» » कस्तो रह्यो भूकम्प पीडितको एक वर्षका दिनचर्या ?

फाइल फोटो

चितवन, बैशाख १० गते । आठजनाको परिवारका अगुवा लीलाबहादुर विक फलामलाई खुर्पाको आकार दिंँदै हुनुहुन्छ । फलाम सेलाउँदा ताप दिन छोरा लोकबहादुर पछाडि उभिनुभएको छ ।

“छोराले आरन मेसिन ९हावा दिने मेसिन० चलाउँछ, म घन ठोक्छु हजुर, यस्तै छ काम,” घन हानिरहेका लीलाबहादुरले हेर्दै नहेरी जवाफ फर्काउनुभयो । श्रीमती फूलमायाको मेलापात र ज्याला मजदुरी गर्दैमा दिन बित्छ । उहाँलाई बुहारी शान्तिले बेलाबेलामा ज्याला मजदुरी गर्न सघाउनुहुन्छ ।

छोरा यमबहादुर तामाको काम गर्नुहुन्छ । मजदुरी पनि गर्नुहुन्छ । “यो एक वर्षमा जति सकस कैल्यैँ भएन,” लीलाबहादुरले सम्झिनुभयो – “भूकम्पले बास त उठायो, अब त आस पनि हरायो ।”

भूकम्पले घर पूरै ध्वस्त बनाएपछि र गाउँ नै उच्च जोखिममा पारेपछि चितवनको विकट काउलेको गोछिवाङको मलिलो जग्गा चटक्कै छाडेर रत्ननगर नजिकैको जुटपानीको सुख्खा चौरमा आउनुप¥यो उहाँलाई । त्यसपछि क्षणिक समयका लागि अस्थायी टहरामा राखिएका उहाँहरुलाई स्थायी बास कहिले बन्ने हो पत्तो छैन । साँघुरो क्षेत्र चारैतर्फ तारबारले घेरिएको ठाउँमा उहाँहरु बस्नुहुन्छ । खुर्सानी लगाउने जग्गा पनि छैन ।

रोजीरोटीका लागि कुनै विकल्प नहुँदा उहाँहरुलाई कतैबाट रोजगार मिल्ला भन्ने आशा पनि छैन । “जग्गा जमिनमा काम गराँैं जग्गा छैन, नगरौँं खाने अन्न छैन,” छिमेकी सूर्यबहादुर विकले दुखेसो गर्नुभयो । छाडेर आएको गाउँ बाँझिइसकेको छ ।

लीलाबहादुर विकले आरनमा घन ठोक्दै गर्नुहुँदा आफ्नो पालो कहिले आउँछ भनेर सूर्यबहादुर विक आरन कुरिरहनु भएको छ । एउटा आरनमा चार÷पाँच परिवारले काम गर्नुपर्छ । स्थानान्तरण भएका २४ घरधुरीलाई दैनिक खर्चको जोहो गर्न यहाँ तीन वटा आरन दिइएको थियो । त्यही आरनमा पालो गरेर भूकम्पपीडितले हँसिया, कोदालो, कोदाली, कराँैती दाउ, खुकुरीलगायत सामग्री तयार गर्छन् । त्यही कमाइले चुलो बल्छ । कहिलेकाहीँ कमाइ नै नहुने र कुनै महिना आठ÷नौ हजारसम्म आम्दानी हुने गरेको उनीहरुको भनाइ छ ।

तर आरनका लागि चाहिने गोल नहुँदा उनीहरु समस्यामा छन् । प्रतिबोरा एकहजार २०० पर्ने गोल जम्मा पार्न उनीहरुलाई गाउँभर घुम्नुपर्छ । वनबाट ल्याउन पाइँदैन । “यही आरन चलाउने, कुल्ली गर्ने, ज्याला मजदुरी र मेलापात गर्ने नै हो,” सूर्यबहादुरले भन्नुभयो – “यो एकवर्ष खानलाई पनि धौधौ हुने गरी दुःखमा बित्यो ।”

कुल्ली काममा खटिनुहुन्छ भूकम्पपीडित टीकाबहादुर विक । बालुवा लोड अनलोड गर्ने काममा सक्रिय हुन्छन् । खाने अन्नको जोहो गर्न परिवारका सदस्य उमेर अनुसारको काम गर्न बाध्य भएको टीकाबहादुरले बताउनुभयो । भूकम्पपीडित युवालाई राज्यले कुनै रोजगारी दिए अलि सहज हुने भनाइ छ उहाँको ।


चितवन काउलेको डाँडाको टुप्पोमा रहेको गाउँ । उत्तरमा रिग्दी खोला, दक्षिणमा मौवा खोलाको शिर, पञ्चचुलीको काखमा थियो सानो सुन्दर बस्ती । कच्ची सडक धादिङ्गको हुग्दी हुँदै पुग्नुपर्ने ठाउँ गोछिवाङ गाउँ ।
हल्का भिरालो तर सम्म परेको बस्ती । बस्तीको माथि पञ्चचुली । बस्तीको पुछारमा भिर र माथि पछाडीपट्टि पनि भिर छ । त्यही भिरको अघिल्तिर काखमा थियो गोछिवाङ गाउँ । चौबिस घरधुरी विकहरुको बस्ती ।

तल्लो भागमा पहिरो खस्न थालेको र माथि पञ्चचुलीबाट मौवाखोला तर्फ ढुङ्गा माटोको चट्टान खस्न थालेकाले यो बस्तीलाई स्थानान्तरण गरेर जुटपानी ल्याइएको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेल बताउनुहुन्छ ।

सिलाइ कटाइ सिक्न थाले भूकम्पपीडित महिला

सरिता विक विगत केही महिनादेखि कल चलाउन सिक्दै हुनुहुन्छ । दाताले दिएको कल प्रयोगमा नआएपछि उहाँहरु दुई÷तीनजना मिलेर सिलाइ सिक्न थाल्नुभयो । ज्याला मजदुरी बल छउन्जेल गरे पनि पछि समस्या पर्ने देखेर सीप सिक्न थालेको सरिताले बताउनुभयो ।

“कुर्ता सुरुवाल बनाउन जानें,” सरिताले भन्नुभयो – “अझै धेरै सिक्नु छ । भूकम्पपीडितमध्ये तीनजनाले पहिलो चरणमा कल चलाउन सिक्दै छन् ।” सात वटा कल आएकामा अन्य कल प्रयोग भएका छैनन् । सरितासँगै सिलाइकटाइ सिक्न थाल्नुभएका सावित्री विक सिलाइ गरेर आम्दानी गर्न सकिन्छ कि भनेर सिक्न थालेको बताउनुहुन्छ । उहाँले यो सिप सिक्न थालेको दुई÷चार महिना भयो ।

दाताले यहाँ भूकम्पपीडितसँग बुझ्दा १० जनाले आरन चलाउन जानेको बताएपछि उनीहरुलाई तीन वटा आरन मेसिन दिइएको थियो । सात परिवारका लागि कपडा सिउने मेसिन दिइएको हो । केही वेल्डिङ्गमा काम गर्ने भएकाले त्यस्तै मेसिनसमेत उपलब्ध गराइएको छ ।
अझै पाएनन् राहत
सरकारले सुरुमा दिने भनेको १५ हजार रुपैयाँ चितवनका भूकम्पपीडितहरुले अझै पाउन सकेका छैनन् । जाडोको समयमा कपडा किन्न भनेर आएको १० हजार रुपैयाँ पाउँदा समेत सुरुमै पाउनुपर्ने १५ हजार नपाएपछि पीडितहरु चिन्तित भएका छन् ।

चितवनको जुटपानीस्थित अस्थायी टहरोमा बस्दै आएका एकै गाउँका २४ भूकम्पपीडितमध्ये सात परिवारले अझै उक्त रकम नपाएको दुखेसो गरेका छन् । कार्ड पाएर पटक÷पटक स्थानीय निकायमा जाँदासमेत रकम पाउन नसकेको स्थानीयवासी टीकाबहादुर विकले बताउनुभयो ।

चितवनको विकट काउलेको गोछिवाङ जोखिममा परेको भन्दै उनीहरुलाई सारेर चितवनको रत्ननगरबाट १० किलोमिटर पूर्व तर्फ जुटपानीमा स्थानान्तरण गरिएको थियो । पैसा दिने आश्वासन दिइए पनि नआएको विकले बताउनुभयो । यसरी रकम नपाउनेमा खुमलाल विक, सूर्यबहादुर विक, प्रेम विक, पञ्चराम विक, धनकीलाल विक, मतिराम विक र डम्बरबहादुर विकको परिवार छन् ।

सो गाउँमा भूकम्पका कारण घर भत्किँदा स्थानीय वृद्धा सुवर्णमाया विकको ज्यान गएको थियो । उहाँको परिवारले पाउनुपर्ने १५ हजार रुपैयाँ नपाएको छिमेकी सूर्यबहादुर विकले जानकारी दिनुभयो । “हामी झन् पीडामा परेर, थातथलै छाडेर आउनुप¥यो, हाम्रै पैसा आएन,” सूर्यबहादुरले भन्नुभयो । उहाँहरुले जस्तै जिल्लाका सयाँै पीडितले अझै रकम पाउन सकेका छैनन् । सो विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति चितवनका संयोजक विनोदप्रकाश सिंह उनीहरुको समस्या वास्तविक भएको बताउनुहुन्छ ।

माग गरेर केन्द्रमा पठाइएको भए पनि पैसा नआएकाले दिन नसकिएको प्रजिअ सिंहको भनाइ छ । कपडाका लागि भनेर आएको पैसा कपडामै खर्च गर्नुपर्ने प्रावधान भएकाले दिन नसकिएको स्वीकार गर्दै सिंहले ३०० भन्दा बढी यस्ता पीडितलाई रकम दिन नसकिएको उल्लेख गर्नुभयोे ।

अब पुनःनिर्माण प्राधिकरणले काम गर्ने भएकाले प्राधिकरणको काम अघि तत्कालै केही गर्न नसकिने प्रतिक्रिया उहाँको छ । जिल्लामा अहिलेसम्म तीन हजार ७२५ पूर्ण क्षतिका भूकम्पपीडित रहेको तथ्याङ्क छ । यो तत्थाङ्कमा नक्ककी भूकम्पपीडित रहेको भन्दै गुनासा बढ्दो छ ।

यस्तै, १२ हजारभन्दा बढी आंशिक क्षति भएका भूकम्पपीडित छन् । तीनसय भन्दा बढीलाई स्थानान्तरण गरिएको छ । अझै चार हजार २०० भन्दा बढीले भूकम्पपीडित हूँ भन्दै निवेदन दिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..