» » मानव तस्करीका नाका बन्दैछ कृष्णनगर


मनिष गुप्ता
कपिलवस्तु, जेठ १८ गते । कपिलवस्तुको कृष्णनगर स्थित शान्ति पुनस्र्थापना गृहले गत शुक्रबार कृष्णनगर नाका हुँदै दिल्ली पुगेकी एक युवतीलाई नेपाल फर्काएको छ ।

बुटवलदेखि कृष्णनगर नाका हुँदै दिल्ली जाने सीता ट्राभल्सबाट युवती दलालको फन्दामा परी दिल्ली पुगेकी थिइन् ।
मानव बेचविखन विरुद्ध कार्यरत शान्ति पुनस्र्थापना गृहको पहलमा नेपाली देशभक्त आवाज दिल्ली, नेपाली प्रवासी संघ र नेपाल प्रहरीको सहयोगमा दिल्लीबाट उद्धार गरी शुक्रबार नेपाल ल्याउन सफल भएको संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभएको छ ।

यसैगरी जेठकै पहिलो साता तेस्रो मुलुक पठाउने बहानामा बुटवलबाट दिल्ली जाने क्रममा राति ८ बजेको समयमा शान्ति पुनस्थापना गृहले कृष्णनगरमा चेकजाँचको क्रममा दुई युवती बसबाटै उद्धार गरिएको थिए ।

ती युवती सिन्धुपाल्चोक र बाग्लुङकबाट बुटवल आई आचार्य टूर एण्ड ट्रावल्सको टिकट काटेर दिल्ली जान लागेको फेला परे ।

सोधपुछका क्रममा रोजगारीका लागि दिल्लीहुँदै तुर्किस्तान र दुबईका लागि उनीहरु जान लागेको बुझिएको हो ।

एजेन्ट मार्फट टिकट काटिएको थियो ।


यस्तै बैशाखमा समेत सोही टुर एण्ड ट्रावल्सकै टिकट काटेर तेस्रो मुलुक जान लागेका ४ युवतीलाई शान्ति पुनस्थापना गृहले कृष्णनगरबाटै उद्धार गरी परिवारको जिम्मा लगाएको थियो । उद्धार गरिएका ४ युवतीहरु एकजना म्याग्दी, एक कास्की र दुई जना कपिलवस्तुकै थिए । उनीहरु पनि बैदेशिक रोजगारीको सिलसिलामा दिल्ली हुँदै तेस्रो मुलुक जान लागेको खुलासा भयो ।

वैदेशिक रोजगारीका लागि जान लागेका जतिपनि युवतीहरु फेला परे, को मार्फत जान लागेको उनीहरुलाई थाहा छैन । उनीहरुलाई लैजाने एजेन्ट छुट्टै टिकट काटेर सोही गाडीमा बसेको हुन्छ तर पीडित युवतीहरुलाई थाहा हुँदैन । भारत छिरिसकेपछि एजेन्टले युवतीहरुसँग चिनजान गर्ने गरेको उद्धार गरिएका युवतीहरुबाट खुल्न आएको छ ।

उनीहरुलाई भारत छिराउने एक जना एजेन्टलाई मानव बेचविखनको उजुरी दर्ता समेत भएको थियो । शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराईका अनुसार उनीहरुलाई विदेश पठाउन एजेन्ट एक जना बुटवल र दुई जना कास्कीका रहेका छन् ।

युवतीहरुको उद्धारपछि ती एजेन्ट फरार रहेको भट्टराईले बताए । उनीहरुको खोज अनुसन्धान प्रक्रिया जारी राखिएको भट्टराईले जनाए ।

यसैबीच जिल्लाकै कृष्णनगर नाकाबाट दिल्लीतर्फ जाने क्रममा कृष्णनगरमै मानव बेचविखन विरुद्ध कार्यरत के.आई नेपालले पनि गत बैशाखमा ३ युवतीको उद्धार गरेको थियो ।

साथै युवतीहरुलाई विदेश लैजाने एक विचौलियालाई समेत पक्राउ  गर्न सफल भयो । पक्राउ परेका विचौलिया विरुद्ध उजुरी दर्ता भई कारवाही प्रक्रिया अघि बढेको केआई नेपालका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो ।
यी त घटनाका केही उदाहरण मात्र हुन् । नेपालबाट सोझै दिल्लीसम्म बस चल्न थालेपछि विचौलियाहरु कृष्णनगर नाकाकै प्रयोग गरी कैयौं युवतीहरुलाई दिल्ली हुँदै तेस्रो मुलुक छिराई सकेका छन् ।

रोजगारीका लागि तेस्रो मुलुक पुगेर दुःख पाएपछि बल्ल कतिपय युवतीहरु दलालले आफूलाई फसाएको महसुस गर्दै उद्धारका लागि सम्पर्कमा आउने गरेको पीआरसी संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।

विचौलियाले खासगरी रातीको समय पारी युवतीहरुलाई सीमा कटाउने गरेको भट्टराईले बताउनुभयो । मानव बेचविखन विरुद्धका संघसंस्थाहरु प्राय राति ७ देखि ८ बजेसम्म निगरानी गरेपनि उहाँहरु फर्किएपछि मात्र दिल्ली जाने गाडीहरु खाली समयको मौका छोपी सीमा पार गर्ने गरेको पाइएको छ ।

यसैगरी दलालले मोटरसाइकल प्रयोग गरेर समेत युवतीहरुलाई बर्डर पास गर्ने गरेको रहस्य सनसनी रुपमा फैलिएको छ ।

यसरी विभिन्न घटनालाई नियाल्दा कपिलवस्तुको कृष्णनगर नाका मानव बेचबिखनको प्रमुख नाकाको रुपमा प्रयोग भइरहेको देखिन्छ । मानव बेचविखनका घटना रोक्न तीन ओटा संघसंस्था छन्, नेपाल प्रहरी छ, सशस्त्र प्रहरी छ ।

तरपनि विभिन्न बहानामा सबैको आँखा छलेर दलालले युवतीहरुलाई वर्डर कटाउने गरेका छन् । यसका लागि आफैं सचेत हुन जरुरी छ । यदि कसैले राम्रो जागिरको प्रलोभन देखाउँछ भने सम्बन्धित निकायमा जानकारी गराउनुपर्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..