» » भूकम्पको एक वर्ष र मेरो पीडा

–सुरेशकुमार यादव
त्यो दिन जयप्रकाश गुप्ता नेतृत्व गरेको तराई मधेश राष्ट्रिय अभियानको उपत्यका समितिको अधिवेशन ११ बजे १२ गते उद्घाटन हुने कार्यक्रमको निम्तो थियो । त्यहाँ जानु पर्ने । कुनै सञ्चार गृहको लागि सो संगठनको उपत्यकाको अधिवेशन कुनै ठूलो समाचार होइन तर त्यहाँ जेपी गुप्ता प्रमुख अतिथि भएको कारणले समाचार बन्न सकिने संभावनाको आँकलन म जस्ता सञ्चारकर्मीले गर्नैपर्छ । त्यही भएर म निम्तो पाएदेखि नै आफ्नो सेडुलमा सो कार्यक्रमलाई राखेका थिए ।

काठमाडौ जिविस हलमा हुने कार्यक्रममा पुग्नुपर्ने भन्दै म ११ बजेदेखि नै हतारमा थिए । तर मेरो कान्छो छोरो आदित्यको लम्पटमा आधा घण्टा ढिलो भइसकेका थिए । मेरी श्रीमतीले एकछिन बाबु कहाँ बस्नु न म पसलबाट भाँडा माझ्ने साबुन लिएर आउँदैछु ।’ मैले ४५ मिटनभन्दा बढी ढिलो भइसक्यो भन्दै हतार हतार कोठाबाट निस्के । बाइक निकालेर निस्के ।

कृषि पत्रकार प्रतिष्ठानको सोही दिन चियापान कार्यक्रम पनि थियो ११ः३० देखि । प्रतिष्ठानको संस्थापक सदस्य भएको नाताले मैले त्यहाँ पुग्नुपर्ने बाध्यता पनि थियो ।
सिहदरवारको पूर्वी गेटमा रहेको प्रतिष्ठानको सभाहलमा जानका लागि त्यहाँ बाइक रोके । प्रतिष्ठानका महासचिव गोविन्द शर्मा बाटैमा भेट भयो । त्यसको दुई मिनेटपछि प्रतिष्ठानका सदस्य पवन श्रेष्ठ पनि त्यही भेट भयो । कार्यक्रम ढिलो भयो भन्दै गोविन्द र पवनलाई गाली गर्न थाले तर मेरो गालीको वेवास्ता गर्दैै उहाँहरुले पख्नुस् न एउटा गेष्ट आउँदैछन् ।

उहाँ आउने वित्तिकै पाँच मिनेटमा कार्यक्रम शुरु हुन्छ, भन्नुभयो । गेष्टको प्रतिक्षामा रहेको उहाँ दुईजनासँगै म पनि बाटैमा उभिएर उहाँहरुसँग कुरा गर्न थाले । त्यही बेला विस्तारै हल्लायो । मैले जिस्केर भने, पवनजी भूकम्प आयो जस्तो छ हैं । पवनले होइन, भने । पवनले होइन भन्ने ब्त्तििकै बेसरी हल्लाउन थाल्यो । बाटोमा हिडिरहेका बाइकहरु लड्न थाले, भवनहरु जोड जोडले हलिन थाल्यो । हामी तीनजना एक अर्कालाई समातेर सिहदरवारको भित्तासम्म पुग्यौ । हामी उभेको छेउमा ठूला ठूला भवनहरु थियो । ती भवनहरु जीउमा झर्ला झर्ला जस्तो भइरहको थियो । हामी एकअर्कालाई समातेर उभिरहेका थियौं ।

एकैछिनमा त बाटोमा कोलाहल मचि सकेको थियो । मान्छे रुदै । छटपटाउँदै थिए । प्रतिष्ठानका अध्यक्ष राजेश वार्मा हलबाट तल झर्नुभयो । उहाँले आफ्नो घरमा फोन लगाई रहनु भएको थियो । फोन लागि रहेको थिएन । उहाँ मसँग मेरो फोन माग्दै रुन थाल्नु भयो । त्यतिबेलासम्म मैले आफ्नो डेरामा श्रीमतीको मोबाइलमा फोन लगाई सकेका थिए । तर, फोन उठि रहेका थिएन । मैले सोचे । भाग्ने बेलामा कोठामा फोन छाडेर बाहिर भागेको होलान् । फेरि अर्को झटका आयो । अलि शान्त भइसकेको कोलाहल फेरि शुरु भयो ।
त्यसपछि अब होइन कोठा जानैपर्छ । के भयो बुझ्नु पर्छ । अघि भूकम्प आउँदा बाइक लडेको देखेको हुनाले बाइक लिएर हिड्नै मन लागेन । 

म हिडेरै कोठा आउन थाले । राजेश जी प्रतिष्ठानका सदस्य किरण आचार्यको बाइकमा कोठातिर जानु भयो । बाटोमा भिड यस्तो थियो कि हिड्न पनि गाह्रो भइरहेको थियो । एउटा पत्रकारको नाताले आज बाहिर के भयो । कहाँ कति क्षति भयो बुझ्नका लागि कुद्नुपर्ने तर बिडम्बना घरमा बालबच्चाका अवस्था बुझ्नका लागि कुद्नु परेको छ । त्यतिबेलासम्ममा कहाँ के भयो केही कुराको भेउ पाइसकेका थिइनन् । मोइबल पनि डिस्टर्व थियो ।

बाटोमा मेरो घरभेटीको छोरासँग भेटभयो । उनले म्याडमलाई चोट लागेको छ । छिट्टो जानुस् भनि छोटो सुचना दिई आफ्नो बाटो लाग्नुभयो । म मा त्यसअघि कुनै डर क्रास थिएन तर घरभेटीको छोराले त्यसो भनेपछि म अलिकति डराए । हतार हतार गरी कोठातिर लम्के । त्यहाँ जाँदा त सबैजना बाहिरै छन् । तर मेरी श्रीमती ललिता म बस्ने कोठाको कम्पाउण्डको गेटमा कान्छो छोरालाई काखमा लिएर बसि रोइरहेका छिन् । ठूलो छोरा शेखर त्यही आमाको छेउमा उभेर टोलाइ रहेका छन् ।

मैले आदित्यलाई काखमा लिई के भयो किन रोएकी भनि उनलाई समातेर उठाउन प्रयास गरे । तर उनलाई उठ्न निकै गाह्रो भइरहेको थियो । उठ्ने बेला झनै रुन थालिन् । त्यहाँ हुँदा अर्को झटका पनि आयो । म बच्चालाई लिएर ललितालाई उठाएर बाटोसम्म लग्नमा असमर्थ थिए । ललिता पनि हिड्न सकिरहेका थिएन । उनलाई बलियो सहाराको आवश्यकता थियो ।

त्यतिबेलै त्यही छिमेकी घरमा बस्ने लक्ष्मी भने एकजना बहिनी आउनुभयो । लक्ष्मी मेरी श्रीमतीसँग मिल्ने बहिनी थिइन् । लक्ष्मीले भनिन् के भयो दिदीलाई । ल हट्नुस् त म समाति दिन्छु । म अलि त्यहाँबाट हटे । लक्ष्मीले ललितालाई समातेर जसो तसो बाटोसम्म लगिन् ।

बाटोमा लगेर ललितालाई बसाइ दिइन् । म त्यहाँ गए । ललितालाई सोधे कसरी भयो यस्तो अनि उनले रुदै भनिन्, म बाबुलाई घरम सुताएर पसल गएका थिए भाडा माझ्ने साबुन ल्याउन । त्यतिकैमा भुकम्प आयो । बाबुलाई उठाउन कोठा दगुरेर जाँदा बाटोमा तीनचार पल्ट लडेको र घुँडामा चोट लाग्यो ।

कुरा सुनेपछि समान्य चोट लागेको होला । भर्खरको चोट भएको हुनाले अलि दुखेको हुनुपर्छ । मैले त्यही उभिरहँदासम्म तीन पटक हलाई सक्यो । सबै मान्छे घर छाडेर मुख्य सडकमा भागि सकेका थिए । मैले दुईटा बच्चासहित ललितालाई कुरेर त्यही बसेका थिए । अरु एकजना बुढो मान्छेलाई लिएर त्यही बसेका थिए । बुढो मान्छे हिड्न नसकेर त्यही कुर्सीमा बसाएको थियो । त्यही बेला मधेशी पत्रकार संघका कञ्चना झा र त्यसबेला सहारा टाइम्समा काम गर्ने विजय यादव भाइ पनि आइपुगे । कञ्चनाले मेरो म्याडमको हालचाल सोधेर सन्त्वना दिई आफ्नो घरतिर लाग्नुभयो किनभने उहाँको घरमा उनका बच्चाहरु एक्लै थिए । मैले विजयलाई सिहदरवारको पूर्वी गेटबाट बाइक ल्याउन चाभी दिए । त्यतिबेला नै अर्को झटका पनि आयो । हामी त झन आतियौ ।

त्यहाँबाट बुढालाई लग्ने भनि उनको मान्छेहरु आयो तर म एक्लै, ललितालाई समात्ने कि बच्चा समात्ने । म निकै आत्तिए । भित्रै भित्रै रोइरहेका थिए म । अब यो जिन्दगी यति मात्र हो भनि एकपटक सम्झे । हाम्रो परिवारको जीवन अब इश्वरकै हातमा भन्दै निराश भएर त्यही उभि राखे । वरिपरीको घरमा कोही थिएन त्यो ठाउँ पूरै सुनशान भयो ।

त्यतिकैमा त्यही लक्ष्मी बहिनी आइ पुग्नुभयो र भनिन्, दिदी यहाँ बस्नु हुँदैन जाउँ बाटोमा सबैजना त्यही छन् । जाउँ म लगदिन्छु । उनले ललितालाई समातेर जसोतसो मुख्य बाटोसम्म लगे । पुरानो अन्नपूर्णपोष्टको अफिस अगाडि सिहदरवारको छेउमा । त्यहाँ मान्छे टन्नै थियो । त्यहाँ गएपछि ललितालाई चिनेकी एकजना आइमाई जो हाम्रै छिमेकी हुन् । उनले के भयो दिदीलाई भन्दै एउटा कुर्सी ल्याएर दिइन् ।
डक्टरलाई देखाउनु पर्ने सुझाव चारैतिरबाट आयो । त्यतिबेलासम्ममा एउटा खबर आयो कि सुन्धाराको धरहारा ढलि सक्यो रे । सिहदरवारको बारहरु पनि ढलि सक्यो ।

 कुपण्डोलको एउटा घर भत्कियो । नयाँ बस पार्कमा पनि घरहरु भत्कियो, वसन्तुपुर हनुमानढोका पुरै ध्वस्त रे लगायतका कुराहरु सुन्न थालियो । म पत्रकार मान्छे, भत्केका घरहरुको रिपोर्टिग गर्नुपर्ने तर बाध्यता भयो परिवारसँगै बस्नुपर्ने । त्यतिबेलासम्मा विजय पनि बाइक लिएर आयो । मैले विजयलाई अस्पतालहरुको अवस्था बुझेर आउन भने । उनी नेपाल मोडेल अस्पताल र घट्टेकुलामा रहेको एक अस्पताल बारे बुझेर आए । मोडेल अस्तालमा खुट्टा टेक्ने ठाउँ छैन रे । भूकम्पबाट घाइते भएकाहरु अस्पताल भरि छन् । घट्टेकुलोको अस्पतालमा डाक्टर छैन सामान्य प्राथमिक उपचार मात्र गरिरहेका छन् ।

मैले सोचे प्राथमिक उपचार भएपनि एकचोटी देखाई हालौ भनेर विजयसँग ललितालाई बाइकमा चढाएर अस्पताल पठाए । मैले आफ्ना दुइटै छोरालाई बोकेर अस्पताल हिड्दै गए ।
अस्पतालमा चेकअप भयो । एक्स्रे भयो । त्यहाँ भएका डाक्टरका अनुसार हाडमा केही भएको छैन । चोट मात्रै लागेको छ । त्यसका कारण रगत जमेको छ । विस्तारै निको हुन्छ तर हाडको डाक्टरलाई एकपटक देखाउन पनि सल्लाह दिए ।

अस्पतालमा हुँदासम्म दुईपटक झटका आइसकेको थियो । अर्को झटका आएपछि हतार हतार त्यहाँबाट निकालेर त्यही अगाडि खाली जग्गामा थुप्रै मान्छेहरु बसिरहेका थिए त्यही लगे । विजयको सहयोगमा । सायद त्यो दिन विजय नभएको भए हाम्रो हालत के हुन्थ्यो कल्पना गर्दा पनि डर लाग्छ । विजयलाई बाइक चलाउन आइरहेको कारणले पनि मलाई सजिलो भएको थियो । खाली ठाउँमा लगेर बालबच्चासहित बसे । त्यही अगाडि विजयको डेरा पनि सहारा टाइम्स तथा मधेशी पत्रकार संघको पनि कार्यालय थियो । त्यहाँबाट विजयले कुर्सीहरु ल्याएर दियो ।

ललिता कुर्सिमा बसिन् । म चाहिँ त्यही आफ्नो छोरा आदित्यलाई बाकेर उभिरहे । भूकम्प आइरहेका कारणले कतै जान सकिरहेका थिइन् । पत्रकार भएको कारणले भूकम्पबाट भएको क्षतिको विषयमा जानकारी लिन मन छटपटी रहेको थियो तर ललिताको त्यो अवस्था र साना साना बच्चा भएको कारणले कतैपनि गइनन् । सहारा टाइम्सको अफिसमा गएर एकछिन यसो नेट चलाए । हतार हतारमा फेसबुक चलाएर त्यहाँ राखिएका फोटो र स्टाट्सहरु पढे । राम्रोसँग डाटाहरु पढ्न पाइनन् । भूकम्प आउला कि भनि मनमा त्रास थियो । कम्प्यूटर बन्द गरेर तल झरे ।

 फेसबुकको स्टाट्सहरु पढ्दा लाग्यो देशमा ठूलै विपत्ति आइ परेको छ । दिन ढल्दै थियो । भोक प्यास सबै हराई सकेको थियो । ११ बजे खाएको तर अझै भोकको नामो निसान छैन । छोराहरु चाउ चाउ र बिस्कुटमै सिमित थियो । बेचाराहरुलाई यो विपत्तिको बारेमा के थाह । उनीहरुको लागि त रमाइलो भएको थियो । खेल्ने ठाउँ खुल्ला भएको कारण छोराहरु रमाई रहेका थिए तर हामी दुई थियौं पीडामा ।
साँझ परेपछि विजयले आफ्नो कोठाबाट केही ओछ्याउने र ओढ्ने ल्यायो । म पनि कोठाबाट केही ल्याएका थिए । त्यहाँ बसेकाहरु मध्ये मेरो श्रीमती मात्र घाइते भएको कारण सबैको नजर यतै थियो । ललितालाई उठाउँदा बसाउँदा साह्रै अप्ठ्यारो थियो ।

चारैप्राणी एकैठाउँमा गटुमुटिएर १२ गतेको राती त्यही सुते । कसैको टाउको खुट्टाको ठेगान थिएन नसिरानीको ठेगान थियो । भोकै सुते । सुताइ त के हुनु । रात काट्ने काम मात्र भयो । घुँडाको चोटले ललितालाई सुत्न दिएन फेरि पराकम्पन आइरहेको कारण रातभरि हलीखली भई राख्यो । मान्छे हिड्ने बाटोको छेउमै सुतेका थिए । हिड्ने मान्छेले मेरो ओछ्यानलाई कुल्चेर हिडिरहेका थिए । दुखको बेला अरुले सोच्नुपर्ने कुरा हो तर मैले के भन्ने रु

बैशाख १३ गतेको विहानको घाम उदाई सकेको थियो । तर झड्का दिन छाडेका थिएन । कसैले २४ घण्टासम्म यस्तै आउँछन् भनिरहेका थिए भने कसैले ७२ घण्टासम्म यस्तै रहन्छन् तर आज एकवर्ष पुग्यो ३० हजारभन्दा बढी पटक पराकम्पन आइसकेको छ । कसैले अन्तराष्ट्रिय जगतमा आएको भूकम्पका कुरा पनि उठाउँथे । तर त्रास सबैमा थियो ।

मैले ललितालाई सोधे चिया खाने हो, उनले ब्यथित मनबाट भने, अँह । म पनि केही खाइनन् । बाटोको बास कहिलेसम्म हुने थाह छैन । कसैले यसको बारे सुनिश्चितता गर्न सकिदैन तर एउटा विज्ञ जस्तो, वैज्ञानिक जस्तै, ज्योतिष जस्तै सबैले आआफ्नो अड्कल दिन छाडेका थिएनन् । मैले पछि गएर बुझे त्रास त्यहाँबाट पो उत्पन्न हुँदो रहेछ । असलियत के हुन्छन् तर अडकल के काटिरहेका हुन्छन् त्यस कारणले मान्छेमा त्रास उत्पन्न भएको हुन्छ ।

घाम उदाएको, धुलो धुँवाबाट आजित भइसकेका थिए हामी । के गरौ नगरौ जस्तो भएको थियो । यो दुखको घडीमा विजय साथै थियो । अन्तिममा निर्णय गरे जे हुन्छ हुन्छ कोठै जाउँ मरौला त्यही मरौला । विजयलले ललितालाई बाइकमा चढाएर कोठा पुर्याए दिए । म पनि छोराहरुलाई बोकेर कोठा गए । घरपेटीहरु कोही थिएनन् वरिपरीको घरमा पनि कोही बसेका थिएनन् । कोही आएपनि चाँडै निस्केर जान्थ्यो ।
म कोठामा जाने वित्तिकै घरमा राखेका देवतालाई धुप देखाएर खाना बनाउन थाले । उता ललिता र छोरा शेखरलाई ब्रश गर्न लगाए । चिया पकाएर ललितालाई दिए म पनि खाए ।

१०ः३० बजेको थियो । खाना पाकि सकेको थियो । सबैजना डराई डराई खाए । कतिबेला भूकम्प आउँछन् भने ठेगान थिएन । आँटै गरेर बालबच्चासहित कोठामा बसेका थिए । रातीको थकानका कारण ललिता पनि भूइमै सुतिन् । म ओछ्यानमा दुईटै छोरालाई लिएर सुत्ने प्रयासमा लागिरहेका थिए तर छोराहरु सुत्न दिए पो । त्यतिकैमा ठूलो झटका आयो । घरलाई बेसरी हल्लायो । घर डर्लम लडला जस्त भइरहेको थियो । हामी जहाँ थियौ त्यही भगवानको नाम लिएर बसिरहेका थियौ । ललिताले पशुपतिको नाम जोड जोडले लिइ रहेकी थिएन् । पछि सम्झदा त हाँसो पनि उठ्यो तर भनिन्छ दुखमा मात्र मान्छेले इश्वरको नाम लिन्छन् । झट्का ठूलो भएपनि छोटो समयको थियो । कति रेक्टरको थियो भने त्यो बेला ठम्याउन सकिन ।

भूकम्प जाने वित्तिकै विजय दगुरेर आए । हामी निकै डराएका थियौ । विजय आएपछि कोठामा बस्नु हुँदैन भन्दै जाउ जाउँ भन्न लाग्यो । कोठामा आउनु अघि उनले ११ बजेतिर भूकम्प आउँछन्ले ठूलै आउँछन् रे । तर मैले पत्याएको थिइनन् । त्यही कुराको याद दिलायो, विजयले । कोठामा नबस्ने सोचेर त्यहाँबाट निस्कियौ । झण्डै हामी भात खाइ सकेका थियौ । 

त्यही घट्टेकुलोको पुरानो ठाउँमा गएर बसे । घाम मधुरो थियो । पानी पर्ला पर्ला जस्तो थियो । विजयले फेरि ओछ्यान ल्याएर राख्यो । हामी त्यही बाटैमा बस्यौ । त्यतिबेलासम्म पनि
मैले आफ्ना बालबच्चालाई छाडेर कतै जाने अवस्थामा थिइनन् । यति मान्छे मरेका छन् कि अब काठमाडौमा महामारी फैलिनेछ भन्नेसम्मको हल्ला फैलियो । लाश कुहिएर त्यसको गन्ध काठमाडौभरि फैलिनेछ र विभिन्न रोगहरु फैलिने अड्कल काटिरहेको थियो । तर झट्का कायमै थियो । त्यो दिन दिनैभरि त्यही बसे । ललिताको घुँडामा बेला बेलामा मलहम दलि दिन्थे । औषधी खुवाउथे । बच्चा खेलाउथे त्यही काम थियो मेरो । ललिता आफ्नै साहारामा कतैपनि हिडडुल गर्ने अवस्थामा थिएन । ट्वाइलेट पनि मैले नै पुर्याइ दिनुपथ्र्यो । त्यहाँ नबसाइ दिँदासम्म आफै बस्न अवस्थामा पनि थिएन ।

राती सुख्खा चाउ चाउ खाएर रात बिताए । छोराहरु विस्कुट खाए । विजय पनि हामीसँगै चाउ चाउ खायो । बेला बेलामा झटका आउने कार्य पनि जारी थियो । अलिकति हल्लाएपछि मान्छे बुरुक्क उठेर भाग्न खोज्थे आफ्नो ठाउँबाट तर बेचारा हामी कहाँ भाग्ने । भाग्ने अवस्था पनि थिएन हामीसँग । विहानैदेखि पानी पर्न शुरु भएको थियो । त्यहाँबाट उठेर त्यही रहेको चिया पसलको छेउमा गएर हामी बस्यौ विजय समेत । विहानको ३–४ बजेको थियो सायद । ललितालाई एक कप चिया खुवाई दिए । कान्छो छोरा मेरो काखमा सुतिरहेको थियो भने जेठो छोरालाई एउटा कुर्सीमा सुताई दिएका थिए । ललिता त्यही पसको छेउमा ओत लागेर पीडाको मुद्रामा बसेकी थिइन् ।

पानी पर्न बन्द भएपछि झिसमिसे उज्योलो भइसकेको थियो । तैपनि ओछ्यान ओछायाएर पल्टे तर सुत्न सकिएन । विहान भयो । मान्छेको चहल पहल बढ्यो । उठेर बसे । जेठ १४ गते सोमवारको दिन थियो । पानी परेपछि झन भूकम्प आउँछन् भने कुरा पनि आयो । त्यस्तो उड्न्ते कुरा कति आयो कति । तर मौसम त्यति ठिक थिएन । 

कुनबेला पानी पर्ला भने ग्यारेन्टी थिएन । खाना खानुपर्छ भन्दै हामी कोठामा गयौ । विजयले हामीलाई पुर्याई दियो । तर यति हुँदा पनि विजय हाम्रोमा कहिले खाना खाएनन । जति भन्दा पनि कुनै नकुनै बहाना बनाएर निस्कि हाल्थे । ट्वाइलेट जाने अवस्थामा ललिता थिएनन् । हाम्रो ट्वाइलेट अलि अग्लो थियो त्यहाँसम्म चढ्न गाह्रो हुने भएपछि कोठामै बाल्टिन ल्याएर दिए । दिसा पिसाब त्यसैमा गर्ने बाध्यता थियो ।
उनले लुगा पनि चेन्ज गरे । म खाना पकाए । सबैलाई खान दिए । आफू पनि खाए । सबैमा त्रास छँदै थियो । कतिबेला भूकम्प आउला भने ठेगान थिएन । हामी खाइसकेपछि विजयलाई फोन गरेर बोलाए । विजय आएपछि त्यही बस्दै आएको ठाउँमा गए । अघिल्लो दुई दिन सुतेका ठाउँभन्दा अलि फरक ठाउँमा ओछ्यान लगाए ।

विजयलाई एकछिन कता बाहिर जानु थियो, बाइक लिएर गयो । ललितालाई चिन्ने केही आइमाईहरु पनि त्यही थिइन् । बच्चालाई स्कूल पुर्याउन र लैजाने अवस्थामा उनले धेरै महिलाहरुसँग चिनजान गरेका थिए । उसलाई सो चिनजान काम लाग्यो कुराकानी गर्नका लागि । राती हामी त्यही सुत्ने विचार गर्यौ । खानामा कुनै च्वाइस थिएन । विस्कुट चाउ चाउ खायौ ।

राती खानुपर्छ भने कुरामा कोही अल्झेका थिएन । त्यही छेउमा सेनाको ब्यारेक रहेछ उनीहरुले एउटा ठूलो तिरपाल ल्याएर त्यहाँ झुण्डाई दिए । हामी त्यहीभित्र बस्यौ । तर राती पानी पर्न थालेपछि कोही भित्र बसेन । पानी भित्र पस्यो । उभिने ठाउँ पनि रहेन ।  अनि विजय आयो । सहारा टाइम्सको कार्यालयको गल्लीमा हामी सबैजना सुतियौ । आनन्दले दुई दिन राम्रोसँग सुत्न नपाएको कारणले त्यहाँ गल्लीमा राम्रोसँग सुतियौ ।

झट्का आउन केही कम भएको थियो । मान्छेहरु आआफ्नो घर फर्कि रहेको थियो । हामी पनि १० बजेतिर कोठामा आयौ । पानी पर्दै थियो । पानी कहिले बन्द हुन कहिले पर्ने जस्तो भइरहेको थियो । वितेको रातमा घर जानुपर्छ भनि बसबालासँग कुरा गरेका थिए राती फोन गर्नु भनेको थियो । अब काठमाडौ नबस्ने घर जाने भनि पुरै मुड बनाई सकेका थिए । गाडीवालाहरुको सम्पर्क थिए ।

कोठामा घर जाने भनि तयारी गरेर बसेका थिए । घर त जाने तर गोजीमा सुको पैसा थिएन । बैंकहरु सबै बन्द थियो । एटीएमहरु कुनै काम गरिरहेका थिएन । मैले बाइक लिएर बानेश्वर, न्यूरोड, कुपण्डोल सबैतिर चहारे । कतै पाइन । पैसा नभएको कारण म निराश भए । पैसाको कारण घर जान पाइदैन कि जस्तो लागेको थियो । यस्तो बेलामा साथी भाइसँग सापटी माग्नु राम्रो होइन जस्तो लागेर कसैसँग मागेनौ । ओम शर्मा सरसँग अलि कति पैसा लिनुपर्ने थियो । उहाँलाई फोन गरे । संयोगले उहाँ पाँच हजार रुपियाँ दिएर सहयोग गर्नु भयो । ठूलै राहत भयो ।

डर त्रासका कारण यति मान्छेहरु काठमाडौ छाडेर गइरहेका थिए कि त्यसका कुनै गिन्ति थिएन । काठमाडौ छिर्ने बस कलंकीमै फुल हुन्थ्यो । बस पार्कसम्म आउनै पर्दैन्थ्यो । कोठामा गएर खाना पकाए खाए । त्यो दिन रुकेश पनि आयो । फोन गरेर बोलाएका थिए । एउटा बसबालासँग कुरा गरेका थिए । उनले तपाईहरुलाई जसरी पनि काठमाडौबाट लग्छु भनेका थिए बुधवार विहान तयार रहन बसबालाले भनेका थिए ।

एउटा बसबालाले राती ३ बजे फोन गर्न भनेको थियो । मैले फोन गरे । उनले हामी त काठमाडौबाट फर्कि सक्यौ भन्यो । रिस त उठ्या तर गर्ने के । बसको टिकट काट्ने प्रकाशलाई फोन गरे उनले पनि बस भइहाल्छ नि सुरेशजी मलाई आधा घण्टा पछि गर्नुस् भन्नुभयो । मैले आधा घण्टापछि फोन गर्दा त उहाँको पनि मोबाइल अफ थियो ।

त्यो राती जीवनमा पहिलो पटक ठूलो डर लागेको थियो । हामी सबै त्यही कोठामा थियौ । हामी दुई दाजुभाइ त्यही थियौ । श्रीमती ललिता र दुई छोरा पनि त्यही कोठामा थियो । भूकम्पले यो घर ढल्यो भने हाम्रो वंश नै नाश हुन्छ भन्ने कुरा सोचेर तनाव भइरहेको थियो । राती कोठामा हुँदा नै तीन चारपटक भूकम्प आएको थियो । त्रासको सिमा नै थिएन । भूकम्प आएपनि हामी भाग्ने अवस्थामा थिएनौ ललितालाई लिएर । हामी भगवान भरोसे कोठामा थियौ ।

राती सबै बसबालाले धोका दिएपछि राती विहान नहुँदै बीपी यादवलाई फोन गरे । तर उहाँको पनि फोन उठेन । सुनैनालाई पनि पटक पटक फोन गरे । उसको पनि फोन उठेन । झन तनाब बढ्दै गयो । अब कहाँ जाने फेरि अघिकै ठाउँमा जाने हो त तर त्यहाँ जाने मेरो इच्छा थिएन । बरु जसरी पनि घर नै जाने । हावाई जहाजको टिकटका लागि पनि विष्णु साहलाई फोन गरे उनले पनि टिकट कुनै पनि हालतमा हुँदैन । मेरो बच्चाहरु पनि सडकमै छन् । टिकट नपाएर घर जान सकिरहेका छैन । पछि ६ बजेतिर बीपी यादवले आफै फोन गर्नुभयो । मैले आफ्नो अवस्थाको बारेमा सुनाए ।

जसरी पनि घर जानुपर्छ भनि कुरा सुनाए । उनले चिन्ता नलिनु म गाडी लिएर आउँदै छु तपाईहरु तयार भएर बस्नु । मेरो आधा त्रास त्यतिबेला नै हरायो । बीपी यादव सात बजे आई पुगे । अलि अलि राती नै तयारी गरेका थिए । जे जस्तो अवस्थामा थिए । ललितालाई र दुई छोरालाई गाडीमा चढाई दिए । रुकेश आउने कुरा बुझेर विजय पनि आफ्नो घर (सर्लाही) गइसकेका थिए । उता गएपनि सम्पर्क गरिरहेक थिए उनले ।

बीपी सरले गाडीमा हालेर मेरा बालबच्चालाई लिएर गएपछि म पनि बाइक लिएर उहाँकै कोठातिर लागे । बीपी घरमा गएपछि पहिलो कार्य ललितालाई जचाउँनुपर्ने भयो । हामी त्यहीबाट सातोबाटोस्थित स्टार अस्पतालमा गए । एक्स्रे गराए । त्यहाँ उपलब्ध डक्टरले केही भएका छैन भने । चोटपटक लागेको छ केही दिनमै निको हुन्छ भनि केही औषधी र मलहम दियो । क्रया्क ब्याण्डेज पनि लगाई दिए । बीपी सरहको बालबच्चा पनि सबै बाहिर पालमुनी बसेका थिए त्यही घर नजिकै । विहानको खाना पाकिसकेपछि हामी खाना खायौ । मौसम ठिक थिएन ।

धेरै दिनपछि ललिताको अनुहार हँसिलो देखेका थिए, त्यसले गर्दा मेरो पनि हँसिलो थियो । उनले भनेका थिए, यहाँ आएपछि त मेरो आधा दुख हरायो । पीडा नै कम भयो । आफ्नै जस्तो लाग्यो यहाँ । आज पनि बीपी सरलाई धन्यवाद दिन चाहन्छु जसले मेरो परिवारको अनुहारमा खुशी ल्याउने काम गर्नुभयो ।
सद्भावना पार्टीका नेतृ सुरिता साह पनि त्यही भेट भयो । उनी आफ्नै गाडीमा छोरा सहित बसेकी छिन् । गाडीमै बसेर केही छिन् कुराकानी गरे । यता सिरहाबाट देवनारायण साहले एउटा गाडीबालासँग मेरो लागि कुरा गरेका थिए । म पनि सम्पर्कमै थिए । विहान ४ बजे गौशालामा गाडि चढ्न आउन भन्यो गाडि बालाले । घर जाने कुरा कन्फर्म भयो ।

यो कुरा बीपी यादवलाई पनि भने । राती बीपी यादवको गाडीमै सुते उहाँसँगै । गाडीमा मेरो छोरा शेखर र बीपीको छोरा परिवर्तन पनि सुतेको थियो । बीपी यादवले विहान चार बजे नै गौशाला पुर्याई दिनु भो हामीलाई हामी गाडी चढेर सिरहा पुग्यौ विहिबार । र त्यहाँबाट नागेश्वर र श्रीदेवको बाइकमा घर गएका थियौं ।
त्यसपछि ललितालाई लहान र जनकपुरमा उपचार गराए । लहानमा डाक्टरसँग देखाउँदा थाह पाए ललिताको घुँडाको हड्डी क्रयाक भएको छ । त्यसपछि जनकपुर लगेर रामकेवल साहलाई पनि देखाए । उहाँले पनि त्यस्तै भन्नुभयो ।

उहाँलै औषधी भन्दा पनि एक्सरसाइजमा बढी ध्यान दिन भन्नुभयो । फिजियोथेरापीको आइडियाहरु दिनुभयो । आज उहाँकै उपचारबाट ललिता निको भएर काठमाडौमा छिन् । भुकम्प गएको एक वर्ष भयो भनि सम्झाउँदा अँ भन्दै झस्किइन् । त्यो दिन शनिवार थियो आज आइतवार आज भुकम्प नआउला कि ?

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..