गठित समिति र संयोजक बारेको प्रसंग छ, त्यो चाँहि अलि ज्यादै आग्रहयुक्त भयो । नेपालको संविधान स्वीकार्ने जो कोही नेता वा कार्यकर्ताको लोकतन्त्र, संघीयता र त्यसले दिएको अधिकारप्रतिको निष्ठामा प्रश्न नगर्न म आग्रह गर्दछु । प्रस्तावित समितिको बैठकबाटै यसले गर्ने काम र यसमा रहने सदस्य थपघट गर्न सकिने हुँदा विभिन्न पूर्वसर्तमा नअल्झिन म आग्रह गर्दछु । हामीले संवादबाट दुरी घटाउने र हटाउँदै जाने हो । आरोप र अविश्वास बोक्ने र बढाउँदै जाने गर्नु हुँदैन ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..