» » बैशाख २२ गतेको २४ घण्टा

असहमति
–निमिष झा
बितेको हप्ता नेपाली राजनीतिका लागि महत्वपूर्ण रह्यो । महत्वपूर्ण यस अर्थमा कि ओली नेतृत्वको बहुमतीय सरकार ढाल्ने असफल प्रयत्नहरु भए । यद्यपी ओली नेतृत्वको सरकार तत्कालका लागि जीवन दान पाएको छ तर यसको भविष्य सुखद नरहेको छनक राजनीतिक वृतमा अहिले पनि चर्चा भइरहेको छ ।

काँग्रेस र एमाओवादी मिलेर ओलीको सरकार ढालेर आफनो अनुकूलको सरकार बनाउने रणनीति अन्तरर्गत दुवै पार्टीले आन्तरिक तयारी गरेका थिए । यद्यपी उनीहरुको यस तयारी प्रति भारतको साथ र समर्थन रहेको पनि बताइन्छ ।

भनिन्छ, काँग्रेस सभापति शेरबहादुर देउवाको श्रीमतिको उपचारको नाममा भएको भारत भ्रमण र एमाओवादी नेता कृष्णबहादुर महराको गोप्य भारत भ्रमणले काँग्रेस–एमओवादी गठबन्धनलाई बल पु¥याएको हो ।

भारतले ओली नेतृत्वको सरकारलाई नरुचाइरहेको अवस्थामा उ पनि नेपालमा आफ्नो अनुकूलको सरकार भइदेओस् भन्ने चाहेको छ । ओलीको सरकार संविधान संशोधन र मधेशको समस्या समाधान, जो भारत तत्काल चाहन्छ र जुन उसको प्राथमिकताको सूचीमा पनि हो, गर्न नसकेकोमा असन्तुष्ट भारतले ओलीको बहिर्गमन चाहेको हो । यसका लागि उसले उपयुक्त समयको खोजीमा थियो ।

देउवा र महराको भारत भ्रमणले यसका लागि आधार तयार पारे पनि त्यसले बलियो स्वरुप ग्रहण गरिसकेको थिएन । तर काँग्रेस र एमाओवादी हतारिएर सरकार ढाल्ने निर्णयमा पुग्दा अन्तिममा आएर चुकेको हो । अघिल्लो दिन काँग्रेससँग प्रधानमन्त्री पदमा सहमति गरेर हिंडेका प्रचण्ड भोली पल्ट आफ्नो निर्णयबाट विमुख भएपछि ओलीको सरकार जोगिएको हो ।

सरकार परिवर्तनको यो २४ घण्टे खेलमा सत्ताका प्रमुख खेलाडी प्रचण्ड पछाडि हट्नुको रहस्य अर्थपूर्ण छ । नेपालको राजनीतिमा भारतीय चासो कुनै नयाँ होइन । तर भारतीय चासोलाई थप मलजल गर्ने काम नेताहरुबाटै हुने गरेको तथ्यमा कुनै शंका छैन् । नेपालको राजनीतिमा भारतले हस्तक्षेप गरिरहेको भन्नु अघि हामी आफैले भारतीय हस्तक्षेपलाई निम्ताइरहेको तथ्यलाई बिर्सनु हुँदैन । त्यसकारण काँग्रेस–एमाओवादी सम्भावित गठबन्धन भारतीय चासो र रुचिमा रहेको दाबी गर्नु अघि हामी आफू कति सक्षम रहेको भन्ने प्रश्न तेर्सिन्छ ।

अहिलेको संकटको मूल जरोचाहिँ जुँगाको लडाइँजस्तो देखिएको छ । अहिले ओली र प्रचण्डबीच भविष्यमा एमाले वा एमाओवादी को हाबी हुने भन्ने रणनीतिको छनक यिनीहरूको व्यवहारमा पनि देखिएको छ । कठिन परिस्थितिलाई सम्हाल्नुपर्ने बेलामा नेताहरु सत्ताको खेलमा लाग्दा जनता निराश छन् भने राजनीतिक फोहोरी खेलको रुपमा परिचित भइरहेको छ । अंग्रेजीमा एउटा भनाइ प्रख्यात छ, ‘कुल माइन्ड सुड प्रिभेल’ अर्थात् यस्तो बेलामा राजनीतिलाई धु्रवीकरणतिर नधकेलिकन सहमति र सहकार्यको संस्कृतिलाई विकास गर्नुपर्छ ।

बहुमतको आडमा प्रधानमन्त्री भएका ओली अहिले प्रचण्ड र एमाओवादीका लागि घाँडो बनेको छ । एमाओवादीले ओलीलाई समर्थन गरेर आफू हारेको महसुस गर्न थालेका हुन् । त्यसकारण वर्षमान पुन र गोपाल किराँतीहरुले भोली भन्दा आज नै सरकार ढलोस् चाहन्छन् ।

सरकार परिवर्तनको राजनीतिले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको ध्यान आफू तिर ताने पनि यसले देशलाई केही फाइदा पुग्दैन । सत्ता केन्द्रित राजनीतिले देशको प्रगति र विकासको बाधक हो । तर नेपालमा राजनीतिलाई जहिले पनि सत्तासँग जोडिएर हेर्न बानी परेका नेताहरुका कारण देशको प्रगतिमा बाधक बनेको हो ।

काँग्रेसको उक्साहटमा ओली सरकारलाई सत्ताच्यूत गर्ने एमाओवादीले सरकारबाट नहट्ने अर्को निर्णय गरेसँगै यसले अर्को तरङ्ग पैदा गरेको छ । खासगरी ओली सरकारलाई कसरी ढाल्ने र सत्ता केन्द्रित राजनीतिमा कसरी हावी हुने भन्ने महत्वकांक्षाका साथ काँग्रेसले प्रचण्डलाई गोटी बनाउन खोजेको थियो । तर, रस्साकसीलाई ओली नेतृत्वले फेरि पनि रणनीतिक रुपमा विफल बनाइदिए पछि काँग्रेस र एमाओवादी दुवै चित्त खाएको छ । मूल रुपमा सरकारको कामकारबाहीप्रति असन्तुष्टी व्यक्त गर्दै सरकारको विकल्प खोजिनुपर्ने आफ्ना नेता कार्यकर्ताहरुको चर्को दबाबका बीच काँग्रेस सभापति देउवाले प्रचण्ड सामु कार्ड फ्याकेका थिए ।

यो कार्डलाई प्रचण्डले आत्मसात गर्दै आफै सरकारको नेतृत्व गर्न तम्सिएका थिए । तर, उनको यो तम्साइ २४ घण्टा भन्दा बढी समयसम्म टिक्न सकेन । फलतः उनले  एमाले नेतृत्वसँग औपचारिक रुपमा छलफल गरी अगाडिका दिनमा पनि कार्यगत एकतालाई निरन्तरता दिन सकिने भनी काँग्रेसको कार्डलाई तुहाइदिए ।

त्यसो त काँग्रेसको उक्साहटमा हाल आफै सहभागी रहेको सरकारलाई ढाली आफ्नो नेतृत्वमा सरकार गठनको निम्ति अग्रसर हुनु प्रचण्ड आफ्नै निम्ति पनि नैतिक बल भने कमजोर थियो । तरपनि सत्ता गठबन्धनको खेलमा सामेल हुनु उनी निकट नेतृत्वको समेत गहिरो दबाब विद्यमान थियो । खासगरी द्वन्द्वकालीन मुद्दामा तत्कालीन माओवादी नेतृत्वलाई फसाउन सक्ने तर्क गर्ने प्रचण्ड निकट कृष्णबहादुर महरा लगायतका नेताको ठाडो दबाब पनि विद्यमान थियो ।

आन्तरिक रुपमा प्रचण्डका निम्ति एकातिर भने आफू उच्चस्तरीय राजनीतिक समितिका संयोजक रहेको र ओली सरकारमा सहभागी प्रमुख सहयोगी दल भएकाले पनि झट्ट सरकारलाई गिराउने खेलमा आफू नै लाग्दा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत प्रचण्डको राजनीतिक छवी झनै धुमिल हुन सक्ने आशंका पनि उनमा विद्यमान थियो ।

यसका साथै प्रचण्डले ओली गठबन्धनलाई त्यागेर काँग्रेसको सहयोगमा सरकारको नेतृत्व गर्नु बुद्धिमता नभएको तर्क गर्नेहरु थुप्रै थिए एमाओवादीभित्र पनि । यसलाई प्रचण्डले बुझेका थिएनन् भन्नु राजनीतिक रुपमा अपरिपक्व विश्लेषण हुन सक्दछ ।

यसअघि पनि काँग्रेस सभापति भारत भ्रमणबाट फर्किए लगत्तै सत्ता समीकरण र ओली सरकार ढाल्ने प्रसङ्ग उठ्नुलाई अप्रत्यक्ष रुपमा भारतले ओली सरकारलाई गिराउने चाहेको विश्लेषण गर्न थालिएको थियो । यसलाई मूर्त रुप दिनका निम्ति काँग्रेसले ओली नेतृत्वको सरकारमा सहभागी एमाओवादीलाई नै अगाडि सार्न पुगेको थियो । यसले पनि काँग्रेस आफैले किन सरकारको नेतृत्व नगरी सत्ता राजनीतिकलाई अझै अवस्थित र किचलो बनाउन उद्दत थियो भनी बुझ्न कठिन छैन ।

स्वभाविक रुपमा अहिलेको गठबन्धनमा एमाओवादी काँग्रेसले चाहेको जस्तो रुपमा अगाडि बढेको भए त्यसले भोलिको राजनीतिक समीकरण त भत्किन्थ्यो नै, त्यसले एकखालको राजनीतिक रुपमा अस्थिरता निम्तिने पक्का थियो । जसको सम्पूर्ण अपजस प्रचण्डले लिनु पर्दथ्यो । यसबाट काँग्रेस उम्कने थुप्रै बाटाहरु राखेर उसले प्रचण्डको काँधमा बन्दूक राखेर पड्काउने प्रयास गरेको थियो । तर, त्यसलाई विफल बनाइदिए प्रचण्ड स्वयले, जसलाई राजनीतिक चातुर्यता नै मान्नुपर्दछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..