» » यो पार्टी प्रवेश गराउने मौसम होइन

–रामनरेश राय यादव
वरिष्ठ नेता, तराई मधेश सद्भावना पार्टी

जुनसुकै दल, मोर्चा, गठबन्धन, कार्यदललगायतको बैठकमा तपाईको दलमा तपाई मात्र देखिनु हुन्छ, अरु नेताहरु किन आउँदैन वा जिम्मेवारी नै दिनुभएको छैन ?
–यो पार्टीको सिस्टम हो । पार्टीलाई जसलाई खटाउँछ, जसलाई जिम्मेवारी दिन्छ त्यही व्यक्ति सो कार्यहरुमा जान्छ । हाम्रो पार्टीको बैठक मलाई जिम्मेवारी दिएको छ । काठमाडौ आन्दोलन परिचालन समितिका संइोजक पार्टीले मलाई बनाएको छ । अरु साथीहरुको जिम्मेवारी अरु अरु तिर भएको हुनाले तपाईहरुले मलाई मात्र देख्नु भएको छ । काठमाडौमा पार्टीको जेजति गतिविधि हुन्छ, मोर्चाको जेजति गतिविधि हुन्छ, वार्ताको सम्बन्धमा जे जस्तो हुन्छ सबैमा जान मलाई नै अह्राएको छ । यो निर्णय कुनै व्यक्तिले गरेको होइन, अध्यक्षले मात्र गर्नुभएको होइन । सम्पूर्ण पार्टीले निर्णय गरेको छ । पार्टीले दुई पटक निर्णय गर्यो दुवैपटक मलाई नै जिम्मेवारी दिएको छ । जिम्मेवारी पाएपछि त्यसलाई निर्वाह पनि गर्नुपर्छ ।

अरु दलको तुलनामा तपाईको पार्टीको गतिविध अलि कम देखिन्छ, कुनै कार्यक्रम हुँदा वा बैठक हुँदा प्रत्येक दलबाट कहिले काही दुई जना वा तीन जना हुन्छ तर प्रायः तपाईलाई एक्लै देखिन्छ त्यस्तो किन होला ?
–यसको जवाफ म अघि नै दिइसके कि पार्टीले मलाई जिम्मेवारी दिएको छ । जहाँ खटाएको छ, त्यहाँ म जान्छु । जहाँ खटाउँदैन त्यहाँ म जाँदैन । अरु पार्टीहरुले कसरी मिलाएको छ त्यो मलाई थाह भएन । कहिले काही म पनि हेर्छु एउटै कार्यक्रममा एउटै दलबाट दुई जना तीन जना प्रतिनिधि हुन्छ । त्यसलाई कसरी पार्टीले मिलाएको हुन्छ त्यो त त्यही पार्टीलाई थाह होला ।

अन्य नेताहरुको एक्टीभिटिज देखिदैन तपाईको पार्टीमा ?
–त्यस्तो होइन, सबै साथीहरुलाई जिम्मेवारी दिएको छ । सबैले पाएका जिम्मेवारी अनुसार काम गरिरहेका छन् । कोही जिल्लामा छन् । कोही गाउँ क्षेत्रमा छन् भने कोही केन्द्रमा छन् । सबैजना आन्दोलनमा पाएको भूमिका निभाई रहेका छन् ।

आन्दोलनमा लागेका सबै दलहरुले अहिले पार्टी प्रवेश कार्यक्रम राखेर कार्यकर्ता भित्र्याई रहेका छन्, ६ महिनासम्म भएको आन्दोलन यही कार्यकर्ता भित्र्याउनका लागि भएको हो जस्तो लाग्न थालेको छ किन यस्तो ?
–६ मिहनासम्म आन्दोलन भयो । ६० जना भन्दा बढीले ज्यानको आहुती दिए । तर सरकारले वार्ताका लागि कहिले गम्भीर भएन । वार्ताका लागि मधेशी मोर्चा पनि पहल गरेको हो । सरकारले पनि वार्ताका लागि बोलाएको पनि हो तर उहाँहरु वार्ताप्रति कहिले गम्भीर हुनुभएन । जहिले पनि आलटाल आलटाल गर्नुहुन्थ्यो । त्यसबीचमा हाम्रो जारी नै थियो । आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ भनि यूएनदेखि लिएर मधेशका जिल्लाहरुबाट पनि सुझावहरु आउनु थाल्यो । अन्ततः हामीले आन्दोलनको स्वरुप परिवर्तन गर्यौं । स्वरुप परिवर्तन भएपनि आन्दोलन रुकेन । विभिन्न स्वरुपका आन्दोलनहरु जारी नै छन् । आन्दोलनको स्वरुप परिवर्तन गरेपनि सरकारले वार्ताका लागि कहिले गम्भीर देखिएन । स्वरुप परिवर्तन गरियौं त्यसको सदुपयोग सरकारले गरेन । अब नयाँ ढंगको नयाँ चरणको आन्दोलन गर्नुपर्छ भन्दै मधेशी मोर्चा तयारीमा लागेका छन् । जिल्लाहरुमा त्यही अनुसारको गतिविधि भइरहेको छ । केन्द्रमा पनि सोही अनुसारको तयारीहरु भइरहेका छन् । आन्दोलनका लागि शक्ति सञ्चय गर्ने काम भइरहेको छ । राष्ट्रिय स्वरुपको आन्दोलन तयारी गरिरहेका छौ । हिमाल, पहाड, तराई सबै ठाउँमा तयारीका लागि अन्तरक्रिया कार्यक्रमहरु गर्नुपर्छ भनिरहेका छौ । केही नकेही मात्रमा भइ नै रहेका छन् । तर अधिकारका लागि जुन रुपमा आन्दोलन भयो त्यसलाई प्राथमिकता दिनुपर्नेमा मोर्चाका केही दलहरु आफ्नो पार्टी बनाउनमा खर्च गरिरहेका छन् । पार्टी बनाउनु पर्छ तर त्यो बेला भएको छैन । सहाद र बलिदानीको पनि ख्याल गर्नुपर्छ । त्यो उर्जा आन्दोलनमा लगाउनुको सट्टा पार्टी बनाउनमा समय खर्च गरिरहेको उर्जा लगाई रहेको छ । आन्दोलनमा दलका मात्र प्रतिनिधित्व थिएन, स्वतन्त्र व्यक्तिहरु, गैर दलका व्यक्तिहरु पनि सहभागि थियो त्यसको सम्मानका लागि भएपनि अहिले पार्टी प्रवेश भन्दा पनि आन्दोलन कसरी सफल पार्न सकिन्छ त्यसका लागि संयुक्त प्रयास गर्नुपर्छ भने जस्तो लाग्छ ।

भन्दाखेरि पार्टीहरुले जिल्ला जिल्लामा गराई रहेको पार्टी प्रवेश कार्यक्रम सही होइन ?
–जति समय पार्टी प्रवेशमा लगाई रहेका छन्, जति मेहनत पार्टी प्रवेशका लागि गरिरहेका छन् त्यति मेहनत आन्दोलनका लागि गर्यो भने आन्दोलन आफै उचाई लिन्छ र उपलब्धी मुलक हुन्छ ।  जसले काम गर्ने त्यसैमाथि जनताले विश्वास गर्छ । पार्टीको सदस्यले मात्र पार्टी चल्दैन । मधेशवादी दल हो भने पूरै मधेशको प्रतिनिधित्व गर्नुपर्छ । सारा मधेशको पार्टी जस्तो देखिनु पर्छ । संगठित सदस्यले मात्र पार्टी चल्दैन । यदि संगठित सदस्यले मात्र पार्टी चल्ने हो भने आन्दोलनको आवश्यकता किन पर्यो । के आन्दोलनमा सबै पार्टीकै सदस्य सहभागि थिए त । थिएन नि । त्यसैले पार्टी निर्माण, संगठन निर्माण आफ्नो ठाउँको कुरा हो । त्यसको पनि बेला आउँदैछ त्यो बेला हामी गरौला तर अहिलको बेला आन्दोलन हो । अधिकारका लागि एक भएर लड्नु हो ।

यो बीचमा मोर्चामा आवद्ध लगभग सबै दलले कार्यकर्ता तथा नेताहरु आआफ्नो पार्टीमा भित्र्याई रहेका छन् तपाईको पार्टीले त्यस्तो गरिरहेका छैन किन ?
–हाम्रो पार्टीको प्राथमिकता त्यो होइन, हाम्रो प्राथमिकता आन्दोलन हो । हामी पूर्णरुपेन आन्दोलनमा छौ । हाम्रो पार्टीमा प्रवेश परिवेश गरिरहेका छैन भने होइन । हाम्रो पनि हुन्छ तर अरु दलको जस्तो सारा शक्ति त्यसैमा लगाएको छैन । पार्टी प्रवेशका लागि हामीलाई खबर आएको ठाउँमा हामी जान्छौ । प्रवेश गराउँछौ तर फलानो मेरो पार्टीमा आउनै पर्छ, यति सँख्या देखाउँनै पर्छ भने छैन । एउटा कुनै व्यक्ति कुनै दलमा गयो भने त्यहाँ सधै रही रहन्छ भने ग्यारेण्टी के ? कुनै ग्यरेण्टी हुँदैन । जनता जनार्दन हुन्छ । जहाँ उनलाई सजिलो हुन्छ त्यही जान्छ । चुनावका बेला यति भोट ल्याउछु त्यति भोट ल्याउछु । मेरो पार्टीको सदस्यसँख्या यति छन् मेरो पार्टी यति ठूलो छ जस्ता डिङ्ग हाँक्ने दलका नेताहरुको हैसियत पनि चुनावमा देखियो त्यसैले पार्टीमा हुलका हुल कार्यकर्ता भित्र्याउँदैमा पार्टी बन्दैन । त्यो बनेको भए अघिलो सविधानसभामा सबभन्दा ठूलो दलरहेका माओवादी दोस्रो सविधानसभामा किन तल झरे त ? यो भन्दा अर्को उदाहरण अर्को के हुनसक्छ ।

त्यसो तपाईको विचारमा अहिले जे जति मान्छे पार्टीमा प्रवेश गरिरहेका छन् त्यो स्थायी होइन ?
–हो, त्यो स्थायी होइन । काँग्रेस, एमाले, एमाओवदीमा रहेका क्रियाशिल सदस्य, महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्यलगायतका नेता तथा कार्यकर्ता कता गए । उनीहरुले प्रवेश गराएर ठूलै पार्टी बनाएका थिए तर आज कार्यकर्ताहरु निस्केर अन्य अन्य मधेशवादी दलमा गइरहेका छन् । भोली यस्तो हुन्छ, मधेशवादी दलबाट निस्केर अन्य दलमा जानसक्छ । त्यसैले कुनै कार्यकर्ता स्थायी हुँदैन ।

पार्टीमा आइसकेका कार्यकर्ता तथा नेताहरु नटिक्नुको कारण के हो त ?
–मधेशवादी दलमा जुन हैकमवादी प्रवृति छ । वन म्यान डिसिजन हावी छ त्यस कारणले मधेशवादी दलमा कार्यकर्ता तथा नेताहरु टिक्दैन । मधेशवादी दलहरुमा वैचारिक संवाद पटकै छैन भन्दा पनि हुन्छ । बहस कहिले हुँदैन । अध्यक्षले जे भन्छ त्यही मान्नु पर्ने अवस्था छ । प्रशिक्षण तथा विचारको अभाव छ । कुनै पनि कार्यकर्ता तपाईको पार्टीमा किन आउँछ, त्यसको वैचारिक आधार के हो त्यो खोज्नु भो भने कहिले कतै पाउनु हुन्न । त्यसैले कार्यकर्ता टिकाउनका लागि विचार चाहिन्छ, दर्शन चाहिन्छ, त्यसको अभावका कारण कार्यकर्ता आएपनि टिक्दैन ।

तपाईको दलका अध्यक्ष हैकमवादी हुनुहुन्छ कि हुनुहुन्न ?
–अहिलेको अवस्थामा हाम्रो पार्टीको अध्यक्षमा हैकमवादी प्रवृति छैन । काम गराईको बेला केही त्रुटी हुन्छ तर अन्य दलका अध्यक्ष भन्दा हाम्रो अध्यक्ष अलि फरक हुनुहुन्छ । अहिले नै हेर्नुस् न पार्टीबाट निर्णय नै गराए मलाई केन्द्रको जिम्मेवारी दिनुभयो उहाँ आफै जिल्लातिर बढी समय दिनुभयो । अरु दलमा तपाई त्यस्तो पाउनु हुन्न । अध्यक्ष नै सबैतिर भ्याई रहेका हुन्छन् ।

तपाईकै पार्टीमा धेरै नेताहरु  आउनु भयो तर अहिले धेरै निस्केर जानुभयो, यो अध्यक्षको हैकमवादले होला नि ?
–म त्यो बेला पार्टीमा थिइन । मेरो आफ्नै राष्ट्रिय सद्भावना पार्टी थियो । दोस्रो सविधानसभा चुनावअघि मैले महेन्द्र यादव अध्यक्ष रहेका तराई मधेश लोकतान्त्रिक पार्टी नेपालसँग एकीकरण गरि तराई मधेश सद्भावना पार्टी बनाए । म त्यहाँ जानु भन्दा पहिले त्यस्तो भएको होला तर जबदेखि म त्यहाँ छु त्यस्तो बाहिरिने काम भएको छैन ।

तपाई आइसकेपछि पनि रानी तिवारी, जयप्रकाश यादव, रामचन्द्र कुशवाहालगायतका नेताहरु असन्तुष्ट देखिन्छ नि ?
–परिवारमा पाँचजना हुन्छ भने त्यहाँ पनि केही नकेही कुरालाई लिएर असन्तुष्टि रहन्छ । यो त एउटा क्रियाशिल पार्टी हो । पार्टी सञ्चालनको क्रममा केही नकेही त्रुटी हुन्छ त्यसबाट असन्तुष्ट हुनसक्छ तर मलाई त्यस्तो लाग्दैन उहाँहरु असन्तुष्ट हुनुहुन्छ भनेर । उहाँहरुलाई पार्टीले दिएको जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ । कोही जिल्लामा हुनुहुन्छ । कोही केन्द्रमा हुनुहुन्छ । सबै आआफ्नो काममा व्यस्तहुनुहुन्छ ।

पार्टी एकीकरणको सन्दर्भमा तपाईका पार्टीका अध्यक्ष लचिलो हुनुहुन्छ तर अन्य मधेशवादी दलहरु त्यति लचिलो हुनुहुन्न भनि देखिन्छ किन त्यस्तो ?
–अरु दलको बारेमा म केही भन्न सक्दिन तर मैले जुन कुरा सुनिरहेको छु । जनताले एउटा पनि सभासद्लाई पत्याएको छ । कुनै दलसँग एकजना पनि सभासद् छ भने त्यो आफूलाई दलको सबभन्दा ठूलो नेता मान्छन् । अरु दललाई गिन्दा पनि गिन्दैन । म पनि एउटा पार्टीको अध्यक्ष थिए । मैले अध्यक्षको लोभलालच राखिन । मैले महेन्द्रजीसँग एकीकरण गरे । यदि चाहेको भए अरु जस्तो म पनि एउटा दलको अध्यक्ष भएर बसिरहन्थे नि । तर मैले जनताको चाहना विपरित जान सकिन । जनताको माग हो मधेशमा एउटा दल होस् । सबै मधेशवादी दलहरु एकठाम होस् । र, मैले आफैबाट शुरुवात गरे । अहिले पनि दलहरु मिलाउने प्रयास भइरहेको छ तर अन्य मधेशवादी दलहरु मान्न तयार छैन । सबैलाई अध्यक्षकै चिन्ता छ । कोही कसैभन्दा कम छैन । हाम्रो पार्टी अहिले पनि अध्यक्षका लागि बाधक छैन । मोर्चामा अहिले सात पार्टी छन् । हाम्रो अध्यक्षले औपचारिक रुपमा मोर्चामा प्रस्ताव राख्नु भएको थियो कि चारवटा दल किन एकीकरण होस् म अध्यक्षका लागि बाधक बन्दिन जुन जिम्मेवारी दिनुहुन्छ त्यो म बहन गर्छु ।

एकीकरणको बाधक को हो त ?
–कुनै व्यक्तिलाई म दोष दिन्न सबै कुरा विस्तारै विस्तारै आफै आउँछ । तर म यति भन्छु एकीकरणका लागि हाम्रो दलका कुनै कारणले बाधक छैन । यो आन्दोलनपछि एकीकरणका लागि पुनः पहल हुन्छ ।

एकीकरणका कुरा त टाढाको कुरा हो, सात दलको मोर्चामा पनि एकीकृत विचार, एकीकृत धारणा आइरहेका छैन किन होला ?
–मोर्चा त एकीकृत नै छ । एकवद्ध नै छ । तर केही नेताका कारण त्यस्तो देखिएको छ । आफ्नो स्वच्छेचारी अनुसारको भनाई र गराई छ । त्यसको असर आन्दोलनमा पनि पर्छ । जनताको भावनालाई कुल्चिने काम पनि भएको छ । तर अब सच्याएर जाने कुरा भएको छ । जो जोसँग त्रुटी भएको छ त्यो सच्याएर जाने कुरा भएको छ ।

लगभग लगभग सबैबाट त्रुटी भएको छ तर सबै प्रहार राजेन्द्र महतोमाथि मात्रै किन भयो त ?
–त्यस्तो कुनै प्रहार भएको छैन । मोर्चाले ल्याउन लागेको प्रस्ताव उहाँ विराटनगरबाट नै खुलासा गर्नुभयो । त्यो त गलत कुरा हो नि त्यसैले यो समान्य कुरा हो । एउटा संगठनमा काम गरेपछि यस्तो भइरहन्छ यसबाट सचेत रहनुपर्छ । कमीकमजोरीलाई सच्याएर लैजानु पर्ने हुन्छ ।

६ महिनासम्म जुन प्रकारको आन्दोलन गर्नुभयो त्यो भन्दा अझै कडा आन्दोलन हुन्छ भन्नुहुन्छ तपाईहरु, त्यो भन्दा कडा आन्दोलन कस्तो आन्दोलन हुन्छ ?
–६ महिना चलेको आन्दोलनले काँग्रेस, एमाले र एमाओवादीले सुनेन अब रणनीतिक रुपमा कठोर आन्दोलन हुन्छ । विगतको आन्दोलनभन्दा कडा आन्दोलन हुन्छ भन्ने बुझनुस् । सरकारलाई बाध्य पार्ने खालको आन्दोलन हुन्छ । त्यसको स्वरुप धेरै हुन्छ । केही दिनपछि यो देखिन्छ । एसएलसीका कारण हामी रोकेका छौ । चैत १५ गतेदेखि आन्दोलन गर्ने कुरा थियो तर अब चैतमसान्त पछि आन्दोलन हुन्छ । बैशाखको पहिलो हप्तादेखि आन्दोलन हुन्छ ।

तपाईहरु जुन चरमको आन्दोलन गर्नुभयो त्यो सबै चरम पार भइसक्यो अब त एउटै चरम बाँकी छ त्यो हो देशबाट अलग हुने आन्दोलन अब त्यही हुन्छ कि ?
–हामीहरुले अस्त्र मात्रै प्रयोग गरेका छौ, ब्रहमास्त्र मात्र बाँकी छ । ब्रहमास्त्र भनेको देश तोड्नु होइन । हामी देश अलग गर्ने पक्षमा छैनौ । यही देशमा लडेर हामी अधिकार लिन्छौ । आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिमहरुको यत्रो जनसँख्या छ त्यो सबैसँग मिलेर हामी आन्दोलन गर्छौ र यी शासकलाई घुडा टेकाउँछौ ।

सात गते प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ, तपाईहरुले ६ गते काठमाडौमा प्रदर्शन गर्दै हुनुहुन्छ के प्रधानमन्त्रीलाई चीन भ्रमणबाट रोक्नलाई त्यो प्रदर्शन हुन लागेको हो ?
–भ्रमण रोक्ने होइन । जुन देशमा उहाँ गइरहनु भएको छ । त्यो देशको सरकारलाई त्यो जनतालाई हामीलाई भन्न चाहेका छौ कि यो सरकार हत्यारा सरकार हो । यो लोकतान्त्रिक सरकार होइन । तपाईहरु दवाव दिनुस् कि मधेशीहरुको अधिकार दिनुस् । लोकतान्त्रिक अधिकार दिनुस् भन्नका लागि हामी प्रदर्शन गरिरहेका छौ । पंचायती सरकारभन्दा पनि यो निरकुँश सरकार हो यसमा विश्वास नगर्नुस् भन्नलाई विरोध गरिरहेका छौ ।

भारतको लागि यस्तो प्रदर्शन किन गर्नुभएन त ?
–मधेशी मोर्चाका नेताहरु दिल्ली त्यही गर्नका लागि त जानु भएको थियो । यो सरकारले हामीमाथि कस्तो व्यवहार गरेको छ । कस्तो दमन गरेको छ । कसरी अधिकार खोसेको छ ती सबै कुराको जानकारी दिन नै दिल्लीसम्म पुग्नु भएको थियो । र, त्यसको रिजल्ट केपी शर्मा ओलीको भारत भ्रमणमा देखाई दियो । चाइन पनि हामी जान चाहन्छौ तर अहिले सम्भव नभएर हामीले ज्ञापनपत्र दिएर अवगत गराउँछौ । यदि प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा पनि जानु भयो भने अमेरिकालाई पनि हामीले जानकारी गराउँछौ ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..