» » सुक्न थाल्यो भूमिगत पानी

रुपन्देही, वैशाख १६ । रुपन्देहीका विभिन्न स्थानका खानेपानी पाइपमा हिजोआज पानी आउन छाडेपछि उपभोक्ता मर्कामा परेका छन् ।
सिंचाइका लागि पनि किसानले भूमिगत रुपमा सञ्चालनमा ल्याएका डिप ट्युबवेलबाट कम पानी आएपछि सिंचाइ गर्न समस्या भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय योगीकुटी बुटवलका अनुसार जमिनमा पर्याप्त रिचार्ज नहुँदा जिल्लाका रुद्रपुर, मोतीपुर, हरैया, गजेडी, सालझन्डी लगायत गाविसमा पाइपमा पानी आउन छाडेको छ । उक्त क्षेत्रमा तराई पर्ने भएकाले खानेपानीले जमिनमुनिबाट नै पानी निकाली उपभोक्तामा वितरण हँुदै आएको छ ।

केही वर्षयता विस्तार जमिनमुनिबाट पानी आउन कम हुँदै जाँदा हिजोआज उपभोक्ताका धारामा समेत कम वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय योगीकुटीका इन्जिनियर देवी पाठकले बताउनुभयो । उहाँले भन्नुभयो –“जताततै घर बने, सडकहरु पिच भए, पानी रिचार्ज हुन सकेन, पानीको सतह घट्नुको एउटा कारण यो पनि हो ।” आफैँले प्रयोग गरिरहेको करहियाको ५४ फिटमुनि गाडिएको हेन्डपाइप पनि सुकेको उहाँले बताउनुभयो । हेन्डपाइप सुकेपछि त्यसको विकल्पमा ठूला बोरिङ गाड्ने काम खानेपानी कार्यालयबाट भएको जनाइएको छ ।

जमिनमा रिचार्ज नहुँदा र तिनाउमा पानीको सतह घट्दै जाँदा खानेपानी र सिंचाइलाई चुनौती थपेको छ । तिनाउ नदीमा पानीको मात्रा नबढे केही वर्षभित्रै रुपन्देहीका धेरै जमिन सिंचाइ नहँुदा बाँझै हुने खतरासँगै खानेपानीको समेत हाहाकार मच्चिन सक्ने प्राविधिकले चेतावनी दिएका छन् ।

कृषि विकास अधिकृत भोजराज सापकोटा रुपन्देहीमा झन् झन् सिंचाइको मात्रा घट्दै गएको बताउनुहुन्छ । “सिंचाइ चुनौतीपूर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “दीर्घकालीन योजना नहुने हो भन्न तराईको उर्वरभूमि उजाड बन्न बेर लाग्दैन, सिंचाइ बढाउनका लागि सतह सिंचाइ प्रणाली आवश्यक छ ।”

गत भदौ महिनामै चापाकलबाट पानी आउन छाडेपछि सालझन्डीका किसान कल्पना थारुले घरमा आवश्यक पानी जुटाउन समस्या परेको गुनासो गर्नुभयो । शङ्करनगर खानेपानी आयोजनाको एउटा बोरिङबाट पानी आउन छाड्यो । निर्माण भएको दुई÷तीन वर्ष पानी आएपनि गएको वर्षदेखि पानी आउन छाडेको हो ।
बयासी मिटर गहिराइमा रहेको बोरिङबाट पानी नआएपछि खानेपानीले अर्को नयाँ बोरिङ गाडेको छ । तिलोत्तमा नगरपालिका– ३ शङ्करनगर क्षेत्रका कृष्ण ज्ञवालीका अनुसार पाँच दिनदेखि खानेपानीको समस्या बढ्दै गएको छ । “पानीको स्रोत भनेर आएको त यस्तो सङ्कटमा परिने भयो ” उहाँले भन्नुभयो ।

रुपन्देहीका रुद्रपुर, हर्नैया, गजेडी गाविसमा रहेका दर्जनौं आर्टेनल पाइप ९आफैँ जमिनमुनिबाट पानी आइरहने पाइप० सुकेपछि त्यहाँका बासिन्दाले पानीको विकल्पमा खानेपानी योजना माग गरिरहेका छन् । जिविस परिषद्मा खानेपानी योजनाका माग बढी आएको जिल्ला विकास समितिको तथ्याङ्कले देखाउँछ ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा पनि ओभरहेड ट्यांकीको माग बढेको छ । जमिनमुनिको पानी पर्याप्त नआएपछि ग्रामीण क्षेत्रका जनता बढी समस्यामा परेका छन् । खानेपानीको जोहो त जसोतसो गरेका छन्, खेतीमा भने सिंचाइ प्रायः ठप्पै भएको छ ।

पछिल्लो समय रुपन्देहीको पश्चिमी दक्षिणी क्षेत्र पानीको सङ्कटमा परेको छ । वर्षामासमा पनि हातेपम्पबाट पानी नआएपछि किसान चिन्तामा छन् । तरकारी खेतीबाट परिवार चलाउने किसानको उत्पादनमा सिंचाइको पानी नभएकाले लगानी बढेको छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कानुसार जिल्लामा रहेको खेतीयोग्य जमिनमध्ये १२ दशमलव ५ प्रतिशतमा मात्रै बाह्रै महिना सिंचाइ हुन्छ । वर्षायाममा पनि बढीमा ६० प्रतिशत जमिनमा सिंचाइ हुने गरेको छ ।

रुपन्देहीको सिंचाइ हुने जमिनमा खेती गर्न छाडिएको छ । करोडौंँ लगानीमा निर्माण भएको भैलभुजा सिंचाइ आयोजना त्यसै थन्किएको छ । तिलोत्तमा नगरपालिकाका लागि ग्रामीण क्षेत्रमा प्लटिङ गरेर खेतीयोग्य जमिन मासिएको छ । कृषि अधिकृत सापकोटा भन्नुहुन्छ –“खेती हुने स्थानमा सिंचाइ सुविधा भएन, सिंचाइ हुने स्थानमा खेती भएन, यो ठूलो विडम्बना हो ।’

रुपन्देहीको दक्षिणपश्चिम क्षेत्रमा व्यावसायिक रुपकै खेती हुने गरे पनि सिंचाइ चुनौती बन्दै गएको छ । प्राविधिकका अनुसार जमिनमुनिको पानीको सतह दिनानुदिन घट्दै गइरहेको छ जसका कारण कम गहिराइ भएका पम्पमा पानी आएको छैन । वर्षायाममा पनि पानी नआउने गरी पम्प सुक्नु ठूलो खतराको सङ्केत भएको प्राविधिक बताउँछन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..