» » आन्दोलनमा मधेशी महिला दोहोरो मारमा

–रिता साह

मधेशमा महिलाको बारेमा बोल्ने र लेख्ने महिलाको अभाव खड्की रहेको बेला रिता साह बाहिर आउनु भएको छ । उहाँ अहिले मधेशी महिलाको बारेमा बोल्न थाल्नु भएको छ । त्यसको बारेमा विभिन्न अध्ययन अनुसन्धान शुरु गर्नुभएको छ । यसैक्रममा मधेश आन्दोलनमा मधेशी महिलाको अवस्थाको बारेमा अध्ययान शुरु गर्नुभएको छ । यसै विषयमा सहारा टाइम्सका लागि गरिएको कुराको सम्पादित अंशः

मधेश आन्दोलन चलिरहँदा जिल्ला जिल्लामा गएर आन्दोलनमा मधेशी महिलाको बारेमा अनुसन्धान गर्दै हुनुहुन्छ, महिलाको अवस्था कस्तो पाउनु भएको छ त ?
–खासमा भन्ने हो भने अभरअल मधेश आन्दोलनको बारेमा मैले रिसर्च गर्न शुरु गरेको हुँ तर त्यसमा मैले महिलालाई मुख्य बनाएको छु । मधेशमा भइरहेको आन्दोलनमा मधेशी महिलाको अवस्था कस्तो रह्यो, त्यसको बारेमा तथ्याहरु खोज्न थालेको छु । मधेशमा महिलाको सहभागिता कस्तो छ । कुन खालका महिलाहरु बढी सहभागि भएका छन् । आन्दोलनमा महिलाको नेतृत्व कस्तो प्रकारको छ । खास गरि आन्दोलनको क्रममा महिलामाथि प्रहरीद्धारा हुने हिंसाको बारेमा मैले अलि बढी नै फोकस गरेको छु ।

कस्तो अवस्था पाउनु भो त ?
–महिलाहरुको सहभागिता कुरा यदि गर्नुहुन्छ भने मैले विराटनगरदेखि वीरगञ्जसम्म नाका नाकामा गएर त्यही बसेको महिलाको बारेमा बुझ्ने प्रयास गरेको छु । यसपालीको आन्दोलनमा पहिलाको आन्दोलनभन्दा महिलाहरु धेरै सक्रिय भएर लागेका छन् । यसअघिका आन्दोलनहरुमा जसको पारिवारिक पृष्ठभूमि राजनीतिक हुन्थ्यो ती महिलाहरु सहभागि हुन्थे । धनीमानी, हुने खाने घरपारिवारका महिलाहरु सहभागि हुन्थे । गाउँभन्दा पनि शहर केन्द्रीत महिलाहरु बढी हुन्थे तर यसपटक त्यस्तो देखिएन । दुरदराज ग्रामिण भेगका महिलाहरु सहभागि थिए । त्यसमा मुस्लिम, दलित, जनजाति महिलाहरुको पनि सहभागिता मैले पाए । खासगरि मैले वीरगञ्जमा देखेका थिए, महिलाहरु ट्रयाक्टरमा चढेर गाउँ गाउँबाट आएका थिए । उनीहरु नाचगान गर्नुको साथै गीत भजनहरु पनि गाउथे । अर्थात ती महिलाहरुको उत्साह देख्दा लाग्थ्यो कि वास्तवमा यसपाली मधेश आन्दोलित भएको छ ।

महिलाहरुको सहभागिता मात्रै थियो कि केही गतिविधिमा पनि भाग लिएको पाउनु भयो ?
–मैले अघि पनि भनेका थिए कि महिलाहरु गाउँ गाउँबाट आएर आन्दोलनमा भाग लिएको र त्यस क्रममा नाचगान गर्नुको साथै गीत भजन गाउनु, आन्दोलनमा नारा लगाउनु, जुलुसमा सहभागि हुने काम महिलाहरुबाट पनि हुने गरेको पाइयो । राजविराजमा त महिलाहरु आफ्नै नेतृत्वमा जुलुस निकालेको पनि पाइयो । चुरी जलुस, झाडु जुलुस, सिटी जुलुसलगायतमा महिलाको नेतृत्व देख्न पाइयो । शहरबजारबाट निस्किने हरेक जुलुसमा महिलालाई नै अगाडि देख्थे । यस प्रकारको गतिविधि हरेक ठाउँमा देख्न पाइयो । नाकाहरुमा पनि महिलाहरु अग्रपंक्तिमा महिलाहरु बसेका थिए । हुनसक्छ, प्रहरीको दमनबाट बाँच्नका लागि महिलालाई आगाडी राखेको हुनुपर्छ । तर महिलाहरु निरधक्क मोर्चा सम्हालेको अवस्था देखियो ।


विगतको तुलनामा यसपालीको आन्दोलनमा महिलाको सहभागिता किन बढ्यो तपाईको रिसर्चले के भन्छ ?
–मैले रिसर्चको क्रममा के पाए भने माओवादीको दशवर्षे जनयुद्धले गर्दा हरेक समुदाय, हरेक वर्गमा चेतना ल्याई दिएको छ । आफ्नो अधिकार के हो त्यसलाई पहिचान गरि त्यसमा बोल्ने तरिका सिकाई दिएको छ । अर्को कुरा, अहिलेको सविधानमा मधेशीहरुको अधिकार जसरी कटौती गरिएको छ त्यो कुराको ज्ञात महिलाहरुलाई पनि भएको छ । महिलाहरुमा पनि चेतना आएको छ । आफ्नो अधिकारका लागि बोल्ने भएका छन् । सविधानमा नागरिकताको अधिकार कटौती गरेपछि सबभन्दा बढी महिला प्रभावित भएका छन् र यो कुरा उनीहरु राम्री बुझेका छन् । अर्को कुरा यो आन्दोलनमा प्रहरीको ज्यादती जुन रुपमा आगाडि आएको छ । त्यसले सबभन्दा बढी महिलालाई छोएको छ । आन्दोलनकारीलाई सिधै छाती तथा टाउकोमा गोली हान्ने कारणले प्रहरीको ज्यादती बढेको कुरा ग्रामिण भेगका महिलाहरु समक्ष पनि पुगेको छ र त्यसले झन उत्तेजित भएर आन्दोलनमा सहभागि भएका छन् ।

महिला सहभागिताको हकमा विगतमा भएको मधेशको आन्दोलनको प्रभाव र यसपालीको आन्दोलनमा पाउनु भयो कि भएन ?
–त्यसको पक्कै प्रभाव परेको छ । राजनीतिमा महिलाहरुको सुनिश्चितताको मापदण्ड बन्यो अनि महिलाहरुको आकर्षण बढ्यो । पहिलो सविधानसभामा जुन रुपमा मधेशी महिलाहरुको सहभागिता देखियो । चाहे त्यो समानुपातिक सभासद्को रुपमा होस् वा प्रत्यक्ष निर्वाचित सभासद्को रुपमा होस् । महिलाहरुको सहभागिता सन्तोषजनक थियो । निर्वाचन प्रणालीमा महिलाहरुको लागि जुन आरक्षण दिएको छ त्यसले पनि आकर्षण बढाएको छ । ३३ प्रदेश महिला केन्द्रमा, ४० प्रतिशत महिला प्रदेशमा, स्थानीय तहमा ५० प्रतिशतको कुराले गर्दा पनि महिलाको आकर्षण बढेको हो । शिक्षित महिलाहरुले पनि राजनीतिकलाई पेसाको रुपमा आगाल्न थाल्यो । राजनीतिकमै आफ्नो भविष्य देख्ने र खोज्ने महिलाहरु पनि थुप्रै छन् ।

यो आन्दोलनमा महिलाहरु घाइते भएको अवस्था कस्तो पाउनुभयो ?
–यो मधेश आन्दोलनमा सुरक्षाकर्मीबाट धेरै नै दमन भएको छ । पुरुष प्रहरीहरुले महिला आन्दोलनकारीलाई लछार पछार गर्ने, लुगा तान्ने गाली गर्ने जस्ता काम पनि भएको मैले पाए । महिलाका लागि महिला प्रहरी प्रयोग गर्नुपर्ने हो तर त्यस्तो अवस्था मधेश आन्दोलनमा खासै देखिएन । प्रायः पुरुष प्रहरीहरुले नै महिला आन्दोलनकारीलाई धडपकड गर्ने काम गर्थ्यो । संवेदनशिल अंगहरुमा घोच्ने, कपाल तान्ने, भदाभदा गाली गर्ने जस्ता घटनाहरु सहभागिहरुसँग को कुराकानीमा मैले पाए । कतिपय महिलाहरुले घाउ खतहरु पनि देखायो । वीरगञ्जमा करिमा वेगमलाई लछार पछार गरेर लछार पछार गरेर परसम्म पुर्यो । उहाँको कम्मरमा हालसम्म पनि घाउ छदैछ । वीरगञ्जकै रेखा साहको हात भाँचिएको छ । अर्को कुरा, कुनै महिला आन्दोलनमा सहभागि भएका छन् भने उसको घरमा गएर उसको श्रीमान्, छोराछोरीलाई धम्काउने, गाली गर्ने काम गरेको पाइयो । त्यस्तै, कुनै पुरुष आन्दोलनमा लागेको छ भने उसको घरमा गएर उसको श्रीमती, छोरा छोरी, आमा बावुलाई धम्काउने गाली गर्ने काम पनि प्रहरीबाट भएको पनि मैले पाएको छु ।

कहाँ कहाँ भयो त्यस्तो ?
–यस्तो घटना मैले विराटनगरमा पाएका थिए । त्यसको नाम यहाँ उल्लेख नगरौं । मैले पिडितहरुको घरघरमा जाँदा उहाँहरुले यस्तो कुराहरु सुनाउनु भएको हो । आन्दोलन नहुँदा पनि प्रहरीहरु घर घरमा गएर कुटपिट गरेको घटनाहरु पनि मैले पाए । मधेश आन्दोलन चलिरहेकै बेला चितवनमा एउटा प्रोग्राम भएको थियो त्यसमा आठै जिल्लाका महिलाहरुलाई बोलाएको थियो जो आन्दोलनमा प्रत्यक्ष सहभागि भएका थिए । त्यहाँ पनि महिलाहरुले आफैले भोगेका कुराहरु कार्यक्रममा सुनाएका थिए । महिला हिंसा मात्र होइन, महिलालाई गोली हानेर पनि हत्या गरेको छ । हालसम्म प्रहरीका गोलीबाट तीन जना महिलाको मृत्यु भएको छ । महोत्तरी रामसिला मण्डलको हत्या भयो । त्यसअघि आन्दोलनमा नियमित सहभागि हुँदै आएको भएपनि हत्या भएको दिन आन्दोलनमा सहभागि भएका थिएनन् । पानी परिरहेको कारण ओत लाग्नका लागि उहाँ जुली नामको ब्युटीपार्लर नजिक उभिएको बेला प्रहरीले उहाँलाई ताकेर टाउकोमा गोली हानेका थियो । सर्लाहीको नवलपुरमा प्रहरी र मधेशी मोर्चाबीच झडप भएको थियो । त्यहाँ पनि एकजना महिलालाई हत्या गरिएको छ । त्यस्तै रंगेली घटनामा पनि एकजना महिलालाई गोली हानेर हत्या गरिएको छ । आन्दोलनमा कुनै सहभागिता थिएन । बाटोमा छेउबाट हिडि रहेका महिलालाई प्रहरीले गोली हानेको देखिन्छ । दिलीप साहको छोरी दुई तल्लामाथि थिइन् तर प्रहरीले तलबाट गोली हान्दा उनको बुवाको मृत्यु भयो र उ आफै घाइते भइन् । कौसीमा बसिरहेको अवस्थामा पनि प्रहरीले एउटा बालिकालाई समेट छाडेन भने अरु ठाउँमा कस्तो भएको होला आफै कल्पना गर्नुस् ।

घाइते भएर उपचार गराई रहेका महिलाहरुलाई भेट्नु भएको छ कि छैन ?
–मैले त्यस्तो कही पाइनन् । पुरुषहरु उपचार गराई रहेको थुप्रै ठाउँमा पाए । तर, महिलालाई त्यस अवस्थामा कहि कतै पाउन सकिन ।

आन्दोलनमा प्रत्यक्ष सहभागि भएको महिलाको बारेमा कुराकानी भयो तर आन्दोलनमा प्रत्यक्ष सहभागि नभएपनि थुप्रै महिलाहरु पीडित बनेका छन् । कसैको श्रीमान मरेको छ भने कसैको छोरा, ती महिलाहरुको अवस्था कस्तो पाउनु भयो ?
–सहिद परिवारहरुलाई हेर्दा कतिपय अवस्थामा उनीहरु दोहोरो मारमा छन् । एक त उनीहरुले आफ्नो श्रीमानलाई गुमाएको छ भने कसैले आफ्नो छोरालाई गुमाएको छ । अर्को महत्वपूर्ण र सोचनीय कुरा के छ भने जतिजनाले सहादत दिएका छन् ती सबै कम उमेरका छन् । भर्खर भर्खर विहे भएको छ । कसैको बच्चा भर्खर भएको थियो भने कसैको पछि जन्मियो । कतिपय महिलाहरु सासु ससुराबाट अलग भएर बसेका छन् । कहिले काही कतैबाट सहयोग आउँदा त्यसलाई प्राप्त गर्नका लागि पनि घरमा विवाद हुने गरेको र त्यसले गर्दा महिलाहरु दोहोरो हिंसामा परेका छन् । राहतका लागि झगडा हुँदा सासु ससुराले वुहारीलाई कुटपिट गरेको घटना पनि मैले सप्तरीमा फेला पारे ।

जुन रुपमा मधेशी महिलाहरुको आन्दोलनमा सहभागिता देखिएको छ, यदि भोली गएर आन्दोलन सफल भए वा असफल भए भने ती महिलाहरुलाई सेटल गर्न सकिने संभावना कतिको देख्नु भएको छ ?
–आन्दोलन महिला जुन रुपमा सहभागिता देखाएका छन् । जुन रुपमा सक्रियता देखाएका छन् भोली गएर आन्दोलन सफल भयो भने त्यसलाई राम्रो ठाउँ दिन्छ भने मलाई लाग्दैन । पहिलाका आन्दोलनमा पनि महिलाको सहभागिता थियो तर उसले राम्रो स्थान पाएन अर्थात उसको मूल्यांकन पार्टीले राम्रोसँग गर्न सकेन । र, यसपटक पनि त्यस्तै हुने संभावना छ । अर्को कुरा, महिलाले पनि महिलालाई हेपेको कुरा पनि फेला पारेको छु । केन्द्रस्तरका महिला नेताहरुले तल्लोस्तरका महिला नेतृहरुलाई स्थानमा आउन दिन चाहेका हुँदैन । अहिले आन्दोलनमा देखिएका महिलाहरुलाई राम्रोसँग गाइड गर्यो, राम्रोसँग प्रशिक्षण दिइयो भने राजनीतिकमा राम्रो प्रभाव देखाउन सक्छ ।

आन्दोलनमा केन्द्रमा राजनीतिक गर्ने महिलाको उपस्थिति कस्तो पाउनु भयो ?
–मन्त्री भइसकेका, केन्द्रको राजनीतिमा हाली मुहाली बनाई सकेका महिलाहरुको उपस्थिति पातालो देखे मैले । जिल्लास्तरका महिलाहरु सक्रिय रुपमा सहभागि छन् ।

तपाईको विचारमा यो आन्दोलनको बारेमा महिलाहरुले के बुझेका छन् ?
–आन्दोलनको बारेमा दुई तीन किसिमको बुझाई छ । केन्द्रमा राजनीतिक गर्ने महिलाको बुझाई अलि फरक छ भने जिल्लास्तरको महिला नेताहरुले त्यति राम्रो बुझेको छैन । वीरगञ्जको मितेरीपुलमा एउटा महिलालाई भेटेका थिए र उहाँलाई मैले सोधेका थिए कि यो आन्दोलनको बारेमा के थाह छ । हाम्रा कुन कुन अधिकार खोसिएको छ ? अनि उहाँले सरकारले हाम्रो बच्चालाई मारिरहेका छन् । हाम्रा बच्चाले केही अधिकार पाएका छैन । पढेर पनि के गर्छन्, पढेर पनि जागिर पाउँदैन । हामीसँग नागरिकता पनि छैन । त्यही भएर आन्दोलनमा लागेका छौ, भन्नु भएको थियो । पहाडीले मधेशको अधिकार खोसेको छ । कुनै अधिकार दिएको छैन भने भान मधेशमा परेको छ ।

यो बुझाई सही हो गलत हो ?
–यति मात्रै बुझाई हो भने त्यो सही होइन, किनभने सबै कुरा स्पष्टसँग बुझ्नुपर्छ । हाम्रो कमजोरी नै हो कि हामी बोल्छौ बढी अध्ययन कम गर्छौ । विना अध्ययन सबै कुराहरु भइरहेका हुन्छन् । कसैले भनेको भरमा कुरा गरिरहेका हुन्छन् । त्यो एकदमै खतरनाक हुन्छन् । मलाई लाग्छ धेरैले यो सविधान पढेको छैन । पढेको भएपनि कुरा बुझेको छैन । त्यसैले पहिला पढ्नुपर्छ । के कुरा हाम्रो पक्षमा छ के हाम्रो पक्षमा छैन लगायतका कुराको बारेमा बुझ्नुपर्छ ।

महिलाको हकमा उनीहरुले के बुझ्नुपर्छ तपाई नै भनदिनुस् न ।
–महिलाले सबभन्दा पहिला नागरिकताको बारेमा जानकारी राख्नुपर्छ । कुनै पनि विदेशी महिला नेपाली नागरिकसँग विहे गर्छन् भने उसको लागि वैवाहिक अंगिकृत नागरिकता हुन्छ । यसपालीको सविधानमा वैवाहिकलाई हटाएर अंगिकृति भनिएको छ र त्यो अंगिकृत पनि प्रदेशको कानुन बमोजिम हुनेछ भनिएको छ । भोलीको दिनमा संघीय कानुन कस्तो हुन्छ, त्यसमा कस्तो अधिकार हुन्छ, अधिकार पूरै दिन्छ कि कटौती गर्छन् त्यो कुरा प्रष्ट छैन भने नागरिकता संघीय कानुन अनुसार हुने कुरामा कसरी विश्वास गर्न सकिन्छ । धारा २८९ मा पदाधिकारीको लागि जुन व्यवस्था गरिएको छ । जति पनि राष्ट्रका प्रमुखहरु प्रदेश प्रमुख, राष्ट्रपति, प्रधानमन्त्रीलगातका पदहरुमा बंशज नागरिकता धारी मात्र जान सक्छ भनि सविधानमा उल्लेख गरेको छ । तर हाम्रो मधेशी समाजमा विहेवारी भारतमा हुने गरेको छ । उताको छोरी यता नेपालमा आउँछन् भने यताको छोरी भारतमा जान्छन् । अनुमानित डाटा अनुसार प्रत्येक वर्ष पाँच हजारको हाराहारीमा भारतका छोरीहरु बुहारी बनेर नेपाल आउने गरेका छन् । पहिला जस्तो अवस्था छैन । अब प्रायः बुहारीहरु पढे लेखेका हुन्छन् । राजनीतिक बुझेका हुन्छन् । राजनीतिकमा भाग लिने इच्छा र चाहना पनि लिएका हुन्छन् । तर नागरिकताका कारण ती इच्छाहरु पूरा नहुनसक्छ । यहाँ नागरिक नागरिकबीचमा विभेद कायम गरेको छ । एउटा नेपालीले पुरै अधिकार पाउने अर्को विदेशबाट आउने महिला अधिकार नपाउने यो विभेद भएन र ? यो कुराहरु पनि बुझ्नुपर्छ र त्यसका लागि लड्नुपर्छ । समावेशी समानुपातिकको विषयमा पनि जानकारी राख्नुपर्ने हुन्छ । ३३ प्रतिशत महिला भनिएको छ तर त्यो सीटमा हुनेखाने महिलाहरु नै पुग्ने गरेका छन् । त्यहाँ पनि जानुपर्ने महिला जान सकिरहेका छैन । आठ प्रदेशमा एक एक जना लिने अनिवार्य लिने व्यवस्था गरिएको त्यसमा तीनजना महिला अनिवर्या छ । तर, ती तीन जना महिला को को पर्ने हो त्यसको टुगो लागेको छैन । महिलाहरुको लागि सीट आरक्षण हुनुपर्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..