» » भारतसँग सम्बन्ध सुधार गर्न सरकारले गठन गरे विज्ञ समूह


काठमाडौँ, माघ १३ गते । सरकारले नेपाल–भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई थप विस्तार गर्न र गहन तुल्याउन सुझाव प्रस्तुत गर्न विशिष्ट व्यक्तिको समूह गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चार जना विशिष्ट व्यक्ति सम्मिलित उक्त समूह गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो ।

विशिष्ट व्यक्तिहरुको समूहमा अर्थशास्त्री डा भेषबहादुर थापा, कानूनविद् सूर्यनाथ उपाध्याय, नागरिक समाजका अगुवा निलाम्बर आचार्य र सांसद डा राजन भट्टराई रहनुभएको छ ।

डा थापा पूर्व परराष्ट्रमन्त्री एवम् भारतका लागि नेपाली पूर्व राजदूत हुनुहुन्छ भने उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त हुनुहुन्छ ।

नागरिक समाजका तर्फबाट आचार्य र व्यवस्थापिका–संसद् सदस्यबाट डा भट्टराईलाई विशिष्ट समूह चयन गरिएको छ ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको २०७१ साल साउनमा काठमाडौँमा सम्पन्न तेस्रो बैठकमा भएको सहमतिअनुसार दुई देशको सम्बन्धको समग्र पक्षलाई विचारविमर्श गरी अघि बढ्ने सिलसिलामा सरकारले नेपालको तर्फबाट उक्त समूह गठन गरेको हो । समितिको कार्यकाल दुई वर्षको हुने छ ।

मन्त्रिपरिषद्को अघिल्लो बैठकमा समेत उक्त समूह गठन गर्नेबारेमा पर्याप्त छलफल भएको मन्त्री राईले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..