» » सुशिल कोइरालाको बारेमा के भन्नुहुन्छ मधेशी नेता


काठमाडौ माघ २७ गते । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको निधनप्रति मधेशवादी दलका नेताहरुले दुख व्यक्त गर्नु भएको छ । एकजना लोकतान्त्रिक नेतालाई यो देशले गुमाएको भन्दै सभापति कोइरालाप्रति उहाँहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कोइराला शुरुदेखि नै निरकुँशता विरुद्ध लड्दै आउनु भएको र अन्त्यसम्म त्यसलाई निरन्तरता दिएर सविधान निर्माण गरेर बित्नु भएको स्मरण गर्नुभयो ।

पछिल्लो समयको राजनीतिक गतिविधिमा महत्वपूर्ण भूमिका निभाउँदै आउनु भएका स्वर्गीय कोइरालाको इमान्दारीता, लगनशिलता र अनुशासनको अनुकरण गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँको यो दुखद निधनले राजनीतिकमा अपूर्णीय क्षति भएको बताउँदै उहाँले स्व. कोइरालाले छाडेर गएका अधुरो कार्य सो पार्टीका अन्य नेताले पूरा गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

उहाँसँगै पार्टीमा लामो समयसम्म कार्य गर्नुभएका तराई मधेश राष्ट्रिय अभियानका अध्यक्ष जयप्रकाश गुप्ताले पछिल्लो समय स्व.कोइराला पार्टीका अन्य नेताभन्दा प्रगतिशिल देखिनु भएको बताउनुभयो । मधेश आन्दोलन चलिरहँदाको अवस्थामा उहाँसँग छलफल गर्दा सो पार्टीका युवा नेताहरु भन्दा पनि परिवर्तनकारी सोच भएको आफूले पाएको अध्यक्ष गुप्ताले बताउनुभयो ।

उहाँको जीवनशैली अनुकरणीय र सादगी रहेको बताउँदै उहाँले स्व.कोइरालामा कुनै कुराको देखवटी थिएन, भित्र बाहिर सबै एउटै रहेको आफूले पाएको बताउनु भयो । स्वर्गीय कोइरालासँग छ सातवर्ष एउटै कोठामा बस्नु भएका गुप्ताले भन्नुभयो, उहाँको सबल पक्ष भन्नुस वा दुर्बल पक्ष भन्नुस्, उहाँ विरोधीप्रति कहिले उदार देखिनु भएन । पार्टीभित्र होस् वा बाहिर होस् कोही विरोधी छ भने त्यो व्यक्ति उहाँको गुड लिस्टमा कहिले परेन ।’

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले स्व.कोइरालाले सविधान निर्माणमा जुन प्रकारले सक्रियता देखाउनु भयो त्यसलाई नेपाली जनताले कहिल्यै नबिर्सिने बताउनुभयो । पार्टीका अन्य नेतासँग रिक्स लिएर सविधान निर्माणमा जसरी अगाडि बढ्नु भयो, अन्य दललाई पनि जसरी सहमतिमा लिने प्रयास गर्नुभयो त्यो तारिफ योग्य रहेको बताउँदै उहाँले पछिल्लो समय मधेशसँग केही नकेही त्रुटी गर्नुभएको उल्लेख गर्नुभयो । यद्यपी उहाँको जीवनसँग धेरै कुराको प्रेरणा लिएर अगाडि बढ्न सकिने धारणा उहाँले राख्नुभयो ।

तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले देशले एकजना परिपक्क, इमान्दार प्रजातान्त्रिक योद्धा गुमाएको छ, यसले नेपालको राजनीतिकमा अपूर्णीय क्षति भएको उल्लेख गर्दै पछिल्लो समय जसरी पार्टीको नेतृत्व गर्दै देशको नेतृत्व गर्नु भयो त्यो उदाहरणीय कार्य भएको बताउनु भयो । यद्यपी मधेश आन्दोलनको क्रममा थोरै धैर्यताका साथ तराई मधेशको भावनालाई समेटेर सविधान ल्याएको भए उहाँको जीवन झन सुनहारा हुन्थ्यो भनि उहाँले धारणा राख्नुभयो ।

तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले एकजना लोकतान्त्रिक योद्धा गुमाएको कारण पूरै देश शोकमग्न छ, कहिले काँही सोच्दै नसोचेका कुरा भइदिँदा झन दुखि बनाउने गरेको बताउनु भयो । उहाँ विमार पनि देखिनु भएको थिएन, वार्ताको क्रममा भेट्दा कति राम्रो कुरा गर्नुभएको थियो तर अचानक विहान मृत्युको खबर सुन्दा मर्माहत बनाएको बताउँदै उहाँले स्व.कोइरालाबाट धेरै कुरा सिक्न सकिने बताउनु भयो ।

उहाँको इमान्दारीता, लगनशिलताबाट पाठ सिक्न सकिन्छ, कतिपय अवस्थामा पार्टीको दवावमा गलत निर्णय उहाँबाट भएको होला तर भित्रैबाट उहाँ इमान्दर रहेको आफूले पाएको धारणा राख्नुभयो । सविधान निर्माणको क्रममामा मधेशलाई अलि अझै समेटेर अगाडि बढेको भए उहाँ नम्बर वन नेताकै रुपमा गिनिनु हुन्थ्यो भन्दै जे भएपनि एतिहासिक कार्य गरेर जानु भएकोमा सदा सम्झाना रहि रहने बताउनु भयो ।

मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मंगलवार एक विज्ञप्ति जारी गरी स्व.कोइरालाप्रति श्रद्धान्जली अर्पण गर्नुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..