» » पूर्व राष्ट्रपतिले भन्नुभयो, सविधान निर्माणको क्रममा मधेशवादी दललाई कुर्न ठूला दललाई भनेको तर मानेन


विराटनगर, चैत ५ गते । पूर्वराष्ट्रपति डा रामवरण यादवले सात दशकको सङ्घर्षपछि जनताको चाहनाअनुरुप संविधान प्राप्त भएकाले यसको कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आज बिहान पत्रकार भेटघाटमा उहाँले संविधानको आवश्यकताअनुरुप संशोधन गर्दै जान, उग्रता नदेखाईकन मधेसका केन्द्रित दलले लोकतान्त्रिक विधिअनुरुप माग राख्न र सरकारलाई असहिष्णु नहुन सुझाव दिनुभयो ।

आफू राष्ट्रपति हुँदा लोकतान्त्रिक विधिअनुरुप, दलहरुको सहमतिमा काम गरेको बताउँदै पूर्वराष्ट्रपति यादवले भन्नुभयो – “मधेसका दललाई पनि विश्वासमा लिनका लागि केही दिन कुर्न ठूला दललाई सुझाव दिएको र सो नमानेकाले आफूलाई पीडा महसुस भएको हो ।”

संविधान किन जारी गर्नुभएको पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो – “संविधान बनाउने सार्वभौम संविधानसभाको अधिकार क्षेत्रभित्र पर्दछ, बनाइएका संविधानलाई राष्ट्रपतिले जारी गर्ने संविधानमा उल्लेख गरिएको छ, त्यसो नगरेको भए संविधानको उल्लङ्घन हुन्थ्यो ।”

उहाँले संविधानसभाका करिब ९० प्रतिशत सभासद्को समर्थनबाट निर्माण गरिएका संविधानलाई जारी गरी जनताको नासो जनतालाई सुम्पिएको स्पष्ट पार्नुभयो ।

उहाँले संविधान संशोधन भइसकेपछि मधेसका दलहरुको ९५ प्रतिशत माग पूरा भइसकेको र सीमाङ्कनको समस्या समाधानका लागि ठूला दलहरुलाई आपसी छलफल गरी टुङ्गो लगाउनुपर्ने सुझाव दिनुभयो ।

भूकम्पका कारण रु सात खर्बको क्षति भएको स्मरण गर्दै पूर्व राष्ट्रपति यादवले पाँच महिनाको मधेस आन्दोलनको अवधिमा रु १५ खर्बको क्षति भएकाले मुलुकमा शान्ति स्थापना गरी विकासको गतिलाई अगाडि बढाउन सबै दलहरुबीच सहमति आवश्यक रहेको बताउनुभयो ।

उहाँले स्थानीय निकायको निर्वाचन, सीमाङ्कनको समाधान, सङ्घीय निर्वाचन र केन्द्रीय निर्वाचन सरकारको मुख्य कार्य रहेको स्पष्ट पार्दै उहाँले मुलुकमा शान्ति स्थिरताका साथै पर्यटकीय क्षेत्रको विकासका लागि सरकारलाई अग्रसर हुनुपर्ने विषयमा जोड दिनुभयो ।

उहाँले चरे क्षेत्रको संरक्षण, राष्ट्रिय एकता र पहाडी–मधेसीबीच सामाजिक सद्भाव कायम गर्न र वातावरणलगायतका विषयमा सर्वसाधारणलाई जानकारी गराउन आफू लागिपर्ने बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..