» » प्रधानमन्त्रीमाथि प्रश्न उठाउन मिल्छ कि मिल्दैन ?


-सुरेशकुमार यादव

जति पटक वार्ता सहमति नजिक पुग्यो भनि हल्ला चल्छ त्यति पटक मधेशमा कोही नकोही प्रहरीको गोलीबाट मारिन्छ । चाहे त्यो वीरगञ्जमा एकजना भारतीय मारिएको घटना होस्, चाहे रौतहटमा रिक्सा चालक मारिएको घटना होस् वा जनकपुर र महोत्तरीको घटना किन नहोस् ।

यो एक पटक भए ल यो संयोग हो भन्ला । तर पटक पटक त्यस्तो भएको छ । अब सरकारको नियतमाथि प्रश्न उठाउने कि नउठाउने ? विराटनगर जाने प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा मधेशी मोर्चासँग वार्ता गरिरहँदा विराटनगरमा तनाव उत्पन्न भइसकेको थियो ।

आश्रु ग्यास र गोली चलाउन शुरु भइसकेको थियो तर के यो कुराको जानकारी प्रधानमन्त्री ओली समक्ष नआएको होला त ? पक्कै पनि आएको होला तर बालुवाटारको बैठकमा उनी किन मौन बसे त । रिर्पोटिगंका लागि म पनि बालुवाटारमा थिए । लङ्गकोट र पाइन्टमा रहेका प्रधानमन्त्री ओली वार्ता छाडेर पटक पटक बाहिर निस्केका थिए । बाहिर भएका (मैले नचिनेका) व्यक्तिसँग कुरा गरेर भित्र जान्थे । कुनै बेला बाहिर आएर फोनमा कुरा गरेर फेरि भित्र जान्थे ।

हामी पत्रकारले कुरा पनि कट्यौ कि प्रधानमन्त्री वार्ताकै बारेमा केही कुरा कसैसँग कुरा गरेको होलान् । कुनै शक्ति केन्द्रसँग कुरा मिलाउँदै होलान तर के थाह उनी विराटनगर घटनाबाट अन्नभिज्ञ थिएन ।

विराटनगरमा झडप हुँदैछ भने कुरा समाचारहरुबाट थाह पाइरहेका थिए । फेसबुक र अनलाइनहरुले विराटनगरको घटनाहरुको बारेमा जानकारी गराई रहेको थियो तर दुई जना महिला र एकजना पुरुष मर्ने गरि नै घटना हुन्छ भने मलाई लागि रहेका थिएन ।

युवा संघको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आउँदैछन् भनेर त्यसको विरोधमा हिजैदेखि प्रर्दशनहरु भइरहेका थिए । यस अवस्थाबाट प्रधानमन्त्री केपी शर्मा ओली पक्कै पनि अन्नभिज्ञ थिएन होला । जब कि कुनै पनि सभासद् र मन्त्रीलाई मधेशको कुनै पनि ठाउँमा कार्यक्रम गर्न नदिने त्यसलाई रोक्ने, जवर्जस्ती गरे त्यसको प्रतिकार पनि गर्ने निर्णय मधेशी मोर्चाले गरेको थियो ।


त्यो कुराको जानकारी पनि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई पक्कै पनि पुगेको हुनुपर्छ । मधेशको अहिलेको अवस्था कस्तो छ त्यो कुराको राम्रै जानकारी प्रधानमन्त्रीलाई पक्कै पनि थियो होला तर यी सबै कुराको जानकारी पाउँदा पाउँदै कार्यक्रम गर्न निर्देशन दिनु र त्यहाँ आफै नगएपनि पार्टीका इश्वर पोखरेललाई पठाउनु भनेको हठवादी सोच हो । जब कि यस्तो कार्यक्रमले गर्दा अन्य ठाउँमा घटना भएको थुप्रै उदाहरणहरु छन् ।

घटनाक्रम हेर्दा यो निष्कर्षमा पुग्न सकिन्छ कि प्रधानमन्त्री केपी शर्मा ओलीले जानी जानी यस्तो गरेका हुन् ।

धरै दिनदेखि शान्त रहेको मधेश वार्ताबाट समस्या समाधान गर्न चाहेका थिए । वार्ता हुँदैछन् सहमति होला भने मधेशी जनता निकै आशावादी बनेका थिए, दृष्टि ओछ्याएर बसेका थिए ।

विस्तारै विस्तारै बजार, कलकारखाना, विद्यालयहरु खुल्न थालेका थिए । गाडीहरु पनि चल्न थालेका थिए । यस्तो सकारात्मक मोडमा अवस्था पुग्दा पनि जानी जानी मधेशमा कार्यक्रम गर्नु भनेको मधेशलाई भड्काउने साजिस नै हो । मधेशमा फेरि अशान्ति होस् र वार्ता लम्बियोस् भन्ने नै हो ।

आजको यो घटनाको जतिपनि निन्दा गरे कम हुन्छ । सरकारले यसको क्षतिपूर्ति दिनुपर्छ । छानविन गरि दोषीमाथि कारवाही गर्नुपर्छ । र वार्ता र छलफललाई निरन्तरता दिई समस्या चाँडै समाधान गर्नुपर्छ । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकको आत्माको शान्तिको कमना गर्दछु ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..