» » सरकारको समितिलाई मधेसीद्वारा अस्वीकार

काठमाडौ फागुन ७ गते प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको अघिल्लो रात सरकारले गठन गरेको राजनीतिक संयन्त्रप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असन्तुष्टी जनाएका छन्।
संयन्त्रको कार्यादेशबारे दुबैपक्षका कार्यदल सदस्यबीच छलफल भइरहेका बेला सरकारले एकतर्फी निर्णय गरेको भन्दै त्यसलाई स्वीकार नगर्ने उनीहरुले बताएका हुन्।
भारत भ्रमणमा जानु अघिल्लो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार राति अबेर उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय संयन्त्र गठन गरेको थियो।
राजनीतिक संयन्त्रमार्फत सीमांकनको विवाद टुंगो लगाउने भन्दै कार्यदलका सदस्यहरु बुधबार र बिहीबार संयन्त्रको कार्यादेशबारे छलफलमा जुटे पनि मन्त्रीपरिषद्ले बिहीबार केवल संयोजकमात्रै तोकिएको संयन्त्र गठन गरेको थियो।
सरकारले संयन्त्र गठन गरेलगत्तै शुक्रबार कार्यदलमा रहेका मोर्चा र कांग्रेसका कार्यदल सदस्यले त्यसको विरोध गरेका छन्।
सरकारले केवल आफ्नो विदेश भ्रमणलाई उपलब्धीपूर्ण देखाउने मनसायले संयन्त्र गठन गरेको भन्दै त्यसलाई मोर्चाले अस्वीकार गर्ने, मोर्चा आबद्ध तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता तथा कार्यदल सदस्य राम नरेश रायले बताए।
उनले भने, "सरकारले एकतर्फी रुपमा जुन बनाएको छ। त्यसमा मोर्चाको कुनै किसिमको सहमती छैन। त्यो संयन्त्रको कुनै औचित्य पनि छैन र हाम्रो सरोकार पनि छैन। त्यो संयन्त्र होइन, आन्दोलन तुहाउने र माग पूरा नगर्ने षडयन्त्रको रुपमा छ।"
मोर्चासँगै छलफलमा सहभागी कार्यदल सदस्य तथा कांग्रेस नेता महेश आचार्यले संयन्त्रको उक्त राजनीतिक निर्णयलाई अनुचित र विभेदपूर्ण भएको बताएका छन्।
तर सरकारका तर्फबाट कानुनमन्त्री अग्नी खरेलले भने त्यसरी बुझ्न नहुने बताएका छन्।
उनले भने, "सरकार यो विषयवस्तुलाई राजनीतिक ढंगले छलफल गरेर टुंगो लगाउनको निम्ति तत्पर छ भन्ने कुराको सांकेतिक निर्णय गर्न जरुरी थियो। त्यसैले प्रधानमन्त्रीको प्रतिवद्धताको आधारमा यो संयन्त्र बनेको हो। सहमति बन्न नसक्दा पनि त भोलि एउटा संयोजक त तोक्नुपर्छ।"
अब भारत भ्रमणबाट प्रधानमन्त्री फर्किएपछि संयन्त्रले पूर्णता पाउने र त्यसमा सत्तापक्ष, प्रतिपक्ष र मोर्चाका नेताहरु रहने कानुनमन्त्री खरेलले बताए।
तर, प्रतिपक्ष र मोर्चा स्वयंले त्यसको विरोध गरिरहेको बेला अब यही संयन्त्रले सीमांकनको विवाद टुंग्याउला भन्नेमा भने अन्यौल नै देखिन्छ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..