» » नेपाल भारत थारु सहकार्य संघको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

फाइल फोटो

 चितवन, वैशाख १५ गते । चितवनको रत्ननगरस्थित सौराहामा भएको नेपाल–भारत थारु सहकार्य सङ्घको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।

मङ्गलबारदेखि चलेको दुईदिने सम्मेलनले थारुको पहिचान स्थापित गरी हरेक क्षेत्रमा समान सहभागिताका लागि दुई देशका थारुबीच सहकार्य गर्ने र थारुलाई सशक्तीकरण गर्दै अघि बढ्ने निष्कर्ष निकालिएको सम्मेलनमा सहभागी थारु अगुवा सुरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाई थारुको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक तथा राजनीतिक अधिकार स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

चितवनको सौराहामा भएको दुईदिने सम्मेलनले दाङका सुरेन्द्र चौधरीको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ । सम्मेलनले विभिन्न विषयमा पाँच विभाग गठन गरेको र आगामी अर्को बैठकले कार्यसमितिका पदाधिकारी र विभागीय प्रमुख चयन गर्ने चौधरीले बताउनुभयो ।

आज चयन गरिएको अन्य सदस्यमा बर्दियाका मिनराज चौधरी, दाङका महावीर चौधरी, चितवनकी लक्ष्मी चौधरी, कैलालीकी इन्दु चौधरी, चितवनका ललित चौधरी, बाराका मदन चौधरी, मोरङका नन्द सरदार र उदयपुरकी लक्ष्मी चौधरी रहेका छन् । तीनजना पछि थप्ने जनाइएको छ । उक्त सङ्घमा १० सदस्यीय सल्लाहकार परिषद् गठन भएको छ ।

सो परिषद्मा नेपालका पाँच र भारतका पाँच थारु अगुवा सहभागी रहेको सम्मेलनमा सहभागी थारु कल्याणकारिणी सभा दाङ सल्लाहकार कृष्णकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुख्य गरी यो सम्मेलन दुई देशमा बसोबास गर्दैआएका थारुहरुको अधिकार स्थापित गर्दै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेको कृष्णकुमार चौधरीले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपाल र भारतका गरी ३५० जना सहभागी रहेको बताइएको छ । यसमा भारतका अखिल भारतीय थारु कल्याण सङ्घका केन्द्रीय सल्लाहकार राजकिशोर चौधरीसहित ४५ जना प्रतिनिधिले सहभागिता जनाएका थिए ।

“दुई देशका थारुहरुबीच सामाजिक र सांस्कृतिक पक्षका विषयमा अनुभव आदानप्रदान भयो,” संयोजक चौधरीले भन्नुभयो– “स्वास्थ्यसँगै सांस्कृतिक, शैक्षिक, आर्थिक, राजनीतिक क्षेत्रमा उचित सहभागिताका विषयमा समेत छलफल गरेर निष्कर्ष निकालेका छौँ ।”

सम्मेलनले नेपालको राजनीति क्षेत्रमा थारुको प्रतिनिधित्व राम्रो भएको भन्दै भारतमा नेपालको जस्तै प्रक्रिया अवलम्बन गर्न भारतमा दबाब दिने र भारतमा थारुको आर्थिक, सामाजिक, तथा सांस्कृति क्षेत्र बलियो भएकाले भारतमा प्रयोग भएका विषयलाई नेपालमा लागू गराउनेतर्फ थारु अग्रसर हुने निष्कर्षसमेत निकालेको चौधरीले जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्य क्षेत्रमा नेपालका थारुलाई सिकलसेल एनेमिया रोग लाग्ने गरेको पाइएकाले शिविर सञ्चालनका लागि भारतसँग आग्रह गर्ने निष्कर्षसमेत सम्मेलनले निकालेको छ ।

भारतमा जस्तै घरेलु उद्योगमा थारु सहभागिता बढाउन नेपालमा प्रयासको थालनी गर्ने र नेपालको पर्यटन क्षेत्रमा थारु संलग्न भएजस्तै भारतमा सो अनुभवलाई लैजाने समझदारी भएको संयोजक चौधरीले जानकारी दिनुभयो ।

यस्तै नेपालमा भारतले दिने तीन हजार छात्रवृत्तिमा थारुले कोटा पाउन नसकेको भन्दै त्यसका लागि पहल गर्नेसमेत सम्मेलनले निष्कर्ष निकालेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..