» » ‘बालविवाह, जीन्दगी तवाह’


-रिता साह
 ‘बालविवाह, जीन्दगी तवाह’ भन्ने नाराका साथ बालविवाह उन्मूलन अभियान केही संघ(संस्थाहरूले चलाउँदै आइरहेको छ । बालविवाह मानवअधिकार विरोधी कार्य हो । यसले बालबालिकाहरूको मौलिक अधिकार हनन गर्छ ।

साथै शिक्षा, स्वास्थ्य, सुरक्षासम्बन्धी अधिकारहरूबाट पनि यसले बञ्चित गराउँछ । यो एक प्रकारको सामाजिक कुरीति पनि हो । यस्ता कुरीति अझै पनि हाम्रो समाजमा विद्यमान छ । नेपालको कानुनअनुसार २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनिन्छ ।

अर्थात कानुनले पनि बालविवाह निषेध गरेको छ । यदि कसैले बालविवाह गरेको प्रमाणित हुन्छ भने कानुन बमोजिम ३ वर्ष कैद र १० हजार जरिवानासम्मको सजायको कानुनी प्रावधान छ ।

बालविवाहको अवस्था
बालविवाह गर्ने चलन नेपालमा मात्रै छैन । यस्ता चलन विश्वव्यापी छ । युनिसेफले सन् २०१६ मा दक्षिण एसियामा बालविवाहबारे गरेको एक अध्ययनअनुसार प्रत्येक वर्ष १४ मिलियन ९अर्थात १ करोड ४०लाख० बालबालिकाको बिहे १८ वर्षभन्दा कम उमेरमा हुन्छ ।

जसमध्ये ४६ प्रतिशत बालविवाह दक्षिण एसियाका देशहरूमा हुन्छ । विश्वव्यापी रूपमा प्रत्येक ३ जना बालिकामध्ये १ जनाको बालविवाह हुन्छ भने दक्षिण एसियामा प्रत्येक २ बालिकामध्ये १ को बालविवाह हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियामा सबैभन्दा बढी बङ्गलादेशमा ६५ प्रतिशत, भारतमा ४७ प्रतिशत, नेपालमा ४१ प्रतिशत र अफगानिस्तानमा ४० प्रतिशत बालविवाह हुँदोरहेछ । नेपालमा हुने ४१ प्रतिशत बालविवाहमध्ये पनि १० प्रतिशत बालबालिकाको विवाह १५ वर्षभन्दा पनि कम उमेरमा हुने तथ्य अध्ययनले देखाएको छ ।

२०६८ सालको जनगणना अनुसार एक लाख ३८ हजार १५ बालबालिकाहरूको १० वर्ष नपुग्दै बिहे भएका छन् । त्यसमा एक लाख १५ हजार १ सय ५० बालिका छन् भने २२ हजार ८ सय ६५ मात्र बालक छन् । १० देखि १४ वर्ष उमेर समूहमा १३ लाख ६३ हजार १ सय ७ जनाले विवाह गरेका छन् ।

त्यसमध्ये ११ लाख १ हजार २ सय २३ जना बालिका रहेका छन् । बालक २ लाख ६१ हजार २ सय २३ जना छन् । १५ देखि १९ वर्ष उमेर समूहमा ४३ लाख ४० हजार ४ सय ९७ बालिकाको बिहे भएको छ ।

बालक २१ लाख ७६ हजार ७ सय ८४ को बिहे भएको छ । यस तथ्याङ्कले बालकभन्दा बालिकाहरूमा बढी बालविवाह हुने गरेको देखाउँछ । ९स्रोत स् अमृता अनमोल, कान्तिपुर, २०७१ असार २९०
नेपालभित्र पनि बालविवाहको अवस्था एकनासको छैन ।

सन् २०१५ मा युनिसेफले ६ वटा जिल्लामा गरेको अध्ययनअनुसार सबैभन्दा बढी बालविवाह सप्तरी जिल्लामा ९८३ प्रतिशत० हुने गरेको देखाएको छ । त्यस्तै सबैभन्दा कम बझाङ जिल्लामा हुने गरेको तथ्याङ्कले देखाएको छ । बालविवाहको जातिगत विश्लेषण गर्दा धेरैजसो दलित समुदायमा हुने गरेको देखिन्छ । दलितमध्ये पनि मधेसी दलितमा अत्यधिक बालविवाह हुने गर्छ ।

मधेसी दलितहरूमध्ये डोम समुदायमा लगभग सबै बालविवाह नै हुने गर्छ । यदि कसैले ढिलो गरी बिहे गर्न चाहन्छ भने उनको लागि बेहुली वा बेहुला नै नपाउने अवस्था आउँछ । त्यस्तै सुदूर पश्चिम र मध्यपश्चिमका दुर्गम भेगमा पनि बालविवाह बढी हुने गर्छ ।

बालविवाह हुने कारण
दाइजो प्रथा बालविवाहको एक प्रमुख कारण हो । दाइजो लेनदेनको कारण छोरीलाई छिट्टै बिहे गरिदिन्छन् । जति ढिलोगरी बिहे गर्‍यो, त्यति धेरै दाइजो तिर्नुपर्ने कारण पनि उमेरै नपुगी बिहे गरिदिन्छन् । यस्तो खालको परम्परा धेरैजसो मधेसी समुदायमा छ ।

त्यस्तै छोराछोरी बीचको विभेदले पनि बालविवाह हुने गर्छ । छोरालाई धेरै पढाउने तर छोरीलाई अरूको घर जाने जात भनेर कमै उमेरमा बिहे गरेर छुटकारा पाउने सोच समाजमा व्याप्त छ ।

अशिक्षा, गरिबी, परम्परागत चलन, चेतनाको अभावका कारण पनि बालविवाह हुने गर्छ । पछिल्लो समयमा उमेर नपुग्दै युवायुवतीहरूले भागेर विवाह गर्ने चलन बढ्दो छ ।

बालविवाहका असरहरू
बालविवाहले बालबालिकाहरूमा ठूलो नकारात्मक असर पार्छ । कमै उमेरमा विवाह गर्दा बालबालिकाहरूको शारीरिक, मानसिक र संवेगात्मक पक्षको उचित विकास भएको हुँदैन । चिकित्सकहरूका अनुसार आमा बन्ने सबैभन्दा उपयुक्त उमेर २५ देखि २९ वर्ष हो । किशोरी अवस्थामा प्रजनन अंगको पूर्ण विकास भएको हुँदैन ।

त्यसैले किशोरी अवस्थामा गर्भ रहनु र सुत्केरी हुनु जोखिमपूर्ण हुन्छ । यो बेला गर्भ रहेमा कम तौलको बच्चा जन्मने, कुपोषण हुने तथा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने हुन्छ । यसले मातृ मृत्यृदर र शिशु मृत्युदर पनि बढाउँछ । हाल नेपालमा एक हजार सुत्केरीमा ३७ जना र एक हजार शिशुमा ४६ जनाको मृत्यृ हुने गर्छ ।

 नेपाल डेमोग्राफिक हेल्थ सर्भे ९२०११० का अनुसार ४८ प्रतिशत गर्भवतीमा रक्तअल्पताको समस्या देखिन्छ । किशोरी आमाहरूमा पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुने तथा फिस्टुलाको समस्या बढी हुने गर्छ ।

 त्यस्तै बालविवाहले बालबालिकाहरू शिक्षाबाट बञ्चित हुने गर्छ । रोजगारी पाउन सक्दैन । जसले गर्दा आर्थिक रूपले परनिर्भर हुन्छ । यसले वैवाहिक बलात्कारलाई प्रोत्साहन गर्छ ।

उन्मूलन गर्ने उपाय
यस्ता कुरीति हटाउन सर्वप्रथम ऐन(कानुन ठोस रूपमा समय सापेक्ष बन्नुपर्छ । ऐन(कानुन कडा रूपमा कार्यान्वयन गर्नुपर्छ र उक्त ऐन(कानुनबारे जानकारी स्थानीय भाषा, सञ्चार माध्यमबाट गर्नुपर्छ ।

बालविवाह हुने प्रमुख कारण दाइजो प्रथा हुनेहुँदा दाइजो प्रथा अन्त्य गर्ने अभियान पनि सँगसँगै चलाउनुपर्छ । छोराछोरी बीचको भेदभाव अन्तर्गत छोरीलाई पनि छोरासरह सम्पत्तिमा अधिकार दिनुपर्छ । बालिका शिक्षालाई प्रोत्साहन दिनुपर्छ ।
 
स्थानीय युवायुवतीहरूको माध्यमबाट बालविवाह विरुद्ध अभियान नै चलाउँदा पनि प्रभावकारी हुनसक्छ । स्कुल पढ्ने युवायुवती खासगरी कक्षा ८ देखि १२ कक्षाका विद्यार्थीहरूलाई बालविवाहबारे शिक्षा दिनुपर्छ ।

किनभने अधिकांश बालबालिकाको बिहे यही उमेरमा हुने गर्छ । त्यस्तै यस विषयलाई पाठ्यक्रममा पनि समावेश गर्नु उतिकै आवश्यक छ । नेपाल सरकारले पनि सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ, यो सकारात्मक कदम हो ।

तर लक्ष्य राखेअनुरूप बालविवाह सम्बन्धी विस्तृत अध्ययन गरी यसलाई कम गर्नु एकदमै चुनौतीपूर्ण छ । तसर्थ बालविवाह जस्ता कुरीतिलाई अन्त्य गर्न सबै मिलेर पहल गर्न आवश्यक छ ।

स्रोतः कान्तिपुर

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..