» » » नेपालको स्थापनामा गोपाल वंशको योगदान

                      
– रामचन्द्र झा

राज्यहरुको उदयको क्रमसँगै विश्वमानचित्रमा सैकडौं राज्यहरुको  उदय र अन्त्य हुने गरेको तथ्य सर्वंविदितै छ । जुन राज्यको उदय सवल  जगमा र पर्याप्त आधारसहित भएको थियो, उसको अस्तित्वको ध्वजा हजारौं वर्षदेखि अद्यावधिसम्म फहराई रहेको छ । तर जुन राज्य कमजोर आधारशीलामाथि उभिएको थियो र जो आवेश र उत्तेजनामा प्रकट भएको थियो, ती राष्ट्रहरु त्यसैगरी मानचित्रबाट विलिन पनि भए ।
राज्यहरुको राजनीतिक अस्तित्वको विश्लेषण गर्दा समुच्च आधारलाई केलाउन पर्दछ । अंशलाई मात्र मात्र नियाल्दा त्यसको सर्वां¨ र सार्थक परिणाम कठिन हुन्छ । अटूट मानवशृङ्खला नै मानव इतिहास हो । राज्य विशेषको मानव सभ्यता क्रमहरु त्यहाँको सभ्यताको ‘स्तरमापक’ का आधारहरु हुन् । यद्यपि पूरातात्विक आधार एवम् अभिलेख कठिन हुन्छ  तथा विजेताहरु आफ्नो योगदानलाई मात्र यशोगान गर्न लगाउँदा त्यहाँको पुराना गौरवपूर्ण इतिहास थाहा पाउनबाट भविष्यका सन्नतति वञ्चित हुन पुग्छ । र,  एकांकी ऐतिहासिक पाटो त्यस मुलुकको अन्य सामाजिक समूह जसजसको योगदानबाट ती राज्य निर्माण भएको हुन्छ आफ्नो पूर्वजको भूमिकालाई निषेध वा ओझेल पार्दा असहज बोध गर्दछ ।

जुन राज्य वा राज्यको इतिहास जति लामो हुन्छ त्यसको अस्तित्वलाई चीरकालसम्म कायम राख्न सकिन्छ । तर टाढाको चिज देख्न त्यति सहज हुँदैन, जति नजिक सहज हुन्छ । परन्तु, राजनेता, विद्वान्, इतिहासकारहरुले आफ्नो अटूट मानव सभ्यतालाई आफ्ना सन्ततिहरु समक्ष निष्पक्ष ढंगले पस्किनु पर्दछ ।
यसै क्रममा नेपालमा राज्यको उदयबारे इतिहासमा भएका निष्पक्ष योगदानहरुलाई तोडमोड गरेर गरिएको छ, जसको कारण राज्यको अस्तित्वमाथि यदाकदा संकट देखापर्ने गरेको छ ।

एकातिर केही व्यक्तिहरु एकांकी ढंगले खासगरी मधेश वा मुलुकको समतल भूभागलाई आफ्नो एकांकी अध्ययनद्वारा पृथक रहँदै आएको विषय जोडदार रुपमा प्रस्तुत गरिरहेका छन् भने अर्कोतर्फ अहिलेका संस्थापन वा शासकवर्ग नेपालको वास्तविक इतिहासलाई ढाकछोप गरी आफ्नो समुदायको सानो भूमिकालाई आफ्ना स्तुतिकर्ताहरुमार्फत यसोगान गर्न लगाउने सर्वविदित नै छ ।

नेपाली इतिहासका लेखकहरुमध्ये पनि कतिपयले पृथ्वीनारायण शाहको राज्यविस्तारको यात्रालाई विशेष जलप लगाई प्रस्तुत गर्ने गरेको (वि.सं. १८०१) मानौ यहीबाट नेपाल राज्यको जन्म भएको हो कि भान पार्ने गरी तिनकै यशोगानमा सम्पूर्ण सामथ्र्य खर्चेका छन् । उक्त कालभन्दा पहिलाका सम्पूर्ण ऐतिहासिक घटनाहरुलाई नेपत्थ्यमा पन्छाउने प्रयास गरेका छन् । जब कि उक्त कालभन्दा हजारौं वर्ष पूर्व नेपाल नामक राज्य अस्तित्वमा आइसकेको थियो ।

गोपाल वंश एवम् नेपाल राज्य 

‘गोपालराज वंशावली’ नाम पुस्तक एवम् ज्ञानमणि नेपाल, प्रा.डा. रामप्रसाद उपाध्याय, डा. सुुरेन्द्र केसीलगायत नेपालका प्रायः जसो इतिहासकारहरुले ‘गोपालवंशी’ हरु नै नेपालको संस्थापक हुन् भन्ने तथ्य स्वीकार गरेका छन् ।

काठमाडौं उपत्यका पानीपोखरीको रुपमा रहेको एवम् चोभारडाँडाबाट पानी बगिसकेपछि सम्पूर्ण उपत्यका घाँसे मैदानको रुपमा विकसित भएपछि उपत्यकाको तल्लो तटीय क्षेत्र जो ‘विदेह गणराज्य’ को रुपमा हजार वर्षभन्दा पहिलेदेखि अस्तित्वमा रहेको थियो । त्यस ठाउँका पालकहरु आ–आफ्नो पशुहरुको लागि उपयुक्त चरणक्षेत्रको खोजीको क्रममा उपत्यका प्रवेश गरी आफ्ना पशुहरुसँगै आफू बस्न थाल्दा यहाँ ‘पशुपतिनाथ’ को स्थापना ‘नेपाल’ नामक राज्यको नामाकरण राज्यव्यवस्थाको सूत्रपात, वस्ती बसाल्ने कामको थालनी आदि काम प्रारम्भ भएको हो ।
कैली गाई ‘ने’ मुनि एवम् ‘गोपाल’ सरदारका किंवदन्तीहरु 

वाग्मतीको किनारामा रहेको एउटा पत्थरमाथि कैलीगाईले सधैं दूध चढाउने घट्ना देख्दा गोपाल सरदारले त्यस पत्थरलाई उत्खनन् गर्न खोज्दा एउटा अलौकिक प्रकाश उत्पन्न हुँदा सरदार त्यहाँ भस्म हुन पुगे । त्यसपछि उसको गुरु ‘ने’ नामकले त्यस सरदारको छोरालाई पशुपतिनाथको स्थापना, नेपाल राज्यको स्थापना।

राज्यव्यवस्थाको सूत्रपात र व्यवस्थित वस्ती बसाल्ने कामको सुरवात गर्न लगाए र उसलाई शासक घोषित गरेका थिए । ‘भुक्तमान’ भन्ने ‘भूमिगोप’ जो पहिलो शासक भए, ८६ वर्ष, जयगुप्त ७३ वर्ष ३ महिना, धर्म गुप्त ९१, हर्ष गुप्त ६७, भीम गुप्त, मणि गुप्त ३७ वर्ष, विष्णु गुप्त ४६ वर्ष, जीत गुप्त ७१ वर्ष, यस वंशका राजाहरु ५२१ वर्ष राज्य गरेका थिए । (नेपालको प्राचीन एवम् मध्यकालीन इतिहास प्रा.डा. रामप्रसाद उपाध्याय) पृ.सं. १६) (नेपालको ऐतिहासिक रुपरेखा डा. सुरेन्द्र केसी पृ.सं. ९)
‘गोपाल वंशावली’ नेपालको सांस्कृतिक इतिहास–डोलराज काफ्ले
(नेपाल परिचय) उप–प्राध्यापक निर्मला पोख्रेल पृ.सं. ३३
ज्ञानमणि नेपाल– नेपालको प्राचीन इतिहास

गुप्त थर र गोपाल वंश ः गोपाल वंशीहरुको थर प्रायःजसो नेपाली इतिहासकारहरुले गोपालवंश यो थर ‘गुप्त’ भनी लेखेका छन् । गुप्त थर प्रायः वैश्य समुदायको हुने गर्दछ, यादव वा गोपालवंशीहरु थर प्राय ‘गोप’ पुरानो जमानामा लेख्ने गरिएको अतः उक्त थर ‘गोप’ हुनुपर्दछ ।

‘सीपवंशी’ गोपालहरु द्वारिका वा मथुराबाट त्यतिबेला नेपाल आई बस्ने इतिहासकारहरुले त्यत्रा गंगालगायत ठूला नदीहरु तरेर उपत्यका पस्नु तर्कसंगत देखिँदैन बरु त्यसको ठाउँमा ‘विदेह गणराज्य’ वा मिथिलाबाट ती पशुपालकहरु हुनुपर्दछ किनकि ‘मिथिला’ को उदय ‘नेपाल’ को उदयभन्दा १००० देखि १५०० वर्षपूर्व नै भइसकेको तथ्य इतिहासकारहरुले उल्लेख गरेका छन् । ज्ष्कतयचथ या तष्चजगत मा विदेह गणराज्यका वाइसौं राजा शिरहकजको भाइ कुशध्वजलाई नेपाल वंश सम्वद्ध भनिएको छ । राज्यको तत्कालीन सीमाबारे पूर्वमा दूधकोशी, पश्चिम त्रिशूली, उत्तर गोसाईंकुण्ड, दक्षिणमा चित्लाङसम्म फैलिएको थियो । प्रमुख वस्तीहरुमा वर्तमान कीर्तिपुर, थानकोट, बल्खु, टिस्टुङ, पालुङ, साँखु, मणिचूड चाँगु आदि यस बखतका वस्ती भएका क्षेत्रहरु थिए ।

वैदिक सभ्यता ः वैदिक सभ्यताको उन्नतिसँगै पशुपालन एवम् कृषि सभ्यताको प्रचूर यात्रामा विकास भएको इतिहासकारहरुले उल्लेख गरेका छन् । ‘शिवसभ्यता’ ‘शिव पशुपति’ वृषम–त्रिशूल सहित देवता नागदेवता, लिंगपूजा, पशुपूजा आदि सभ्यताको उत्तर कालका विषयहरु हुन् जुन मान्यताअनुरुप पशुपतिरुपको शिवको पूजा गर्दा आफ्नो पशु एवम् वालीको रक्षाको उद्देश्य हुनुपर्दछ ।
वैदिक ‘सिन्धुसभ्यता’ हिन्दी पुस्तक, लेखक किरण कुमार थपलिया, संकटाप्रसाद शुक्ला पृ.सं. १७८
गोपालवंशीहरुले मातातीर्थबाट आफ्नो राज्य सञ्चालन गरेका थिए ।

महिषपाल वंश ः जीतगोप निःसन्तान भएपछि महिषपालहरुको हातमा नेपालको सत्ता आइपुग्यो । ‘गोपालवंशावली’ ले महिषपालहरु १६१ वर्ष २ महिना शासन गरेको देखाएको छ । जसमा राजा श्रीवातसिंह ४९ वर्ष, जसमा राजा श्री वातसिंह ४९ वर्ष, राजा जय सिंह ७१ वर्ष २ महिना, राजा त्रिभुवन सिंह ४१ वर्ष ३ जनाले क्रमैसँग राज्यसञ्चालन गरे । उनीहरुको बारेमा नेपाली इतिहासकारहरुले क्षेत्रीय वंशको भने पनि उनीहरु ग्वाला नै थिए । किनकि, यदुवंशीहरु चन्द्रवंशी क्षेत्रीय हुन् भन्ने पुराणमा वर्णित छ ।
महिषपाल अहिर पेसाका रुपमा फरक देखिए पनि मूलतः यिनीहरु यदुवंशी नै हुन्, अहिले पनि यिनीहरुलाई ग्वाला, गोप, अहिर, गोपालवंशी, यदुवंशी आदि नामले नै चिनिन्छ ।
महिषपालहरुको मूल थलो विदेह गणराज्य नै रहेको बुझिन्छ । डा. सुरेन्द्र केसी नेपाली ऐतिहासिक रुपरेखा पृ.सं. १०
नेपालको प्राचीन र मध्यकालीन इतिहास प्रा.डा. रामप्रसाद उपाध्याय प.सं. १७–१८
कपिलवस्तुका शाक्यहरु एवं नेपाल

दिग्धनिकाय एवं सुमंगल विलासिनी नामक प्रसिद्ध वौद्ध ग्रन्थ अनुसार आफ्ना कान्छी रानीका छोराहरुलाई राज्य दिन कौशल राज्यका राजाले आफ्ना राज्यबाट जेठी पट्टीका पाँच राजकुमारीहरु र चार राजकुमारहरुलाई निष्कासन गरी दियो । उनीहरु उत्तर हिमालय तर्फ लाग्ने क्रममा जंगलमा तपस्या गरी बसेका कपिलमुनिसँग उनको भेट भयो । कपिलमुनिको आदेश अनुसार उनीहरु शकवृक्षको जंगल फडानी गरी त्यहाँ वस्ती बसाले । शकवृक्ष भएको जंगल फडानी गरी वसेको वस्तीका कारण उनीहरु शाक्य रहन गएको हुनु पर्दछ ।

पछि शाक्य गणराज्यको नामबाट उनीहरुले राज्यव्यवस्था संचालन गरे कपिलमुनिको आश्रम भएकोले ती ठाउँको कपिलवस्तु नाम रहन गएको अनुमान गर्न सकिन्छ ।  यसको सीमाना पूर्वमा रोहिणी नदी, पश्चिममा राप्ती नदी, उत्तरमा हिमालय, दक्षिणमा पवा कुशीनगरसम्म फैलिएको थियो । शाक्य गणराज्य पछि वज्जी महासंघसँग मिसिएर सहशासन गरेका थिए । त्यसबेला सडक मार्गद्वारा लुम्बिनी लाई पावा कुसिनगर, वैशाली र राजगृहसँग जोडिएको थियो ।

मगध र कौशललाई जोड्ने बाटो कपिलवस्तु लुम्बिनी र रामग्राम (कोलोग्राम) हुँदै गएको थियो । कपिलवस्तु, सुसुमार, शिलावती, शककर इत्यादिनामक शहरहरु पनि थिए ।
चिनियायात्रीहरु  फाहियान युवानचाङको वर्णनबाट त्यस ठाउँ उत्कृष्ट कला र संस्कृति, वास्तुकला रहेको पाइन्छ । गौतम बुद्ध महानिर्वाण प्राप्त गरेको २९४ वर्ष पछि ई.पू. २४९ मा प्रियदर्शी अशोकले त्यस ठाउँको भ्रमण गरेका थिए  जसमा उनका गुरु उपगुप्त पनि सँगै थिए ।

 कौशल राज्यका राजा विरुद्धक जो प्रसेनजीतका छोरा थिए, जोसँग रोहिणी नदीको पानीको बाँडफाँडको झगडा चलेको थियो र उसले शाक्य गणराज्य माथि आक्रमण गरी दिए जसमा ठूलो नरसंहार भयो । उक्त आक्रमणबाट आक्रान्त शाक्य एवं कोलियहरु भागेर उपत्यका प्रवेश गरे र यसै क्रममा शाक्यहरु समेत नेपाली राष्ट्रियता निर्माणमा संलग्न भए र पछि ती भाग नेपालको अभिन्न अंगको रुपमा रहँदै बौद्धकालीन गौरवपूर्ण अध्यायहरु नेपालको गौरव वृद्धिमा ठूलो योगदान गरी रहेको विषयलाई कसैले नकार्न सक्दैन ।
विदेह गणराज्य र नेपाल

गण्डक नदीको पूर्वको भाग ‘वैश्वस्त मनु’ का ‘इच्छाकु’ का छोरा ‘निनि’ लाई ‘सदानीरा’ नदी अर्थात् नाति गण्डकभन्दा पूर्वको भागलाई बसोबास एवम् खेतीयोग्य बनाई एक हिसावले ‘निमि’ लाई अयोध्याबाट निर्वासित गरी पूर्वतिर पठाइयो र उनी कडा परिश्रमपछि ‘गण्डक’ पूर्वको दलदल भूमिलाई बसोबास योग्य बनाए । औपचारिक रुपमा राज्यसञ्चालन गर्न हेतु, ‘राजसु’ यज्ञको आयोजना गरी आफ्ना कुलगुरु ‘वशिष्ट’ लाई उक्त यज्ञकर्म सम्पादन गर्न आग्रह गर्दा उनी ‘इन्द्र’ कहाँ जान अनिवार्य भएको बहाना बनाई पन्छिएका थिए । तत्पश्चात् ‘गौतम ऋषि’ द्वारा उक्त यज्ञ सम्पादन गराइएको थियो ।

सो विषय ‘वशिष्ट’ ले थाहा पाउँदा उनले ‘निमि’ लाई देहरहित हुने श्राप दिए र सो ‘श्राप’ पश्चात् उनी देहरहित भाउको किंवदन्ती छ । उक्त अवस्थापछि गौतम ऋषिद्वारा निमीको शरीर मन्थनपछि एउटा बालक प्रकट भयो । ‘मन्थन’ बाट उक्त बालकको जन्म भएकाले त्यसको नाम ‘मिथि’ राखियो त्यसै ‘ला’ प्रत्यय लगाउँदा ‘मिथिला’ बनेको हो । विना पिताको बालकको जन्म भएकोले त्यसको नाम ‘जनक’ राखियो । त्यहीदेखि ‘विदेह गणराज्य’ वा ‘मिथिला’ वा ‘तीरहुत’ तीनतिर नदीले घेरिएकोले यो भूभागलाई त्यसै रुपमा चिनिन थालियो ।

‘जनक’ वंशका बाइसौं राजा शिरध्वजको भाइ ‘कुशध्वज’ लाई दिएको विषय ‘मिथिलादर्पण’ ‘रासविहारी लालदास’ को कामेश्वर सिंह विहार हेरिटेज–८ को पृ.सं. ७ मा उल्लेख गरेको देखिन्छ । तर त्यसबारे विस्तृत विवरण खोज्न अझै बाँकी नै रहेको देखिन्छ ।

नेपाली राष्ट्रियता विकासको गोरेटोहरु ‘विदेह गणराज्य’ हुँदै आएको देखिन्छ, चाहे त्यो गोपालवंशीहरुद्वारा ‘महिषपाल’ हरुदेखि लिच्छवी, ‘सेन वंशी’ तथा कर्नाटवंशी समेतको आगमन मिथिला क्षेत्र हुँदै कला–संस्कृति, वास्तुदेखि नेपालको निर्माणमा समेत मिथिला क्षेत्रको वृहद् योगदान रहँदै आएको छ ।

किरात वंश एवम् नेपाल 

महिषपालहरुको पतन यलम्बरको नेतृत्वमा किरा“तहरुको आक्रमणपछि नेपालमा किरा“तहरुको शासनको थालनी भएको देखिन्छ ।

‘किरात’ हरुको शासन ई.पु. १००० वर्षको सेरोफेरोमा रहेको हुनुपर्दछ । ‘महाभारत’ युद्धमा ‘किरात’ हरु पाण्डवको पक्षमा युद्धमा संलग्न भएका थिए । गौतम बुद्धको समयमा र मगधमा चन्द्रगुप्त मौर्यको शासनकालमा ‘नेपाल’ को शासक किरातहरु ने रहेका थिए ।

कर्कपेट्रिक राइट्सजस्ता इतिहासकारहरुले २७ देखि २९ सम्म शासकहरुको नाम उल्लेख गरेका छन् । यलम्बर, पवी, स्कन्ध, वलम्ब, हुती, हुमती, जितेदास्ती, गलिज, पुस्क, सूर्यमा, पप, बुङ, स्वनन्द, स्थुंको, जिघ्रो, नाने, लुक, थोर, थोकी, वर्म, गुन्ज, पुस्क, केशु, सुज, संस, गुणम्, खिम्बु, पटुक, गस्त िआदि नामका राजाहरुले शासन गरेका थिए ।

किरातकालीन शासन व्यवस्था तुलनात्मक रुपमा राम्रो थियो । शासनको स्वरुप राजतन्त्रात्मक भए पनि अड्डा अदालतहरु, कुथर, सुल्त्नी, लिगवन्त, मापचोकजस्ता राज्यसञ्चालनका सोपानहरुद्वारा शासनलाई विकेन्द्रित रुपमा व्यवस्था गरिएको थियो । परराष्ट्र सम्बन्धको सर्वप्रथम किरात कालमा प्रारम्भ भएको देखिन्छ । दक्षिणतिर मगध साम्राज्यसँग विम्वसार, र अजातशत्रुसँग राम्रो सम्बन्ध कायम गरेका थिए । व्यापार व्यवसायमा पनि मगधसँग नेपालमा निर्मित लत्ताकपडाको लोकप्रिय व्यापार सञ्चालन गरेको कुरा कौटिल्यको अर्थशास्त्रमा उल्लेख गरिएको छ । मूर्तिकलाको विकास किरातकालदेखि फस्टाएको र अद्यावधि तीहरु यथावत छन् ।

कोलिय, लिच्छवी, शाक्य, विदेह, मल्ल, आदिहरुको यहाँ राज्यस्थल रहेको पनि इतिहासमा उल्लेख छ । सामाजिक, आर्थिक अवस्था पनि सुदृढ रहेको इतिहासमा उल्लेख भएको पाइन्छ ।
किरातहरु आठ सय नौ सय वर्ष शासन सञ्चालन गरेको अनुमान गर्न सकिन्छ । किरातहरुको शासन अन्ततः आन्तरिक अव्यवस्थाका कारण पतन भएको बुझिन्छ ।

लिच्छवीहरुको नेपालमा उदय 

किरातहरुभन्दा पनि नेपालमा लिच्छवीहरुले शासन सञ्चालन गरेका थिए । ‘बज्जी महासंघ’ भित्र लिच्छवी विदेह, शाक्य, मल्ल, काशी, कौशल रामग्राम (कोलिय) संघहरु संघीय गणतन्त्रात्मक व्यवस्थामा आबद्ध भई सहअस्तित्वको आधारमा सबै शासन गरेका थिए । चन्त्रगुप्त मौर्यकै शासनकालदेखि मगधको शक्ति बढेर उदित भएको थियो अजातशत्रु आक्रामक स्वभावको शासक थिए, र उसले लिच्छवी माथि आक्रमण गरी तिनीहरुलाई पलायन हुन विवश तुल्यायो ।

र, उनीहरु ‘विदेह’ हरु सँगै नेपालमा शरण लिन आइपुगे । किरातहरु त्यतिबेला कमजोर भइसकेकाले लिच्छवीहरु किरातहरुलाई पराजित गरी नेपालमाथि शासन गर्न थाले । उक्त समय इ.पु. २ सय वर्ष लगभगको समय हुने कुरा इतिहासविद्हरुले अनुमान गरेका छन् ।
लिच्छवीहरु पहिलेको मुजफर्पुर (विहार) को वैशालीका थिए । जसको त्यहाँको अवशेषले अद्यावधि गौरवशाली इतिहासलाई स्मरण गराउँछ । सम्राट अशोक काठमाडौं आउँदा आफ्नो साथमा छोरी ‘चारुमती’ लाई पनि ल्याएका थिए । जसको विवाह नेपालकै क्षेत्रीय युवक ‘देवपाल’ सँग गरिदिएका थिए । सँगसँगै ‘देवपत्तनम’ नामक सुन्दर शहर पनि अशोकले नै बसाएका थिए । जो मगधको राजधानी पटलीपुत्र भन्दा पनि सुन्दर थियो ।

उक्त कालभन्दा ६ सय वर्ष पछि चिनीयात्री एफाहियानले देवपतनको सुन्दरताको चर्चा गरेका छन् । गंगावारि पारी भएकाले लिच्छवीहरुसँग रहँदै आएको वैवाहिक सम्बन्ध नेपाल आउँदा पनि कायम रहेको बुझिन्छ ।
लिच्छवीहरु आठ सय वर्षभन्दा बढी समयसम्म नेपाल माथि शासन गरेका थिए । यद्यपि मानदेव पूर्व पनि जयदेवलाई पशुपतिमा लेखिएको एक अभिलेख अनुसार लिच्छवीका प्रथम शासकका रुपमा लेखिए पनि मानदेवलाई नै प्रथम प्रमाणित शासकको रुपमा चाँगुनारणको अभिलेखअनुसार मानिएको छ । वसन्तदेव, अंशवर्मा, नरेन्द्रदेव, वृषभदेव, शंकरदेव, धर्मदेव, गुणकामदेव आदिको शासकहरुले शासन गरेका थिए ।

लिच्छवीकालीन प्रशासन व्यवस्था 

केन्द्रीय प्रशासन, प्रादेशिक प्रशासन, स्थानीय प्रशासन, न्यायिक प्रशासन, सैनिक प्रशासनलगायत शासन प्रबन्धहरु वैज्ञानिक र व्यवस्थित रहेको थियो । मुद्राको प्रचलन पनि सर्वप्रथम मानदेवकै शासनकालदेखि भएको हो । यति मात्र होइन उक्त कालखण्डमै ऐतिहासिक अभिलेखीकरण, भवन निर्माणहरु मूर्तिकलाका साथै साहित्य, संस्कृतिक संगीत एवम् कला पनि उच्चस्तरमा विकास भएको पाइन्छ । विकास निर्माणका कामहरु पति त्यतिबेलादेखि थालनी भएको बुझिन्छ ।

चीन र भारतसँग दौत्य सम्बन्ध पनि स्थापित हुनाले  कुटनीतक सम्बन्धलाई पनि विकास गरेको पाइन्छ । त्यसै गरी आर्थिक रुपमा कृषि व्यवस्था, पशुपालन, विभिन्नखाले स्वदेशी उत्पादनलगायतको क्षेत्रमा समेत विकास गरियो । साथै नेपालमो पहिलो पटक भन्सार र करको पनि व्यवस्था सूत्रपात भयो । समग्रमा काणक्यको कौटिल्यकालीन राजनीतिक अर्थशास्त्रको समग्र प्रबन्धको प्रछाया नेपाली राज्य व्यवस्था माथि परेको पाइन्छ । त्यसैलाई मोडेलको रुपमा मानिँदै आएको छ ।

लिच्छवीकालीन नेपालको सीमा 

लिच्छवीकालमा नेपालको सीमाको पनि निकै नै विस्तार भएको देखिन्छ । लिच्छवीका तेह्रौं राजा वृषभदेवकी छोरीसँग गुप्तवंशीय चन्द्रगुप्त प्रथमको विवाह भएको थियो जसको छोरा समुद्रगुप्त दुवै बाबुछोरा अत्यन्त वलशाली शासक थिए उनीहरुको सहयोगमा नेपालको सीमा अद्भूत रुपमा विस्तार भएको थियो । पूर्वमा आसामको कामरुप कामख्या, पशिचममा कास्मिर र उत्तरमा तिब्बत र दक्षिणमा गंगासम्म ४औं शताब्दीदेखि छैठौं शताब्दीसम्म थियो । त्यसपछि पूर्वमा टिस्टा र पश्चिममा सखकालेक र उत्तरमा तिब्बत एवम् दक्षिणमा गंगासम्म खुम्चन पुगेको तथ्य भारतीय इतिहासकारहरुले उल्लेख गरेका छन् । अहिलेको नेपाल लिच्छवीकालको नेपालको चतुथांश पनि छैन ।

नेपालमा शाहवंशीयहरुको उदय 

भारतीय इतिहासका राधा कुमुद मुखर्जीद्वारा लिखित प्राचीन भारत पुस्तकका अनुसार सेनवंशको संस्थापम सामन्त सेन भन्ने व्यक्ति जसको जन्म बंगालीको रढ नामक स्थानमा भएको थियो र उनी ब्राह्मण क्षेत्रीय थिए । १२ औं शताब्दीमा विजय सेन नामक व्यक्तिले धेरै प्रदेशहरु जितेर सत्ताको निर्माण गरेका थिए । र विजय सेनले नेपाल मिथिलाको भूभागमाथि आक्रमण गरी कब्जा गरेका थिए ।

विजय सेनका छोरा बल्लाल सेन १६६५ इश्वीदेखि ११८५ सम्म शासक गरेका थिए । त्यसा राढ, वीरेन्द्र वागदी, वंग र मिथिला सँगसँगै नेपालमा पनि शासन गरेका थिए । लक्ष्मण सेनको शासनकालमा साहित्य, संगीतको निकै विकास भएको पाइन्छ । प्रसिद्ध संस्कृत गीत गोविन्दका रचयता जयदेव, कोकार, छलायुद्ध, पवनदूतजस्ता साहित्यकारहरुले पनि योगदान दिएका थिए ।

अर्को ऐतिहासिक तथ्यअनुसार सेनवंशीहरु चिचौगढका सिसौदीया वंशीय राजपूत थिए । वंगाली सेन र सिसौटिया वंशज बीचमा कहाँनिर फ्युजन भएको हो इतिहासका पुस्तकहरुमा प्रष्ट हुन सकेको छैन ।
लोहाङसेन, राधव सेन, हारहर सेन, शुभसेन, मानिक सेन, हेमकर्ण सेन, दिगबन्धन लगायत सेनवंशीय शासकहरुले शासन गरेका थिए । र, यिनीहरुको राज्यको सीमा पूर्वमा मोरङ विजयसुर चौदम्बी, पश्चिममा अर्घाखाँची र गुल्मीस्म्म, बीचको मकवानपुरगायत भूभाग रहेको थियो । यिनीहरुको शासनकाल विक्रम सम्वत् १३८१ देखि १८३१ सम्म रहेको थियो ।

यतातिर उपत्यकामा मल्लहरुको शासन विक्रम संवत् १२७४ मा अरि मल्लको रुपमा शुरुआत भएको पाइन्छ । यता पृथ्वी नारायण शाहको राज्य विस्तार अभियान विक्रम सम्वत् १८०१ असोज ५ का दिन नुवाकोटमा आक्रमण गरी प्रारम्भ भई क्रमशः १८०३ मा कान्तिपुरमा विजय, कीर्तिपुरमा विजय, १८२६ मंसिर १ मा भक्तपुरमा आक्रमण र पूर्वको एकीकरण अभियान १८२९ मा चौदण्डी विजयपुरको आक्रमण हुँदै १८३१ मा पृथ्वीनारायण शाहको मृत्यु भएको पाइन्छ ।

कनाटवंशीयहरुको तराई क्षेत्रमा उदय 

भारतको उज्जैनका चालुक्य वंशीय शासक विक्रमादित्यको छैठौंले आफ्नो शासनकालमा सुदूर दक्षिणसम्म आक्रमण गरी भारतको सुदूर दक्षिणी भूभागलाई शासनको अधिनमा ल्याएका थिए । सँगसँगै उत्तरतिर तत्कालीन मगध साम्राज्यको अधीनमा रहेको गंगाभन्दा उत्तरका क्षेत्रहरु माथि आत्रमण गरेका गरेर मगध साम्राज्यबाट ती क्षेत्रलाई कनाटवंशीयहरुले आफ्नो अधीनमा ल्याएका थिए । र, उनीहरुले सम्वत् ११५४ तदनुसार इश्वी १०९७ मा तिरहुत राज्यको स्थापना गरेका थिए ।

जसअन्तर्गत गंगाभन्दा उत्तरका तत्कालीन मुजफ्पुर, पूर्णिया, दरभंगालगायतका पुराना जिल्लाहरु र नेपालको मोरङदेखि पर्सासम्मका भूभाग (जो तीन तिरले पश्चिम गण्डकनदी, पूर्वकोशी नदी र दक्षिणमा गंगा नदीले घेरिएका) कारण नै ‘तिरहुत’ नामाकरण गरिएको थियो । तिरहुत शासनको प्रथम शासकका रुपमा नान्यदेव रहेका थिए । क्रमशः गंगादेव, अर्जुनदेव, रामासिंह देव र अन्तिम शासक हरिसिंहदेव थिए ।

तिरहुत राज्यमा ७ कनाटवंशीय राजाहरुले राज्य गरेका थिए । उनीहरु सैन्य शक्तिको हिसाबले सबल हुनाका साथै वीरता र विद्वता दुवैमा निपूण थिए । उनीहरुका प्रकाण्ड विद्वान्हरु जुदिरेश्वर, गुणेश्वर, चन्द्रेश्वर ठाकुरहरु मन्त्री बनेका थिए । ती विद्वान् मन्त्रीहरुले नै मैथिली वर्ण ‘रत्नावली’ लगायत थुप्रै पुस्तक रचना गरी मैथिली साहित्यको यात्रालाई प्रारम्भ गरेका थिए ।

भनिन्छ ‘वर्णारत्नाकर’ भन्ने पुस्तक भारोपेली भाषा परिवारकै प्रथम ग्रन्थ हो । जसको रचना ज्योतिरेश्वर ठाकुरले गरेका हुन् । ऐवश्वर्य र वैभवको हिसाबले पनि सिमरौनगढको राजधानी थियो, अत्यन्त सम्पन्न थियो । जसमाथि गयासुद्धिान तुग्लकले १३८२ माघ तृतीयाका दिन आक्रमण गरी थुप्रै सम्पत्तिहरु लुटेर लगेका थिए । यिनीहरुको वीरताको परिचय केबाट पनि झल्किन्छ भने ‘मगध’ साम्राज्यमाथि आक्रमण गरी ‘मिथिला’ को भूभाग आफ्नो हातमा लिएका थिए भने सँगसँगै यतातिर काठमाडौं उपत्यकामा मल्लवंशीयहरुको आन्तरिक विग्रहमा सहयोग स्वरुप सम्वत् १३०१, १३०२, १३५६, १३६७, १३७०, १३७१ गरी ६ पटक आक्रमण गरेका थिए ।

यस वंशको पतन गयासुद्धिन तुग्लकद्वारा गरिएको आक्रमणमा राजा हरिसंहदेव घाइते भई दोलखाको तीन पाटनमा गएर उनको मृत्यु भएको थियो र मल्लवंशका पछिल्लो रुद्र मल्लकी छोरीसँग हरिसिंह देवका छोराको विहे भयो । तत्पश्चात् कनाटवंशीयहरु मल्लको परिचयबाट पछिल्लोकालमा आफूलाई प्रस्तुत गर्न थालेको पाइन्छ ।
यसरी नेपालको समग्र ऐतिहासिक घटनाहरुको सिंहावलोकन गर्दा लगभग ३६ सय वर्षको इतिहास मध्ये शाह वंशको योगदान २ सय ६१ वर्षको २०६३ साल सम्म रहेको पाइन्छ । त्यसका अलावा तराईवासी र मधेसीहरु र आदिवासी जनजातिहरु ३ हजार ३ सय ५० वर्षको नेपालको राष्ट्र निर्माणमा तराईवासी मधेसी आदिवासी जनजातिहरुको रगतले ढुंगा माटो रंगिएको छ ।

 र, समग्रतामा नेपाल राष्ट्रको शिलान्यास देखि राज्य व्यवस्थाको प्रबन्ध तथा विस्तारसम्ममा मधेसी एवम् आदिवासी जनजाति छँदैछ । तिनीहरुको नेपाल राष्ट्रको निर्माणमा प्रमुख भूमिका मात्र होइन स्वामित्व समेत रहेको पाइन्छ  त्यसअनुसार सम्पूर्ण राष्ट्र हाम्रो योगदानबाट नै बनेको हो । यसको कुनै खास भूभागमाथि मात्र हाम्रो दावी छैन । सम्पूर्ण नेपाल हाम्रो पुर्खाले आर्जेका छन् हाम्रो दाबी सम्पूर्ण नेपालमाथि हाम्रो संस्थापकीय कुरा हो । डा. सिके राउतले मधेशको इतिहास नामक पुस्तक लेख्दा मनुस्मृतिको अध्याय २ स्लोक ४१ अनुसार मधेसको सीमाबारे उद्यरण प्रस्तुत गरेकैबाट प्रष्ट देखिन्छ ।

हिमवद्धिन्ध्ययो मध्ये यत्प्रगिवनशनदपि ।
प्रत्येक प्रयागाच्च मध्यदेश प्रकीर्तित । 

अर्थात् हिमालदेखि विन्ध्य पर्वतको बीच तथा पूर्वमा प्रयाग, पश्चिममा विनाशन (सरस्वती नदीसम्म फैलिएको भूभाग नै ‘मधेस’ हो । जसअनुसार नेपालको वर्तमान भूमिमध्ये नयाँ मुलुकका केही भागबाहेक कुनै मधेसभित्र पर्दैन । जहाँसम्म मम्झिम देशको विषय हो त्यो मल्ल गणराज्यको बारेमा उल्लेख भएको देखिन्छ । जुन गोरखपुरको वरिपरि पर्छ ।

जहाँसम्म गण्डकभन्दा पूर्वको भूभाग वैवश्वत मनुका नाति इच्छाकुका छोरा ‘निभी’ नामक व्यक्तिलाई दिएको सन्दर्भ छ । त्यसको वास्तविकता अलग हो । निमिलाई अवध राज्यबाट निर्वासित गरी गण्डक पूर्वको भागमा जान विवश पारिएको थियो । जो भूमि खेतीयोग्य पनि थिएन र, दलदल भूमि रहेको कारणले अत्यन्त कठिन प्रयासपछि त्यस भूमिलाई कृषियोग्य एवम् बसोबास योग्य यत्रतत्र आगो बाली बनाइएको थियो । तत्पश्चात् उनी एउटा विशाल यज्ञको आयोजना गरेका थिए, जसमा आफ्ना कलगुरु वशिष्ठलाई यज्ञ सम्पादन गराइदिन अनुनय गरेका थिए ।

तर, उनी इन्द्रकहाँ जानु अनिवार्य भएको भनी वहाना बनाई यज्ञबाट पन्छिएका थिए र पछि गौतम ऋषिद्वारा त्यो यज्ञ सम्पादन गराइएको थियो । सो विषय वशिष्ठले थाहा पाउँदा उनले निमीलाई रिसाएर देह रहित हुने श्राप दिए । त्यो स्राप पाउनासाथ उनको शरीरबाट आत्मा निस्केको किंवदन्ती छ । र, उक्त अवस्थामा गौतम ऋषिले राजा निमीको शरीर मन्थन गरी त्यसबाट एउटा बालक उत्पन्न भयो । मन्थनबाट नै उक्त बालकको उत्पत्ति भएको कारण त्यो बालको नाम ‘मिथि’ राखियो । जसबाट ‘मिथिला’ बनेको हो । विना मातापिताको बालक रहेकाले त्यो बालकको नाम ‘जनक’ राखियो । त्यहीदेखि विदेह गणराज्य वा मिथिला र पछि तिरहुत आदि नामबाट यो भूभागलाई चिनिन थालियो । यसरी डा. सिके राउतका तथ्यहरु, तथ्यसंगत भन्दा पनि भावनामा बगेर इतिहासमा हुँदै नभएको विषयहरु काल्पनिक रुपमा उल्लेख गरिएको छ । र, नेपाल राज्यको निर्माणमा मधेसीहरुको भूमिकालाई झन् उहाँले संकुचित गरी तराईसम्म सीमित  गरेको देखिन्छ ।

तराईवासीहरु नै नेपाल राष्ट्रका संस्थापक 
२०६२–०६३ को दोस्रो जनआन्दोलनपछि अन्तरिम संविधानमा संघीयता, गणतन्त्र र समावेशितालगायतका जनआन्दोलनका गन्तव्यहरुलाई मुख्य राजनीतिक दलहरुले बेवास्ता गर्दा ‘मधेश विद्रोह’ द्वारा आफूप्रति हुँदै आएको विभेदप्रति आक्रोस व्यक्त गर्दै तराईवासी जनताले शतकभन्दा बढी होनहार आफ्ना सपतुहरुलाई शहादत दिएका थिए ।आज पनि आफूप्रति हुँदै आएको अपमान, उपेक्षा र वहिष्करणप्रति विद्रोही मानसिकता शान्त हुन सकेको छैन । दोस्रो संविधानसभापछि उपरोक्त विभेदमा कमी आएन बरु त्यो उन्मत्त भएर अझ कुतर्कहरुद्वारा अभिजात्य राष्ट्रवादी आकांक्षालाई व्यक्त गर्न थालेका छन् । यस परिप्रेक्ष्यमा तराईवासी जनसमुदाय आक्रोसित हुनु स्वाभाविक छ । विगतमा आफूप्रति अपमानको मनसाय साथ प्रयोग गर्ने गरिएका ‘मदीसे’, ‘मधेशिया’ ‘मर्सिया’ शब्दावलीप्रति समतल मैदानी इलाकाका वासिन्दाहरु ‘मधेसी’ नामावली गर्वसाथ स्वीकार गरी अपमानितहरु बीच वृहत्तर एकताको सन्दर्भमा उक्त ‘मधेसी’ मधेसी शब्दावली एकखालको राजनीतिक अर्थ राख्दछ र सम्पूर्ण तराईवासी जनसमुदायका लागि ‘मधेशी’ सर्वनाम सुपाच्य भइसकेको छ ।

तर, डा. सिके राउतद्वारा ‘मधेसका इतिहास’ नामक पुस्तक लेखी वास्तविक इतिहासप्रति हस्तक्षेप गरिएको महसुस गरी आफ्नो केही भनाई राख्न आवश्यक ठानेको छु, अन्यथा इतिहास जस्तो गम्भीर विषयप्रति मौन धारण गर्नु आफ्ना गौरवशाली इतिहासप्रति अन्याय गर्नु हुनेछ । शाषकवर्व सदा जनताका वास्तविक इतिहासलाई ढाकछोप गरी इतिहासमा आफ्नो सानो भूमिकालाई बढाइ चढाइ आफ्ना स्तुतिकर्ता मार्फत् मित्थ्या यशोगान गाउन लगाउने काम हुने गरेको सर्वविदितै नै छ ।
सन्दर्भ सामग्रीहरु 
१) गोपाल राजवंशावलीः धनवज्र वज्राचार्य, साझा प्रकाशन
२) नेपालको प्रचीन र मध्यकालीन इतिहासः प्रा.डा. श्री रामप्रसाद उपाध्याय
३) नेपालको ऐतिहासिक रुपरेखाः डा. सुरेन्द्र के.सी.
४) नेपाल परिचयः उप प्रा. निर्मला पोखरेल, त्रि.वि.
५) नेपालको साँस्कृतिक इतिहासः ज्ञानमणि नेपाल
६) नेपालको इतिहासः डोलराज काफ्ले
७) भारतीय संस्कृतिका विकासः सत्यकेतु विद्यालंकार
८) प्राचीन भारतीय इतिहासका वैदिक युग, सत्यकेतु विद्यालंकार
९) सिंधु सभ्यताः डा. किरण कुमार थपलिया, डा. संकटा प्रसाद शुक्ल
१०) भारतीय संस्कृति और कलाः वाचस्पति गोरौला
११) गुप्तकालीन उत्तर भारतका राजनीतिक इतिहासः डा. प्रशान्त कुमार जयसवाल
१२) प्राचीन भारतः राधाकुमुद मुखर्जी
१३. नेपालका राजाहरुः डा. पिताम्वरलाल यादव

(नयाँ शक्ति नेपालले आयोजना गरेको कार्यक्रममा झाले प्रस्तुत गरेको कार्यपत्र)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..