» » सरकार परिवर्तनको बेला भएको छैन-प्रचण्ड

काठमाडौँ, वैशाख २३गते । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले बजेट ल्याउने समय भएकाले सरकार परिवर्तन नगर्ने बताउनुभएको छ ।

कार्ल माक्र्सको १९८औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन अबको बाटो’ विषयको अन्तक्र्रियामा उहाँले वामपन्थी पार्टीबीचको एकता आजको आवश्यकता भएको बताउनुभयो ।

नयाँ सरकारको नेतृत्व लिन नेपाली काँग्रेसले आफ्नो पार्टीलाई गरेको आग्रहप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा सरकार बन्दैमा समस्या समाधान हुने अवस्था नरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो– “अन्य दल राष्ट्रिय सहमतिमा नआउने अवस्थामा पद र नेतृत्वको लोभ गर्दैै सरकारमा जानु अहिले उपयुक्त समय मैले देखिन ।” अध्यक्ष दाहालले राष्ट्रिय सहमतिका लागि काँग्रेस र मधेस केन्द्रित दलसँगको छलफललाई आफूले निरन्तरता दिइरहेको जानकारी दिनुभयो ।

वामपन्थी दलले विभाजित भएरभन्दा आफ्ना कमी कमजोरीबाट शिक्षा लिन जरुरीमा रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

उहाँले संविधान लेखनका बेला त्यसलाई रोक्न खोज्नेले अहिले पनि संविधान कार्यान्वयन रोक्न खोजी रहेकाले संविधान पक्षधर एक हुनुको विकल्प नरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएर राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्छन् कि बढ्दैनन् भनेर जनताले हेरिरहेको टिप्पणी गर्नुभयो । उहाँले सबै कम्युनिस्लाई एक ठाउँमा ल्याएर शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउन आवश्यक रहेको बताउनुभयो ।

अर्को प्रसङ्गमा कार्ल माक्र्सले शोषण र शासन गर्नु अधिकार होइन विद्रोह गर्नु अधिकार हो भन्ने मान्यतालाई स्थापित गरेको दावी गर्दै अध्यक्ष दाहालले माक्र्सको योगदानको प्रयोग, रक्षा र विकास गर्दै लैजान आवश्यक रहेकामा जोड दिनुभयो ।

नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले माक्र्सको जीवशैलीबाट थोरै मात्र शिक्षा लिएर अगाडि बढे कम्युनिष्ट आन्दोलनका धेरै विकृति हट्ने बताउनुभयो । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले अहिलेको अवस्थामा माक्र्सका विचारलाई कसरी समृद्ध गर्दै लैजाने भन्ने बहस आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

एमाओवादीका पोलिटब्युरो सदस्य राम कार्कीले माक्र्सवाद सफल कि असफल भन्ने बहस चलिरहे पनि कुन माक्र्सवाद असफल भयो भन्ने कसैले भन्न नसकेको बताउनुभयो । उपमहासचिव भुसालको संयोजकत्वमा र नेता कार्कीको सहसंयोजकत्वमा माक्र्सको द्विशतवार्षिकी समारोह मनाउन राष्ट्रिय भेला आयोजक समित गठन गरिएको कार्यक्रममा जानकारी दिइयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..