» » ऐतिहासिक सिम्रौनगढः एक चर्चा


–भउचप्रसाद यादव

मानव अतितलाई छातीमा समेटेर ऐतिहासिक धरोहरलाई सुरक्षित राखेको छ सिम्रौनगढ, जसलाई खुल्ला इतिहास, कला संस्कृतिको संग्रहालयको रुपमा लिन सकिन्छ । ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढ अहिले नेपालको राजनीतिक भूगोलमा मध्य नेपालको नारायणी अञ्चल, बारा जिल्लामा पर्दछ ।

बारा जिल्लाको सदरमुकाम कलैयाबाट २० किलोमिटर दक्षिण पूर्वमा रहेको सिम्रौनगढ पूर्व पश्चिम ४.५ कि मि, उत्तर दक्षिण ६.५ किलोमिटरमा फौलिएको छ । समुन्द्री सतहदेखि ३०० देखि ५०० मिटरको औसत उचाईमा रहेको यो ठाउँ करीब २६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । विश्व मानचित्रमा यो क्षेत्र २५.५५ पूर्व पश्चिम अक्षांश र ८५.१० उत्तरदक्षिण देशान्तरमा रहेको छ । ९ गाउँ विकास समिति र २० गाउँमा फैलिएको सिम्रौनगढको दक्षिणमा भारतको बिहार राज्यको पूर्वी चम्पारण, पूर्वमा रौतहट, उत्तरमा मकवानपुर र पश्चिममा पर्सा जिल्ला पर्दछ ।

सिम्रौनगढकोे स्थापना उपनिषदकाल र पौराणिक कालमा हिन्दू संस्कृतिको केन्द्रको रुपमा प्रख्यात प्राचीन विदेह वा मिथिला क्षेत्रमा भएको हो । लामो समयको अन्तरालपछि सन् १०९७ मा कर्नाटकवंशी राजा चालुक्यका सेनापति नान्यदेवले मिथिलामाथि विजय गरी सिमलको वनलाई राजधानी बनाए । जसलाई आज सिम्रौनगढ भनिन्छ ।

सिम्रौनगढको सम्बन्ध सिमलको वनसँग रहेको तथ्य नेपालमा प्राप्त सबभन्दा पुरानो वंशावली ‘गोपालर वंशावलीले’ प्रष्ट्याएको छ । सो वंशावलीमा यस स्थललाई   ‘सिमरावनगढ’ भनी उल्लेख छ, जसको अर्थ हुन्छ ‘सिमलको वनमा रहेको किल्ला’ । सिमलको वन रहेको यो क्षेत्र सिमारावनगढबाट अपभं्रश हँुदै सिम्रौनगढ भएको देखिन्छ । सन् १७३९ देखि १७५४ सम्म काठमाडौ उपत्यकामा आउने जाने गरेका इटालियन पादरी क्यासियानोले ‘सिमानागढ’ भन्ने शब्द  उल्लेख गरेको पाइन्छ ।

नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाएपछि सन् १०९७ देखि सन् १३२७ सम्म कर्नाटक वंशले यहाँ अभेद शासन गरेको देखिन्छ । नान्यदेवपछि, गंगासिंहदेव, नरसिंहदेव, रामसिंह देव, शक्ति सिंह देव, भूपालसिंह देव र अन्तिम राजाको रुपमा हरिसिंह देवले शासन गरेका थिए । मिथिलाको इतिहासमा यस काललाई स्वर्णयुग भनिन्छ । यस कालमा यहाँको धार्मिक, सांस्कृतिक र कला साहित्यको विकास चरम उत्कर्षमा पुगेको थियो ।
तिरहुतका अन्तिम राजा हरिसिंहदेवको पालामा अर्थात् सन् १३२६ मा दिल्लीका बादशाह गयासुद्धिन तुकलकले सिम्रौनगढलाई ध्वस्त पारेपछि राजा र भारदारहरु उत्तरतिर लागे । राजा हरिसिंहदेव काठमाडौ उपत्यका प्रवेश गर्ने क्रममा सिन्धुलीको तीनपाटन भन्ने ठाँउमा उहाँको मृत्यु भयो । उहाँको मृत्युपछि रानी देवलदेवी (उनको माइती काठमाडौ खाल्डोमा थियो) र राजकुमार ‘जगतसिंह’ लगायत राजपरिवारका सदस्यले भक्तपुर

राजदरवारमा शरण लिए । त्यसपछि नेपाल उपत्यकाको मल्ल वंशमा कर्नाटकवंशीको प्रभाव देखिन थालियो । राजकुमार जगतसिंह नेपाल उपत्यका आउँदा सिम्रौनगढ राजपरिवारका कुलदेवी तलेजु भवानीलाई लिएर आए । पछि तलेजु भवानीको स्थापना नेपाल उपत्यकामा भयो । आज उपत्यकामा तलेजु भवानीको भव्य मन्दिर छ । यसरी काठमाडौ उपत्यका र सिम्रौनगढबीच धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध पुरानो र प्रगाढ रहेको स्पष्ट हुन्छ ।

हरिसिंहदेवको पतनपछि गयासुद्दिन तुगलकका प्रतिनिधिले मिथिलाको राजधानी सिम्रौनगढबाट भारतको दरभंगामा सारे । मिथिलाको नाम तुगलकावाद राखी दरभंगाबाट शासन संचालन गरियो । आजपनि दरभंगालाई तुगलकावाद पनि भन्ने गरिन्छ । पछि नियमित कर तिर्नुृ पर्ने गरी स्थानीय कामेश्वर ठाकुरलाई राज्य संचालनको जिम्मा दिइयो । ठाकुरले सन् १५२६ सम्म सत्ता संचालन गरेको देखिन्छ ।

इस्वीको १६औं शताब्दीमा पाल्पाली सेनवंशका राजा मुकुन्द सेन (प्रथम) का कान्छा छोरा लोहाङ सेनले यो क्षेत्र जितेपछि तिरहुत मकवानपुरका सेन राजाहरुकै मातहत शासित हुन पुग्यो । त्यसपछि पृथ्वीनारायण शाहले चलाएको नेपाल एकीकरणको अभियानमा गोर्खाली फौजले सेन राजा दिग्वर्धन सेनलाई पराजय गरी यस क्षेत्रमा कब्जा जमायो । त्यस बखत देखि हालसम्म यो क्षेत्र नेपालमा गाभिन पुग्यो ।

सन् १२३६ मा सिम्रौनगढको भ्रमण गरेका तिब्बती विद्वान् धर्मस्वामीले गरेको वर्णन अनुसार सिम्रौनगढ एक सुरक्षित र सम्पन्न राजधानी थियो । उनका अनुसार सिम्रौनगढ बलिया, अग्ला चक्रब्युह आकार पर्खालद्वारा घेरिएको थियो । धर्मस्वामीका अनुसार त्यसबेला त्यहाँको जनसंख्या ६ लाख थियो । त्यसैगरी, इटालियन पादरी क्यासियानो (सन् १७३९ देखि सन् १७५४ सम्म) र अंग्रेज विद्वान हडसनले सन् १८३५ मा सिम्रौनगढ पुगी अध्ययन र अनुसन्धान गरेको पाईन्छ ।

तत्कालिन राजा वीरेन्द्रबाट यस क्षेत्रको अवलोकन पश्चात यहाँको पुरातात्विक अवशेषको अध्ययन अनुसन्धानका लागि भएको निर्देशन बमोजिम पुरातत्व विभाग र इटालियन सरकारको तत्वावधानमा सन् १९९१, १९९२ र १९९४ मा सिम्रौनगढको उत्खनन गरिएको थियो । उत्खननको क्रममा कर्नाट पूर्वकाल, कर्णाटकालका पुरातात्विक, धार्मिक, साँस्कृतिक अवशेषहरु प्राप्त भएको थियो ।

सिम्रौनगढका पुराना अवशेषहरु आज पनि यत्रतत्र पाइन्छ । यहाँ डढेको चामल, माटोका भाडा वर्तन, गर गहनाहरु पाइन्छ । यस क्षेत्रको कचोर्वा गाँउमा माकराकृतिको टुटी भएको धारो, हरिहरपुर गाविसमा रहेको ढुङ्गाको बाकस रहस्यमय रहेको छ । जति खन्दै जाँदा झन भित्र भाँसिनु यस बाकसको विशेषता छ । अत्यन्त कलात्मक रहेको यो बाकसको बाहिरी भाग मात्र देखिन्छ । बाँकी भाग जमीनमा गाडिएको छ । स्थानीय बासिले यसलाई बाकस, तिजोरी, सन्दुक भने पनि बास्तवमा यो के हो अहिलेसम्म पत्ता लाग्न सकेको छैन् ।

बाकस भनिएको नजिकै खम्बा आकारको कालो ढुँगा छ । खम्बा सामान्य देखिए पनि १०–१५ जनाले यसलाई टसमस समेत गर्न सक्दैन । यस क्षेत्रको अमृतगंज गाविस रहेको ढुँगाको खम्बा झन रहस्यमयीे छ । स्थानीय बासीका अनुसार यस खम्बालाई बाहिर निकाल्न खोज्दा यो झन् जमीनमा भासिने गर्दछ । यो क्षेत्रमा बाढी आए पनि यो खम्बा डुब्दैन । यस प्रकार सिम्रौनगढ क्षेत्र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण देखिन्छ । आज पनि यस क्षेत्रका ढुँगाका मूर्तिहरुमा दैवी शक्ति रहेको स्थानीय बासिको विश्वास छ ।

सिम्रौनगढको साँस्कृतिक सम्पदाको दोश्रो स्थानमा यहाँका मन्दिरहरुलाई लिन सकिन्छ । सिम्रौनगढको बीच भागमा स्थापना गरिएको कंकाली मन्दिर ईटद्वारा निर्माण गरिएको शिखर शैलीमा छ । मन्दिर चारैतिर चतुष्कोणाकारको भवनको बीचमा शिखर उठेर माथिसम्म चुलिएको छ । मन्दिरको चारैतिर खुल्ला गुम्बजाकारको प्रवेशद्वार निर्माण गरिएको छ । मन्दिरभित्र १२० से.मि. को अग्लो मंच बनाइएको छ जसमाथि पूर्व्तिर फर्काएर कंकालीको मूर्ति प्रतिष्ठापित गरिएको छ ।

 सम्पूर्ण भाग ईटबाट निर्मित यस मन्दिरको गाह्रो ७५ से.मि. चाक्लो छ । मन्दिरको दलिनमा विभिन्न चित्रहरु बनाइएको छ । यस मन्दिरको निर्माण मान्साराम बाबाले सन् १८१६ भन्दा अगाडि नै सानो आकारमा गरेक थिए । पछि उनका चेला रामसेवक दासले सन् १९६७ अहिलेको मन्दिर निर्माण गरेका थिए ।

मन्दिरमा रहेका कंकालीको मूर्ति कालो प्रस्तरमा कुदिएको छ । मूर्तिको  गोलाकार अनुहार , ठूला आँखा, पुष्ट छातीले त्यसबेलाको विशेषतालाई दर्शाउछ । देवीको गालामा हार, कानमा गोलाकार कुण्डल, कमरमा हार जडेको च्याप्टो पेटी छ । शान्त सौम्य मुद्रामा रहेको यो मूर्तिले कलामा छुट्टै स्थान ओगटेको छ ।

यहाँ वर्षको एकचोटि चैत महिनामा रामनवमीको दिन ठूलो मेला लाग्ने गर्दछ । सामान्य रुपमा भक्तजनहरुको आउने क्रम दिनहुँ नै रहन्छ । अहिले पनि यो क्षेत्रमा कंकाली माताको ठूलो महिमा छ भनिन्छ । त्यसैगरी चिताएको फल देवीले पुरा गर्छिन भने जनविश्वास छ । यस क्षेत्रमा पानी नपर्दा यहाँका महिलाहरु द्वारा कंकाली माताको पूजा आजा गरेपछि पानी पर्ने गर्दछ ।

कंकाली मन्दिर प्राङ्गणमा विभिन्न देवीदेवताका अन्य मन्दिरहरु रहेका छन् । प्राङ्गणमा रहेका मान्साराम बाबाको मन्दिर ३ मिटर उचाइर्, ५.४७ मिटरको चतुरकोणाकारमा निर्माण गरिएको छ । मन्दिरभित्र मान्साराम बाबाको समाधि स्थल छ । समाधि अगाडि एक जोर खराउ छ, जसलाई मन्साबाबाको खराउ भनी पूजा गरिन्छ । प्राङ्गनमा शिव, पार्वती, हनुमान, विष्णु, विश्वकर्माको मन्दिर रहेका छन् ।

कंकाली मन्दिरदेखि करीब डेढ माइलको पश्चिम दुरीमा रहेको छ, रानीबास जहाँ राम जानकीको मन्दिर छ । अहिलेको अमृतगंज गाविसमा अवस्थित यो मन्दिर सिम्रौनगढको बास्तुकलाको थप परिचय दिन्छ । वि.सं. १९३३ मा श्री ३ जंगबाहादुर राणाले सिम्रौनगढमा शिकार क्याम्प सकेर फर्कने क्रममा पथ्थरघट्टा भन्ने ठाउँमा उहाँको मृत्यु भएको थियो । उनकी रानी हिरण्यकुमारी सती जाने बेलामा व्यक्त गरेको इच्छा बमोजिम उनका छोरा जीतजंगले वि.स. १९३५ मा सो मन्दिरको निर्माण गरेका थिए । जुन त्यहाँको घण्टामा समेत उल्लेख छ ।
मूल मन्दिर भने तीन तहको पेटिमाथि बनेको छ जसको चारैतिर खुल्ला प्रदक्षिणा भाग छ ।

 मन्दिरभित्र राम, सीता र लक्ष्मणका धातुका प्रतिमाहरु प्रतिष्ठापित छन् । अगाडि जंगबहादुर, हिरण्यकुमारी लगायत परिवारका सदस्यहरुको प्रतिमा रहेका छन् । मन्दिरको प्राङ्गण वरिपरि दुई तल्लामा चतुष्कोणाकारका धर्मशाला बनेका छन् । मन्दिर निर्माणमा त्यहाँका भग्नावशेषहरु प्रयोग भएको देखिन्छ । मर्मत सम्भारको अभावमा अहिले मन्दिर जीर्ण बन्दै गएको स्पष्ट देखिन्छ ।

समय–समयमा प्राप्त भएको मूर्तिले सिम्रौनगढको महत्वलाई झन् बढाइदिएको छ । यहाँका मूर्तिकलाका रचनाहरुले सिम्रौनगढको सांस्कृतिक समृद्धिलाई पुष्टि गर्दछ । यहाँको मुर्तिकलाले आर्थिक रुपले समृद्ध यो राज्यमा कला र साहित्यले भरपुर उन्नति गर्ने मौका पाएको स्पष्ट हुन्छ । मूर्तिहरु धेरै जसो हिन्दू धर्म संस्कृतिसंग सम्बन्धीत रहेको हुनाले यस क्षेत्रमा हिन्दू धर्मालम्बीहरुको बाहुल्यता रहेको प्रमाणित हुन्छ । अनन्त शान्ति, ऐश्वर्य, र करुणाले धपक्क बलेको, अलौकिक भाव र मुस्कानयुक्त चिल्ला काला ढुंगामा कुदिएका मूर्तिहरुले यहाँको कलाको स्वतन्त्र र मौलिक शैलीलाई प्रस्तुत गर्दछ । मूर्तिमा पाइने आवरण र आभूषणले भक्ति रस र सौन्दर्भ रसको रसास्वादन गराउन सफल छ । मूर्तिहरुमा भाव अभिव्यक्तिको जुन मार्मिकता प्रदर्शित छ त्यसको जति प्रशंसा गरे पनि घीत मर्दैन ।

समग्र मिथिलाको कला संस्कृतिको परिचय दिन सफल यहाँका मूर्तिहरु संरक्षणको अभावमा लोप हुने अवस्थामा छन् । मुस्लमानी आक्रमणमा यहाँका अधिकांश मूर्तिहरुको अंगभंग गरी आस्तित्व समाप्त गरियो । बचेखुचेका मूर्तिहरुको पनि चोरी हुने र हराउने क्रम जारी छ । केही बर्ष अगाडि पुरातत्व विभागको सक्रियतामा कंकाली मन्दिर परिसरका मूर्तिहरुलाई मन्दिर परिसरमै घर बनाई संग्रहित गरिएको छ ।

त्यसैगरी, सिम्रौनगढका केही मूर्ति र दरबारका अवशेषलाई राष्ट्रिय संग्रहालय छाउनीमा  संग्रहित गरिएको छ । राष्ट्रिय संग्रहालयमा सिंहबाहिनी दुर्गा, सप्तअश्वरथ सवार सूर्यमूर्ति र ब्रम्हाको मूर्ति संरक्षित छ । सिम्रौनगढको तोरणद्धारको टुक्रा संग्रहालयको भित्री गेटमै राखिएको छ ।

यस क्षेत्रमा अनेकन पोखरी र इनारहरु रहेका छन् । जसमध्ये, इशरा, झरौखर, राजावादा, मनहर्वा, धोविनिया, नरकटी, जोकही, आमवा, हथाइया प्रमुख छन् । इशारा पोखरी कंकाली मंन्दिरको अगाडि छ । यो पोखरीको नाम राजा शिवसिंहकी रानी इशाराको नामबाट राखिएको भनाई छ । यस प्रकार, ऐतिहासिक, संस्कृतिक र पुरातान्विक महत्व बोकेको सिम्रौनगढको संरक्षण र प्रवद्र्धन पक्ष निकै कमजोर देखिन्छ । यस क्षेत्रको संरक्षण र प्रवद्र्धनका निम्ति बृहत योजनाको आवश्यकता देखिन्छ ।  यसका लागि संस्कृति मन्त्रालय, गुठी संस्थान, पुरातत्व विभागजस्ता निकायहरुको भूमिका महत्वपूर्ण हुन सक्छ ।

कला–संस्कृतिको अकूत भण्डारको रुपमा रहेको यस क्षेत्रको उत्खनन र न्यायोचित मूल्यांकन नगरिएसम्म नेपालको कलाकृतिको इतिहासको खोजी अधुरो नै रहने देखिन्छ । बृहत गाउँ पर्यटनको सम्भवता बोकेको यस क्षेत्रको बहुमूल्य बस्तुलाई साँच्चै नै  मूल्यवान बनाउने हो भने नेपाल सरकार, स्थानीय निकाय, व्यक्ति, संघ–संस्थाहरूको संयुक्त प्रयास आवश्यक देखिन्छ ।
(लेखक भोजपुरी भाषा, साहित्य एवम् संस्कृतिका अभियन्ता हुन् )

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..