» » अन्धाअन्धीमा भक्तजनको घुँइचो

महोत्तरी, वैशाख २४ गते । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज बिहानैदेखि महोत्तरी जिल्लाको बगडा गाविसमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

आमाबुवालाई आफ्नो सर्वस्व मान्ने र आमाबुबाकै सेवालाई महान् धर्म मान्नेका आस्थाको केन्द्र मानिएको सो स्थानमा आज आमाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीयवासी बताउँछन् ।

जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको बगडा–९ मा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवम् धार्मिक महत्व बोकेकाले यहाँ हजाराँै महिला पुरुष दर्शनका लागि आएको स्थानीयवासी रामकृष्ण यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्ना प्राण त्याग गरेको किंवदन्ती रहेको छ । विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढाटाढाका दर्शनार्थीको ओईरो लाग्ने गरेकोमा अहिले यहाँ कहिलेकाहीँ विशेष दिनहरु जस्तै माताको मुख हेर्ने वा बाबुको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु आउने गरेको कुरा सो स्थान नजिकै बस्ने रामदेवप्रसाद यादवले बताउनुभयो ।

आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस आउने गरेको स्थानीयवासी गौरी यादवले बताउनुभयो । माता, पिता नभएकाले यस स्थानमा आफ्ना आमाबुबाको सम्झना गर्दै आमा तथा बाबुको मुख हेर्ने दिनमा ठूलो सङ्ख्यामा आउने र अन्धाअन्धी स्थानलाई आफ्ना आमाबुबाको सम्झनाको केन्द्र बनाएको स्थानीय वृद्ध नेवालाल महतोले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्य भक्त तथा परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबुआमालाई महोत्तरीको बगडा–९ स्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुर–४ स्थित कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाण लागी मृत्यु भएको र आफ्नो छोरा मरेको सुनेर अन्धाअन्धी बाबुआमाले पनि यसै ठाउँमा प्राण त्याग गरेको किंवदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवम् चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो । तर सम्बन्धित निकायको उदासीनताका कारण यस स्थानको संरक्षण संवद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको छ । स्थानीयवासीले धार्मिक एवम् ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, संवद्र्धन गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न माग गरेका छन् ।

विशाल महाविरी झन्डा मेला सुरु 

यसैबीच, महोत्तरी जिल्लाको भटौलिया गाविसमा आजदेखि विशाल महाविरी झन्डा मेला सुरु भएको छ ।

भटौलिया–३ स्थित चौरमा रु पाँच लाखको लागतमा ५० फिट अग्लो झन्डा निर्माण गराई भव्य मेला सुरु भएको स्थानीयवासी प्रवीणकुमार कर्णले बताउनुभयो ।

आजदेखि पाँच दिनसम्म चल्ने सो झन्डा मेलाको थप आकर्षणका लागि भगवान हनुमानको ठूलो मूर्ति, रथ तथा अन्य सहायक मूर्तिसहित सो स्थानमा लोकनाच र विभिन्न खेल तमासाको पनि आयोजना गरिएको स्थानीयवासी कुशेश्वर महासेठले बताउनुभयो ।

यो झन्डा मेला गत माघ ५ गतेदेखि नै सुरु हुने कार्यक्रम रहेकोमा पुस २६ गतेका राति स्थानीय तीन युवकले भटौलिया झन्डा मेला समितिका अध्यक्ष रवीन्द्र्र महासेठका ८ वर्षीय छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई अपहरण गरी हत्या गरेपछि सो झन्डा मेला स्थगित भएको थियो ।

मेला समितिका अध्यक्ष महासेठका छोरा मारिएपछि पूरै गाउँ शोकाकुल भएको र गाउँले भेला बसेर झन्डा मेला स्थगित गर्ने निर्णय गरेर मेला स्थगित गरिएको थियो । तर तत्कालीन अध्यक्ष महासेठसहित स्थानीय गण्यमान्यले भाकल गरेको मेला र पूजा नगर्नु, गाउँ तथा समाजको लागि अशुभ हुन्छ भनेकाले आजदेखि भटौलियामा झन्डा मेला सुरु गराएका हुन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..