» » महेन्द्रराय यादवले भन्नुभयो, ‘सहमतिको सरकारको कुरा गाजरको बासुरी बजाउनु जस्तै हो’

काठमाडौ, बैशाख २३ गते । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरुको माग संम्बोधन नहुँदासम्म कुनै पनि सरकारमा नजाने स्पष्ट पार्दै अहिले सहमतिको सरकारको कुरा गाजरको बासुरी बजाउनु जस्तै भएको टिप्पणी गर्नुभयो ।

उहाँले सरकारको भागबण्डाको खेलमा अहिले प्रचण्डले प्यादाको भूमिका खेलेको भन्दै उहाँको नेतृत्वमा सरकार बनेपनि मधेसी मोर्चा सरकारमा नजाने र सहयोग पनि नगर्ने स्पष्ट पार्नुभयो । यादवले भन्नुभयो, ‘यो सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा असफल भईसकेको छ । यो सरकारले समस्याको समाधान खोजेको छैन, काँग्रेस गएपनि हामीलाई उत्साह छैन । हामी सरकार बनाउने र ढाल्ने खेलमा छैनौ । काग्रेस, एमाले र माओवादी हाम्रोलागि एउटै कित्तामा छन ।’

आफूहरु संसदमा रहेकोले सरकार निर्माणमा पक्ष वा विपक्षमा मत हाल्नु स्वभाविक भएको भन्दै अहिले जति दावी गरे पनि सहमतिको सरकार बन्नै नसक्ने उहाँले ठोकुवा गर्नुभयो । यद्यपि उहाँले काँग्रेस, एमाले र
एमाओवादी मिलेर सरकार बनाउँदा मधेसको मुद्दा समाधानमा भने केही सहजता हुन सक्ने तर्क गर्नुभयो ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने काँग्रेसको प्रस्ताव सहमतिको सरकार गठनको लागि नभई बामपन्थी गठबन्धनलाई फुटाएर फेरि आफूले राज गर्ने उद्देश्यले फालिएको कार्ड भएको दावी गर्नुभयो ।

पछिल्ला राजनीतिक घटनाक्रम नाटकीय, रहस्यपूर्ण र आश्चर्यजनक रहेको दावी गर्दै उहाँले यो सहमति बनाउने भन्दा पनि मुलुकमा अस्थिरता ल्याउने योजना रहेको बताउनुभयो ।

ज्ञवालीले भन्नुभयो, ‘प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बन्ने भयो भने हामी तयार छौ । बजेट र नीति तथा कार्यक्रमपछि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने पनि अर्को विकल्प छ त्यसमा हामी छलफलमै छौ । बजेट र नीति तथा कार्यक्रम यही सरकारले ल्याउँछ । २२ वर्ष पहिला एमालेलाई बजेट ल्याउन नदिने खेल भयो अहिले पनि त्यस्तै खेल भईरहेको छ ।’

नेपाली काग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्गले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमति बन्ने बढी सम्भावना रहेकोले काँग्रेसले सहमतिको सरकार गठनको मार्ग चित्र स्वरुप प्रचण्डको नाममा सरकार गठनको प्रस्ताव गरेको स्पष्ट पार्दै काँग्रेसले प्रचण्डलाई प्रस्ताव गरिसकेकोले अब एमालेले सभापति शेरबहादुर देउवाको नाम प्रस्ताव गरे पनि काँग्रेस नबहकिने दावी गर्नुभयो ।

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले सहमतिको सरकार निर्माणको दिशामा एमाओवादी दृढतापूर्व अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आफूहरुले काँग्रेस र मधेसी मोर्चाले प्रचण्डको नाममा सहमति गरेकोले सहमतिको सरकार गठनमा एमाले बाधक हुन नहुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयोे, ‘हामीले सहमतिको सरकार आवश्यक छ भनेका हौ । मोर्चालाई राष्ट्रिय धारमा नल्याई कुनै पनि काम सम्भव छैन । त्यसैले काग्रेस र मोर्चा प्रचण्डको पक्षमा आएकोले एमाले बाधक बन्नु हुँदैन भनेर हामीले भनेका हौ । हामीले यो सरकारलाई बजेट ल्याउन दिन्नौ भनेको होईन ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..