» » मधेशी दललाई एकता गर्न बुद्धिजिवीहरुको सुझाव



काठमाडौ फागुन १८ गते । तराई मधेशमा जारी आन्दोलनको बारेमा विभिन्न टिका टिप्पणी शुरु भएको छ । मधेशवादी दलले आन्दोलनको स्वरुप परिवर्तन गरेपछि मधेशमा मात्र होइन राजधानीमा पनि त्यसको बारेमा अन्तरक्रिया, गोष्ठी, विचार विमर्शहरु शुरु भएको छ ।

आन्दोलनकारीहरुले राजधानीमा रहेका मधेशी बुद्धिजिवी तथा नागरिक समाजका अगुवाहरुसँग बसेर आन्दोलनको समिक्षा तथा आगामी रणनीतिको बारेमा छलफल शुरु गरेका छन् । आइतवार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बुद्धिजिवीहरुलाई भेला गरेर सुझाव संकलन गर्नुभएको छ भने हिजो संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका यादवले सुझाव संकलन गर्नुभएको छ ।

अध्यक्ष महतोले मधेशी बुद्धिजिवीहरुलाई मात्र भेला पारेर छलफल गर्नुभएको थियो भने मातृका यादवले मधेशीका साथ साथै पहाडी समुदायका बुद्धिजिवी तथा नागरिक समाजका अगुवाहरुलाई समेत भेला गरेर छलफल गर्नुभएको छ । यी दुई भेलाको एउटै उद्देश्य थियो मधेश आन्दोलन तर उद्देश्य एउटै भएपनि धारणा फरक फरक आएको छ ।

मातृका यादवले आयोजना गरेको कार्यक्रमा डा.सुन्दरमणी दिक्षित, दमननाथ ढुगांना, खगेन्द्र संग्रौला, प्रदीप गिरी, सिके लाल, तुलानारायण साह, डा.विरेन्द्र मिश्रलगायतको उपस्थिति थियो । उहाँहरुको एउटै धारणा थियो, राष्ट्रिय एकता । विना राष्ट्रिय एकताले मधेशको आन्दोलन सफल हुँदैन भने सल्लाह, सुझाव यी बुद्धिजिवीहरुले दिनु भएको थियो ।

नागरिक समाजका अगुवा दमननाथ ढुगांनाले मधेश आन्दोलन अधिकारको आन्दोलन मात्र नभएर राष्ट्रिय एकताको आन्दोलन भएकाले आन्दोलनलाई राष्ट्रिय स्वरुप प्रदान गर्न सुझाव दिनुभयो । मधेशविना नेपालको कल्पना गर्न नसकिने भएकाले मधेश आन्दोलनलाई नेपालीको आन्दोलन बनाउनु पर्ने उहाँले सुझाव दिनुभयो ।

त्यस्तै नागरिक समाजका अगुवा डा.सुन्दरमणी दिक्षितले पनि मधेशको आन्दोलनलाई राष्ट्रसँग जोड्न सुझाव दिनुभयो । मधेश मात्रै उत्पीडित छैन, हिमाल, पहाडका जनतामा पनि उत्पीडिनमा परेका छन् ती सबैलाई साथ लिएर राजधानी केन्द्रीत आन्दोलन गर्न सुझाव दिनुभयो ।

मधेशका जनता राजधानीमा आएर आन्दोलन गर्न तयार छन् त्यसको व्यवस्थापन गरे भने राजधानीमा पनि शान्तिपूर्ण आन्दोलन गर्न सकिन्छ भन्नु हुँदै उहाँले पहिलो चरणमा प्रमुख ठूला दलका नेतालाई घराउ गर्र्ने, त्यसपछि दोस्रो चरणमा पार्टी कार्यालयहरु घराउ गर्ने र तेस्रो चरणमा मात्र सिहदरवार घराउ गर्न सुझाव दिनुभयो । योजनावद्ध तरिकाले आन्दोलन नगरे सफल नहुने तर्क गर्दै उहाँले काटमार र हिंसाको आन्दोलन त्याग्न आन्दोलनकारीलाई सुझाव दिनुभयो ।

लेखक खगेन्द्र संग्रौलाले मधेशवादी दलले एकता नगरेसम्म मधेशको मुक्ति संम्भव नरहेको टिप्पणी गर्नुभयो । मधेशी जनता अझै पनि आन्दोलन गर्न तयार छन् तर मधेशवादी दलको अदुरदर्शिताका कारण यस्तो समस्या आएको बताउँदै उहाँले खास गरि मधेश आन्दोलनमा थारु र दलितलाई जोड्नुपर्ने आवश्यक देखिएको बताउनु भयो । छोटो र समान्य बाटोबाट मधेशले आधिकार पाउला भन्नेमा आफू आशावादी नरहेको धारणा राख्दै उहाँले यसका लागि ठूलै संघर्ष गर्नुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले मधेशवादी दल विना तयारी आन्दोलनमा गएको भनि टिप्पणी गर्दै मधेशी नेताकै कारण मधेश आन्दोलन कमजोर बनेको धारणा राख्नुभयो । आन्दोलनको जस कसले लिने, मसिहा को बन्ने, नेता को बन्ने होडमा आन्दोलनलाई समाप्त गरेको आरोप लगाउँदै उहाँले आउने दिनमा यसलाई सुधारेर आन्दोलनमा जानुपर्ने सुझाव दिनुभयो ।

अहिंसात्मक आन्दोलन लामो पनि जान सक्छ, यसबाट डराउने कुरा होइन, अधिकारको आन्दोलन लामो जान सक्छ, उहाँले भन्नुभयो, अधिकारका लागि आन्दोलन गर्ने र एकै पटकमा सबै थोक प्राप्त हुन्छ भन्नु गलत कुरा हो, यसका लागि संघर्ष जारी राख्नुपर्छ ।’

अर्का लेखक तथा राजनीतिक विश्लेषक सिके लालले मधेश आन्दोलन कमजोर हुनुमा तयारीको अभाव देखिएको बताउनु भयो । एक त मधेशवादी दलमै समन्वयको खाँचो देखियो भने अर्कोतिर आन्दोलनलाई अन्तराष्ट्रिय समुदायसँग जोड्न सकेन, उहाँले भन्नुभयो, आन्दोलनका लागि आन्तरिक तयारीले मात्र हुँदैन बाह्य तयारी पनि हुनुपर्छ जुनको कुराको अभाव मधेश आन्दोलनमा देखियो ।’

मधेश राजनीतिकका विश्लेषक तुलानारायण साहले मधेश आन्दोलन तुहिएको टिप्पणी गर्नुभयो । उहाँले विना लेनदेन यसरी आन्दोलन तुहिनु पहिलो पटक भएको टिप्पणी गर्दै भन्नुभयो, मधेशवादी दलका नेताहरु आन्दोलनमा त हुनुहुन्थ्यो तर उहाँहरुको कुनै तयारी थिएन खाली धमास (धम्की) को भरमा आन्दोलन गर्न चाहन्थे । जुन धम्की राजधानीले सुनेन र आन्दोलन तुहियो ।

त्यस्तै यसरी मधेश आन्दोलनको बारेमा टिप्पणी गर्नेहरुमा मुस्लिम समुदायको तर्फबाट नजरुल हुँसैन, डा.समिम, थारु समुदायको तर्फबाट डा.खुशी थारु, पूर्व सचिव डा.रामस्वरुप सिन्हा, मधेशी नागरिक समाजका गणेश मण्डल, बुद्धिजिवी कोशेन्द्र यादव, नेताहरु गोविन्द चौधरी, रिजवान अन्सारी र सन्तोष मेहतालगायतका हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन मातृका यादवले स्वयं आफै गर्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..