» » उपेन्द्र यादवले भन्नुभयो, “एमाओवादीले आशा देखाएर अन्तिममा ठूलो धोका दियो ।”


पाल्पा, फागुन २२ गते। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानले आदिवासी जनजाति, मधेसी र दलित समुदायका मुख्य मुख्य मुद्दा संविधानमा सम्बोधन गर्न नसकेको बताउनुभएको छ ।

राज्यबाट हिजोदेखि पछाडि पारिएका समुदायका मुद्दा संविधानले समेट्न नसकेकाले यो संविधान असमावेशी, अन्यायपूर्ण विभेदकारी रहेको उहाँले बताउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम, मगरात प्रदेश समितिद्वारा आज पाल्पाको तानसेनमा आयोजित मगरात प्रदेश समिति घोषणा कार्यक्रममा पूर्वउपप्रधानमन्त्री यादवले नेपालको संविधान, २०७२ जारी हुनुभन्दा अघिका आधादर्जन संविधानभन्दा यो संविधान फरक नभएको बताउनुभयो ।

“काँग्रेस र एमालेको नीति नै उत्पीडित जाति र समुदायलाई अधिकार नदिनु नै हो, यो व्यवहारले पुष्टि नै गरेको छ”, उहाँले भन्नुभयो – “एमाओवादीले आशा देखाएर अन्तिममा ठूलो धोका दियो ।” वर्तमान सरकारले फुटाउ र शासन गर भन्ने नीति अवलम्बन गरेर मगरात प्रदेशलाई चारभागमा खण्डीकृत गरेको यादवको भनाइ थियो ।

मगरातदेखि लिम्बुवानसम्मका सबै पहिचान पक्षधरहरुले राष्ट्रिय आन्दोलनको स्वरुप निर्माण नगरेसम्म सरकारले माग पूरा नगर्ने यादवले बताउनुभयो ।

फोरमका वरिष्ठ नेता अशोक राईले राणाशासन र पञ्चायतकालीन शासनका उत्तराधिकारीजस्तो कार्य नेपाली काँग्रेस, एमाले र एमाओवादीले गरिरहेको आरोप लगाउनुभयो ।

नेपाललाई सात प्रदेशको खाका कोरेर नेपालको विविधतालाई सम्बोधन गर्न नभई हिजोदेखि नै राज्यसञ्चालन गरिरहेका एकै जातिको वर्चश्व थप गरेको उहाँको भनाइ थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..