» » घरमा यसरी आगलागि हुदाँ ११ लाखको धनमालको क्षति

खोटाङ, माघ २८ गते । भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा खोटाङमा एघार लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ ।

गएराति साढे ११ बजेतिर सल्किएको आगोले दिक्तेल नगरपालिका–११ लफ्याङका तुलाराम विश्वकर्माको घर तथा घरमा भएका सामान जलेर नष्ट भएको हो ।

बेलुकाको खाना पकाएर छाडिएको आगो घर पछाडिपट्टिबाट सल्कँदै गएर पूरै घर जलेको स्थानीयवासी झुलेन्द्र विश्वकर्माले बताउनुभयो । विश्वकर्माका अनुसार राति सल्किएको आगो स्थानीयवासीको सहयोगमा बिहान २ बजेतिर नियन्त्रणमा लिइएको हो ।

आगोले तीनतले घर र घरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, र काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रातको समयमा आगलागी भएकाले घरभित्र रहेका कुनै पनि सामान निकाल्न नसकिएको पीडित परिवारले बताएको छ । घर तथा घरमा भएका सबै सामान जलेपछि सातजनाको विश्वकर्मा परिवार बिचल्लीमा परेका छन् । आगलागी पीडित विश्वकर्मा परिवार अहिले छिमेकीकामा आश्रय लिएर बसेका छन् ।

नगरपालिकामा रहेको दमकल घटनास्थल पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयवासीको अनुमान छ । साँघुरो सडक तथा सबै ठाउँमा सडक निर्माण गर्न बाँकी रहेकाले नगरभित्रै हुने आगलागीका घटनामा दमकल प्रयोग गर्न सकिएको छैन । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..