» » अब मधेशमा सोलारबाट सिचाई


काठमाडौ जेठ १७ गते । अब किसानले सिँचाईका लागि डिजल, पेट्रोल तथा विजुलीको झन्झट लिनुपर्दैन । अब सरकारले सौर्य उर्जा (सोलार पम्प इरिगेशन) बाट सिचाईको व्यवस्था गर्न लागेका हुन् ।

दैनिक जस्तो लोडसेडिगंको समस्या, पेट्रोलियम पदार्थको महँगाइ र समयमा उपलब्ध हुन नसकेको कारण किसान मार परेको र कृषिमा गरेको लगानी पनि नउठेका गुनासाहरु आइरहेको बेला सरकारले त्यो झन्झटबाट मुक्त गराउन लागेका हुन् । सौर्य उर्जाबाट सिचाइको व्यवस्था गरे किसानलाई सजिलो हुने भएकाले सरकार त्यतातिर ध्यान दिन लागेका हुन् ।

सिचाइ मन्त्री उमेश कुमार यादवले यही चालु आर्थिक वर्षबाट नै सौर्य उर्जाबाट सिचाइको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमवार सिचाइ विभागमा आयोजित एक कार्यक्रममा उहाँले सौर्य उर्जाबाट किसानका लागि सिचाइ पुर्याउन निर्देशन दिनुभयो ।

नेपालमा सौर्य उर्जाबाट सिचाइको सम्भावना बारे विभागमा आयोजित कार्यक्रममा मन्त्री यादवले भन्नुभयो, सौर्यबाट सिचाई हुने सम्भावना नेपालमा छ र त्यो नमूनाको रुपमा कार्य गरेर तपाईहरु देखाई दिनुपर्छ । यो कार्यक्रमका लागि अर्को आर्थिक वर्ष नकुर्नुस्, भोलीदेखि नै यसको अध्ययन गरि नमूनाको रुपमा भएपनि काम सञ्चालन गर्नुस् ।’

मुलुकमा हाल झन्डै सात लाख हेक्टर जमिनमा मात्रै बाह्रैमास सिँचाइ सुविधा उपलब्ध छ । स्यालो र डिप ट्युबवेल जडान गर्नेलगायतको यो कार्यक्रमको कार्यान्वयन भएपछि सिँचाइ सुविधा पुग्ने जमिन झन्डै १० लाख हेक्टर पुग्ने मन्त्री यादवले जानकारी गराउनुभयो ।

सोलार प्यानल खेतमा लगाएपछि चोरी हुने सम्भावना बढी रहेको कुरा कर्मचारीहरुले उठाएपछि उहाँले भन्नुभयो, चोरी हुन्छ भने हुन दिनुस् । त्यो पनि एउटा परिक्षण नै हुन्छ । चोरी हुन्छ भन्दै कार्यक्रम रोक्नु हुँदैन । प्रचारात्मक रुपमा भएपनि यसैपालीदेखि काम शुरु गरौं ।’

राष्ट्रको रक्षा गर्ने मधेशी जनताले सोलारको पनि रक्षा गर्न सक्छ, अब सोलार, दमकल, तार चोरी गर्ने जमान गईसक्यो, चोरीको डरले कार्यक्रम नै सञ्चालन नगर्ने भने होइन, चोरी नहोस् भनि समाधानीका साथ सिचाइका लागि सौर्य उर्जाका व्यवस्था गरौं भन्दै मन्त्री यादवले किसानले अहिलेको महँगाईलाई थेग्न सक्दैन, एकचोटी यो जडान गरेपछि सधैका लागि हुने भएपछि किसानको आकर्षण यसप्रति बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मधेशका विभिन्न १० ठाउँमा नमूनाका लागि सौर्य उर्जाबाट पम्प जडान गरौं, त्यो सफल भयो भने आउने आर्थिकवर्षमा यसलाई लागु गर्ने मन्त्री यादवले जानकारी गराउनुभयो ।

सरकारले हालै ल्याएको बजेटमा पनि सिचाइमा सौर्य उर्जाका लागि बजेटको व्यवस्था गरेको छ । त्यस कारणले पनि यो कार्यक्रम कार्यान्वनयमा ल्याउन सजिलो भएको विभागका प्रमुख रमानन्द यादवले बताउनुभयो । समृद्ध तराई मधेश सिचाइ विशेष कार्यक्रम अन्तर्गत नै यस कार्यक्रमलाई पनि सञ्चालन गरिने बताउँदै ३५ प्रतिशत बजेट सौर्य उर्जामा लगाउने बताउनुभयो ।

स्यालो ट्युवेलमा मेसिन जडान गरी सोलारबाट पानी तान्न सकिन्छ । यो प्रविधि भारतमा सञ्चालनमा आएको छ । एक दिनमा एकलाख ३० हजार लिटर पानी दिने सो प्रविधि शुरुमा खर्चालु भएपनि किसान त्यसबाट लाभन्वित हुने विश्वास व्यक्त गरिएको छ । दुई हर्स पावर मेसिनका लागि सात लाख, पाँच हर्स पावर मेसिनका लागि १० देखि ११ लाख रुपियाँ पर्ने अनुमान गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..