» » भोलीदेखि मिथिला परिक्रममा


जनकपुर, फागुन २४ गते । मिथिलाञ्चलमा हुने ऐतिहासिक प्राचीन तथा धार्मिक १५ दिने मध्यमिथिला परिक्रमा भोलिदेखि सुरु हुँदैछ ।

ऐतिहासिकस्थल कचुरी मठबाट भगवान् श्रीराम र जनक जननी सीताको डोलासहित निस्कने मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक तथा ऐतिहासिक यात्रा मानिने यो परिक्रमाको अवधि १५ दिनको हुन्छ । भनिन्छ, धार्मिक आस्थाले भरिएको यति लामो पैदल परिक्रमा विश्वको सबैभन्दा ठूलो परिक्रमा हो ।

नेपाली भू–भागको ९० तथा छिमेकी भारतीय भू–भागको ३० गरी जम्मा एकसय २० किलोमिटर भूभागको परिक्रमा श्रद्धालु भक्तजनले गर्ने परम्परा रही आएको छ ।

यसपाली फागुन चतुर्थीदेखि फागु पूर्णिमासम्म जनकपुर परिक्रमास्थल क्षेत्र र भारत विहारको पुरै क्षेत्र उत्सवमय र उल्लासमय बन्ने छन्, मध्यमिथिलाको परिक्रमाको कारण ।

धनुषा, महोत्तरी र भारतको उत्तरी विहारका दर्जनौँ धार्मिक तथा ऐतिहासिकस्थल समेट्ने परिक्रमा मार्ग एउटा धार्मिक पर्यटकीयस्थलका रुपमा स्थापित हुँदै गएको छ । बृहद्, मध्य र अन्तगृह गरी परिक्रमा तीन प्रकारको भए पनि व्यस्तताको कारण कालान्तरमा आएर मध्यमिथिला परिक्रमाको अस्तित्व मात्र बाँकी रहेको साहित्यकारको भनाइ छ ।

श्रद्धालु भक्तजनले १५ दिने मध्यमिथिला परिक्रमालाई नै आफ्नो ध्यानकेन्द्रित गरेको पाइन्छ । मिथिला महात्मय वर्णन गरिएको मध्य परिक्रमाको सुरुवात १८औँ शताब्दीभन्दा केही अगाडि भएको साहित्यकार डा राजेन्द्र विमलको भनाइ छ ।

आधुनिक जनकपुरलाई पुनः चिनाउन महात्मा सूर किशोर दासले परिक्रमा मार्ग पत्ता लगाएपछि सोती मठका सीताप्रसाद र बाराही मठका सुरदास साधुले मध्यमिथिला परिक्रमाको आरम्भ गरिएको इतिहासकार बताउँछन् । भनिन्छ, बीसौँ शताब्दीको आरम्भतिर जनकपुरधाममा रामानन्दीय वैष्णव साधुले पाँच दिनमा पूरा हुने परिक्रमालाई १५ दिने परिक्रमा बनाएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

फागुने औँसीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो महोत्सवम धनुषाको कचुरी गाउँस्थित मिथिला विहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठहँुदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरको अन्य मठमन्दिरबाट ल्याइएका डोलासहित समावेश गरी १५ दिने परिक्रमा यात्राको शुभारम्भ गरिन्छ । डोलाको पछिपछि लाखौँ तीर्थालु परम्परागत बाजागाजासहितका मौलिक पहिरनमा लाखौँ नरनारी सहभागी हुने गर्दछन् ।

अन्तरगृह परिक्रमाले धार्मिक महत्वका साथै व्यवहारिक जीवनमा समेत महत्व राख्दछ । यसको सम्बन्ध भगवान् र सीतासँग रहेकाले परिक्रमाको महत्व निकै रहेको छ । अर्का साहित्यकार श्यामसुन्दर शशी भन्नुहुन्छ, “यो परिक्रमामा नेपाल–भारत दुवै देशका धर्मावलम्बीको सहभागिता रहने हुनाले यो परिक्रमाले दुई देशबीचको आर्थिक र सांस्कृतिक सम्बन्धमा कोशेढुङ्गा सावित भएको छ ।”

बृहद् विष्णु पुराणमा वर्णन गरिएअनुसार यो परिक्रमा नै एउटा यस्तो परिक्रमा हो जसमा भगवान श्रीराम र सीताको प्रत्यक्ष दर्शनको अनुभूति हुने गर्दछ ।

पन्ध्रदिने मिथिला मध्यपरिक्रमाअन्तर्गत पहिलो दिन कुवा हनुमान नगर, दोस्रो दिन विहारको कल्नास्थित कल्याणेश्वर, तेस्रो दिन विहारकै फुुलहरस्थित गिरिजा स्थान, चौथो दिन महोत्तरीको मठिहानी, पाँचौ दिन जलेश्वर, छैठौँ दिन मढै, सातौँ दिन धु्रवकुण्ड, आठौँ दिन कञ्चन वन, नवौँ दिन पर्वता, दसौँ दिन धनुषाधाम, ११औँ दिन सतोषखर, १२औँ दिन औरही, १३औँ दिन भारत विहारको कल्ना, १४ औँ दिन भारत विहारकै विसौल र यात्राको अन्तिम दिन अर्थात् १५ औँ दिन जनकपुरधाममा आएर अन्तरगृह परिक्रमामा परिणत हुन्छ र परिक्रमा पश्चात सहभागी तीर्थालु होली खेली १५ दिनेमध्य परिक्रमा अन्त्य हुन्छ ।

परिक्रमा विश्रामस्थल धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको तथा राम सीताको जीवन पद्धतिसँग जोडिएकाले यी विश्रामस्थल ९धार्मिक स्थल०मा विभिन्न देवी देवताको प्राचीन मठ मन्दिर रहेका छन् ।

पन्ध्रदिने परिक्रमास्थल हनुमान गढी भारतको कल्याणेश्वर र फुलहर, महोत्तरीको मठिहानी जलैश्वर, मढै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोखर, औरही, भारतको करुण, विसौल र जनकपुरधाममा रात्रि तीर्थालुको विश्रामस्थलका रुपमा रहेको छ ।

नेपाल–भारतबीच सदियौँदेखि रहिआएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन प्राचीन मिथिलाको सांस्कृतिक महत्व झल्किने १५ दिने परिक्रमाले मद्दत गर्दै आएको छ ।

यो ऐतिहासिक परिक्रमाको अर्को महत्वपूर्ण पक्ष भनेको सहभागी तीर्थालुले आफैँले खाने कुरा बोकी परिक्रमामा सहभागी हुने गरेका छन् । परिक्रमा विश्रामस्थलमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले तीर्थालुका लागि बास, खानेपानी, औषधोपचार, शौचालय आदिको बैकल्पिक व्यवस्थासमेत गर्ने गरेको पाइन्छ ।

विसं २०४९ नेपाल–भारतबीच भएको द्विपक्षीय सम्झौताअनुसार अहिले परिक्रमा मार्गको मर्मत सम्भार द्रुत गतिमा भइरहेको छ । भारतको इकजिव बैंकको ऋण सहयोगमा भारत सरकारले रु एक अर्ब ५० करोड २९ लाख २८ हजार ७२८ को लागतमा मध्यपरिक्रमा सडकको निर्माण तथा मर्मत सम्भार सुरु गरिएको हो ।

नेपाल र भारतका पाँचवटा ठेकेदारले संयुक्तरुपमा काम सुरु गरिएको परिक्रमा सडकको सम्पूर्ण काम सन् २०१८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको जनकपुर परिक्रमा सडक योजना बर्दिवासका योजना प्रमुख राजेश दासले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..