» » मधेशी मोर्चाका नेता भन्छन्- वार्ता निकै सकारात्मक भयो.

काठमाडौँ, १८ माघ । एघार दिनअघि टुटेको प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संवादहीनता आज तोडिएको छ ।संविधान संशोधनपूर्व दुवै पक्षका शीर्ष नेता तहमा गरिएको सहमतिको प्रयास विफल भएपछि आज सत्तारुढ गठबन्धनको ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ का संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको पहलमा भएको वार्ता समस्या समाधानमा सकारात्मक देखिएको छ ।
अध्यक्ष दाहालले आइतबारको समितिको बैठकको निर्णयका आधारमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापतिासँग परामर्श गरी मोर्चालाई वार्तामा आमन्त्रण गर्नुभएको हो । यही माघ ७ गते भएको वार्ता ‘जहाँ रोकिएको थियो, त्यहीँबाट पुनःसुरु गर्न’ दुवै पक्ष सहमत भएका छन् ।
वस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा भएको वार्तामा मोर्चाले उठाएका ११ बुँदे मागमध्ये समावेशी/समानुपातिक र जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी विषय यही माघ ८ मा भएको संविधानको पहिलो संशोधनमा समेटिएकाले सङ्घीयताबारे अलग्गै राजनीतिक समिति गठन गरी कार्यदलस्तरमा सहमति जुटाउन प्रमुख तीन दलले प्रस्ताव गरेका छन् ।
तीन दलले भारतीय सीमामा जारी अघोषित नाकाबन्दी अन्त्य गरी आपूर्ति व्यवस्थापन सहज बनाउन पनि मोर्चालाई आग्रह गरेका छन् । नयाँ संविधानमा असन्तुष्ट मोर्चाले संविधान संशोधनलाई पनि मानेको छैन तर आन्दोलन पुनरवलोकन गर्नेबारे मोर्चामा अनौपचारिक छलफल सुरु भएको छ ।
तीन दल र मोर्चाका कार्यदलले प्रस्तावित राजनीतिक समितिको कार्यादेश र कार्यक्षेत्रमा सहमति जुटाउन नसक्दा शीर्ष नेतालाई टुङ्गो लगाउन आग्रह गरे पनि शीर्ष तहमा सहमति नभएपछि वार्ताको क्रम केही समय रोकिएको थियो । कार्यदलमा रहेकामध्ये काँग्रेसका नेता महेश आचार्य र तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी काठमाडौँ बाहिर रहेकाले उहाँहरु आएलगत्तै केही दिनमा कार्यदलको बैठक बस्नेछ ।
एमाओवादीका अध्यक्ष दाहालले पत्रकारसँग भन्नुभयो- “प्रधानमन्त्री र काँग्रेस सभापतिसँगको सल्लाह गरेर मैले वार्ताको पहल गरेको हुँ, आज सौहार्द्र र सकारात्मक छलफल भएको छ, पुनःकार्यदल र शीर्ष नेतास्तरमा बसेर टुङ्गो लगाउने कुरा भएको छ ।”
कार्यदलमा नेकपा (एमाले)का तर्फबाट सदस्य रहनुभएका पार्टी उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीमबहादुर रावलले विगतको वार्ता र प्रगतिको समीक्षा हुनाका साथै समस्याको समाधानका लागि जोड दिइएको र नाकाबन्दी अन्त्य गराई सकारात्मक वातावरण सिर्जना गर्न मोर्चालाई आग्रह गरिएको बताउनुभयो ।
मोर्चाका कतिपय नेता भारत भ्रमणमा रहनुभएको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले नेपालभित्रको राजनीतिक समस्याको समाधान यहाँकै राजनीतिक नेतृत्व र सरकार मिलेर समाधान गर्नुपर्ने विषयमा मोर्चालाई ध्यानाकर्षण गराइएको बताउनुभयोे ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ता ‘जहाँ रोकिएको थियो, त्यहीँबाट पुनःसुरु गर्न’ तयार भएको बताउँदै सङ्घीयताको मागबारे राजनीतिक समितिबाट टुङ्गो लगाइने छ भन्नुभयो । उहाँले मोर्चाका कार्यकर्ताले काँग्रेसको क्षेत्रीय अधिवेशनका सन्दर्भमा धनुषा जिल्लामा विभिन्न अवरोध तथा नेता विमलेन्द्र निधि, लीला कोइराला लगायत नेताका घरमा तोडफोड गरेको घटनाबारे आपत्ति गरिएको बताउनुभयो । ‘‘हाम्रो पार्टीको गतिविधिलाई अवरोध नगर्न आग्रह गरेका छौँ”– पौडलले भन्नुभयो ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरले रोकिएको वार्तालाई पुनःसुरु गर्न आफूहरु तयार रहेको तर प्रमुख दल गम्भीरताका साथ आउनुपर्ने बताउनुभयो । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्ताका लागि आफूहरु सधैँ तयार रहेको बताउँदै नाकाबन्दी खुलाउन सरकारले पनि दमनको अन्त्य, आन्दोलनका घाइतेको उपचार, न्यायिक जाँचबुझ आयोगको गठनजस्ता विषयमा सम्बोधन गर्नुपर्ने माग गर्नुभयो । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..