काठमाडौ, फागुन ८ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको रबैया नबदलिए फेरि नाकाबन्दी गर्नेे चेतावनी दिएका छन् ।
राजधानीमा आज आयोजित एक साक्षात्कारमा उनले भने, ‘संविधान हामीलाई उपेक्षा गरेर ल्याईयो, संसोधन पनि त्यसरी नै ल्याईयो, सीमांकनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि सरकारले एकतर्फी रुपमा गठन गर्यो । यस्तै रबैया जारी रहे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेर शसक्त आन्दोलनको कार्यक्रम ल्याउँछौ ।’
ठाकुरले थपे, ‘सरकारले अहिले पनि दमनलाई कायम राखेको छ । फेरी दमन, निषेधित क्षेत्र लगाउने, कफ्र्यू लगाए हामी नाकामा गएर फेरि नाकाबन्दी गर्छौ । पहिला पनि सरकारले त्यस्तै ब्यवहार गरेर नाकाबन्दी गरेका हौ ।’
उनले सरकारले सहमति विपरित अहिले पनि गिरफ्तारी र झुठा मुद्दा लगाउने काम नरोकेको प्रति आक्रोस व्यक्त गर्दै अहिले मौसमको प्रतिकुलताले आन्दोलनको स्वरुप बदलेको भए पनि केही दिनमा बसेर सशक्त आन्दोलन लिएर आउने जानकारी दिए ।
ठाकुरले सरकारले आफूहरुको सहमति बेगर गठन भएको राजनीतिक संयन्त्र अस्विकार्य भएको भन्दै संयन्त्रलाई संबैधानिक मान्यता दिने र आफूहरुले उठाएको कुरा कार्यविधीमा समेटे संयन्त्रमा सहभागि हुने स्पष्ट पारे ।
उनले भने, ‘संयन्त्रलाई संवैधानिक हैसियत दिएर आफूहरुले उठाएका सरोकारलाई कार्यविधीमा समेटे यही संयन्त्रमा सामेल हुन हामीलाई कुनै आपत्ति छैन ।’
ठाकुरले देशको प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली भारत भ्रमणमा गएकोले स्वागतसम्म ठिकै भएको भन्दै यो भ्रमण आफूहरुको लागि हर्ष न विस्मात जस्तो भएको टिप्पणी गरे ।
उनले दुई प्रधानमन्त्रीको संयुक्त व्यक्तव्यमा नयाँ कुनै कुरा नभई पुराना विषयमात्रै समेटिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलादेखि भन्दै आएको सबैलाई समेटेर मिलेर अघि बढ्ने कुरा मात्रै गरेको बताए ।
ठाकुरले भने, ‘मधेसमा सडक विस्तारको कुरा पुरानै हो । भुकम्पपछिको पुर्ननिर्माणको कुरा पनि पुरानै हो । अब यसको कार्यान्वयन कसरी हुन्छ त्यसमा हाम्रो रुचि छ ।’
No comments: