» » होलीको पूर्वसन्ध्यामा पञ्चकोशी परिक्रमा

–सुरेशकुमार यादव
तराई मधेशमा फगुवा (होली) को रौनकसँगै पञ्चकोशी परिक्रममा शुरु भएको छ । फागुन महिनाको अमवस्यादेखि फागु पूर्णिमासम्म १५ दिनसम्म यो परिक्रमा चल्छन् । फागुन २५ गतेदेखि यो परिक्रमा शुरु भएको छ । पौराणिककालमा यो परिक्रमा साधुसन्तबाट हुने गर्दथ्यो तर अहिले गृहस्थलगायत सर्वसाधारणको पनि यसमा सहभागिता हुन थालेको छ । यसलाई मध्यपरिक्रमा पनि भनिन्छ ।

बृहत, मध्य र अन्तरगृह गरी यो परिक्रममा तीन प्रकारबाट सम्पन्न गरिन्छ । बृहत परिक्रमा उत्तरमा हिमाल, दक्षिणमा गंगा, पूर्वमा कोशी र दक्षिणमा गण्डकीसम्म हुन्थ्यो तर अहिले मध्यपरिक्रमा र अन्तरगृह परिक्रमा मात्र चलनमा छ ।

सँस्कृतिविद् रामदयाल राकेशले आफ्नो पुस्तक ‘मैथिली लोकसँस्कृति’ मा उल्लेख गरे अनुसार मध्यपरिक्रमाको सुरुआत अठारौ शताब्दीभन्दा पहिले नै भएको हुनुपर्छ र बीसौ शताब्दीसम्म आइपुग्दा महात्मा सुरकिशोर दासले यसलाई पाँच दिनबाट १५ दिनसम्म बनाए । परिक्रमामा धार्मिक मन्यता रामायणसँग जोडिएको पाइन्छ । परिक्रमा नेपाल र भारतको १५ स्थानको बसाईपछि सम्पन्न गर्ने गरिन्छ ।

जसमध्ये धनुषाको जनकपुर, धनुषाधाम, हनुमानगढी, औरही, सतोषर र पर्वता, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, धुव्रकुण्ड र कञ्चनवन, भारतको गिरिजास्थान फुलहर, कल्याणेश्वर, विशौल र करुणालगायतका ठाउँहरुको परिक्रमा गर्छन् । परिक्रमाका भक्तजनहरुले करिब एकसय २८ किलोमिटरको यात्रा गर्ने गर्छन् ।

यसरी शुरु हुन्छ परिक्रमा
धनुषा जिल्लाको मिथिला विहारी मठबाट बाजागाजासहित रामजानकीको डोला रत्नसागर भएर जानकीमन्दिरमा ल्याइन्छ र त्यसपछि मात्र परिक्रमाका लागि प्रस्थान हुन्छन् । परिक्रमामा विभिन्न साँस्कृतिक झाँकी हुनुको साथै रामजानकीको डोलालाई विशेष रुपमा सजाइएको हुन्छ । परिक्रमामा साधुसन्तबाहेक अन्य गृहस्थ स्थानीयहरुको सहभागिता हुन्छन् जो १५ दिनसम्म आफ्ना सम्पूर्ण कामकाज छाडेर धार्मिक आस्था बोकेका परिक्रमामा डोलाको पछाडि पछाडि हिडिरहेका हुन्छन् ।

प्राज्ञ रामभरोसी कपडिका अनुसार धार्मिक आस्थाका कारण पुण्य प्राप्तिका लागि परिक्रममा सहभागि हुन्छन् । जसरी बाबाधाम र पशुपतिको दर्शन गर्नका लागि कतिपय भक्तजन प्रत्येक साल जाने गर्दर्छन् त्यस्तै यो परिक्रममा पनि प्रत्येक वर्ष सहभागि हुनेहरु पनि छन् ।’ यो परिक्रममा पुरै निष्ठाका साथ खाली खुट्टाले सहभागि हुनुपर्छ ।

१५ दिनको यात्रा
नेपाल र भारतगरि ८० कोषको परिक्रमा हुने यसको महत्वपूर्ण पक्ष के हो भने विश्राम गर्ने अर्थात डोला राख्ने विशेष ठाउँहरु तोकेका हुन्छन् । र तोकिएको दिन अनुसार सोही समयमा त्यहाँ पुग्नै पर्ने हुन्छ । पहिलो दिन रामजानकी मन्दिरबाट हिडेका परिक्रमा जनकपुरभन्दा दक्षिणमा अवस्थित हनुमाननगर गाउँमा पुगेर रात्री विश्राम लिन्छन् । त्यहाँ विशाल हनुमानको मुर्ति रहेका कारण त्यस ठाउँलाई हनुमानगढी पनि भन्छन् ।

त्यसको भोली पल्ट अर्थात फागुनशुक्ल प्रतिपदाका दिन दिनभरि हिडेपछि चारकोसको दुरीमा रहेका कल्यानेश्वर अर्थात कलनामा गएर विश्राम लिन्छन् । राजाजनकले आफ्नो राजधानी कायम गर्दा यो चारकोसलाई आधार मानेका थिए ।

त्यसको भोलीपल्ट अर्थात फागुनशुक्ल द्वितीयाका दिन त्यही रहेको कल्याणेश्वरनाथ मन्दिर अगाडिमा रहेका तलाउमा स्नान गरी परिक्रममा हिड्छन् । भक्तजनहरु गीतभजन गाउँदै विभिन्न धार्मिक प्रहसन गर्दै रमाईलो गर्दै पुनः चारकोस टाढा रहेको गिरीजास्थान (फुलहर) पुगेर विश्राम लिन्छन् । सीताले यहाँस्थित फुलवारीबाट फुलटिपेर गिरीजाको पुजा गरेको कारण यसलाई गिरीजास्थान भनिन्छ र यसले पनि ठुलो महत्व बोकेका छन् ।

तेस्रो दिन अर्थात फागुनशुक्ल तृतीयाका दिन गिरीजास्थानबाट तीन कोस टाढा मटिहानीमा गएर श्रद्धालुहरु विश्राम लिन्छन्, जहाँ लक्ष्मिनारायणको मन्दिर स्थापना भएको छ । मटिहानीको पनि आफ्नै महत्व छ । धर्मग्रन्थहरुमा उल्लेख भए अनुसार सीताको विहे हुनेबेला मटकोरका लागि यही ठाउँबाट माटो लगेका थिए । त्यसैले पनि यसलाई विशेष महत्वका साथ यसको वर्णन परिक्रममा गरेका छन् ।

त्यहाँ पनि रातभरि विश्राम गरेपछि चौथो दिन दुई कोस उत्तरमा अवस्थित जलेश्वरमा गएर भक्तजनहरुले विश्राम गर्छन् । त्यसपछि पाँचौ दिन त्यहाँबाट मडई गाउँमा गएर विश्राम गर्छन् । मण्डव ऋषिको विशेष स्थान जहाँ बसेर उनले तपस्या गरेका थिए त्यस ठाउँलाई ऋषि माण्डवकै नामबाट मडई नामाकरण गरिएको छ ।
त्यहाँबाट फागुनशुक्ल षष्ठिका दिन ध्रुवकुण्डमा गएर विश्राम लिन्छन् । त्यस रातीको विश्रामपछि विहानै भक्तजनहरु स्नान तथा पुजापाठ गरेर पुनः यात्रा प्रारम्भ गर्छन् । त्यहाँबाट सातौ दिन कञ्चनवनका लागि प्रस्थान गरिन्छ ।

कञ्चनवनमा गएर श्रद्धालु तथा भक्तजनहरुले रातीको विश्राम गर्छन् । त्यहाँ रामजानकीको मन्दिर पनि रहेका छन् । पौराणिक मान्यता अनुसार यहाँ कदली, ताल, तमाल, अनारलगायत नामका वनहरु थिए तर अहिले त्यो छैन तैपनि प्रकृति सुन्दरताले जो कोहीको मन मोहित गरेका हुन्छन् । त्रेतायुगमा श्रीरामले त्यहाँ होली खेलेको मान्दै आएका कारण त्यहाँ पुगेका भक्तजन तथा साधुसन्तले आपसमा होली खेलेर रमाइलो गर्छन् ।
कञ्जनवनबाट डोलासहित भक्तजनहरु दिनभरि हिडेर पर्वता पुग्छन् ।

त्यहाँ हनुमानको मन्दिरको दर्शन गर्नुका साथै जलादी नदीमा स्नान गर्छन् । त्यो पवित्र ठाउँबाट त्यसको भोलीपल्ट डोलासहित परिक्रमा धनुषाधाम पुग्छन् । जनकपुरमा स्वयवरका दिन श्रीरामले भाँचेका धुनषको एक टुक्रा त्यहाँ पुगेको भन्दै त्यसलाई धनुषाधाम भनेर नामाकरण गरेको छ । त्यस ठाउँमा रामनमवीका दिन ठुलो मेला लागेका हुन्छन् । पर्यटकीय मान्यताले पुजित र सम्मानित ठाउँमा भक्तजनहरुका लागि बास बस्ने व्यवस्था गरेका हुन्छन् ।

एघारौ दिन अर्थात फागुनशुक्ल एकादशीका दिन डोला सतोखार पुग्छन् । परिक्रमामा सहभागि भक्तजनहरु त्यहाँ विश्राम गर्छन् र भजन किर्तन गर्छन् । बाह्रौ दिनमा डोलासहित भक्तजनहरु औरही पुग्छन् । त्यहाँ रामजानकी मन्दिरमा पुजाआजा गर्नुको साथै विमलाखोलामा स्नान पनि गर्छन् । तेह्रौ दिनमा भक्तजनहरु भारतभूमिमा रहेका करुणा पुग्छन् र त्यहाँ रातभरि विश्राम गर्छन् ।

 त्यसको भोलीपल्ट भारतकै विसौल पुग्छन् र त्यहाँपनि रातभरि विश्राम गरेर त्यसको भोलीपल्ट फागुन पूर्णिमाका दिन जनकपुरधाम आइपुग्छन् । डोलासहित जनकपुर आएका भक्तजनहरुलाई नगरवासीले तामझामका साथ स्वागत गर्छन् । रंग अविरका साथ खुशीयाली मनाउँछन् । राती त्यही विश्राम गरेपछि त्यसको भोलीपल्ट अन्तरगृह परिक्रमा गरेर भक्तजनहरु आआफ्नो घर फर्कन्छन् र त्यसको भोली पल्ट होली खेल्छन् । प्राज्ञ कापडिअनुसार होलीको पूर्वसन्ध्यामा परिक्रमा सम्पन्न हुन्छ ।

परिक्रममा भक्तजनको सेवा
१५ दिनसम्म यात्रा गरेका भक्तजनहरुमा कुनै प्रकारको थकाई देखिएको हुँदैन । सबैको अनुहारमा खुशीयाली चम्केका हुन्छन् । परिक्रमाको समयमा ठाउँ ठाउँमा भक्तजनका लागि गाउँलेहरुले खानपान तथा वासको व्यवस्था गरेको हुन्छन् । गर्मी मौसममा हुने यो परिक्रमामा बाटोमा चिसोपानी तथा सर्वतको व्यवस्था पनि गरिएको हुन्छ । यसबाट पुण्य हुने विश्वासका साथ गाउँले तथा स्थानीयहरुले भक्तजनका लागि सेवामा जुटेका हुन्छन् । जुन गाउँ भएर परिक्रमा गएका हुन्छन् त्यस गाउँका वासिन्दाले आफूलाई अहोभाग्य र पवित्र ठान्छन् । तर, अचेल यो सोचमा धेरैको परिवर्तन आइसकेको छ ।

आधुनिकताले गर्दा सेवाको भावना हट्दै गएको छ । बरु गाउँको बाटो भएर परिक्रमा गयो भने कतिपय व्यक्तिले आफ्नो धनजनको नोक्सान भयो भन्दै रिसाउने पनि गरेको परिक्रमामा सहभागि रामविलास ठाकुर (४५) ले बताउँछन् । हजारौ भक्तजनको भिड हुन्छन् । कुनै बाटो वा खेतबारीमा लगाईएको अन्नबाली भएको ठाउँबाट हिड्दा नोक्सान त हुन्छ नै ।

 त्यसले गर्दा कतिपय किसान भक्तिभावका कारण केही बोल्दैन कतिपयले त भक्तजनहरुलाई लखेट्छन् पनि र त्यसले गर्दा बेलाबेलामा झडप पनि हुन्छन् । परिक्रममा झडप नहोस् भनेर सुरक्षा व्यवस्था पनि कडा पारिएको हुन्छ । परिक्रमाको अवधिमा कतिपय बुढा पाका वा रोगीको मृत्यू पनि भइरहेका हुन्छन् । त्यसलाई मुक्ति र सौभाग्यको रुपमा लिन्छन् । यसपालीको परिक्रममा चैत ९ गते जनकपुरधाम आइपुग्नेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..