» » कार्यदलमा तीन दलको हिचकिचाहट


काठमाडौ पुस २९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रमुख तीन दलसँग ११ बुँदे मागको बारेमा लिखित धारणा माग गरेको छ । सो मागपछि कार्यदलमा रहेका तीन दलका नेताहरुले शीर्षतहमा छलफल गरि विहिवारसम्म धारणा स्पष्ट पार्ने प्रतिकृया दिएको जनाइएको छ ।

प्रमुख तीन दल र मधेशी मोर्चाले गठन गरेको कार्यदलको बैठकमा सो माग गरेको हो । सिहदरवारमा मंगलवार बसेको बैठकमा मधेशी मोर्चाका नेताहरुले कार्यदलको बैठक मात्र बस्ने गरेको छ त्यसको बारेमा कुनै निष्कर्ष नआइरहेकाले आफूहरुले राखेको मागको बारेमा धारणा स्पष्ट हुनुपर्ने माग गरेको कार्यदलका सदस्य एवं संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

आफूहरुले प्रस्तुत गरेको ११ बुँदाकै बारेमा छलफल गर्न यो कार्यदल गठन गरेको हो तर पाँचवटा बैठक बस्दासम्म तीन ठूला दलले आफ्नो धारणा स्पष्ट नगरेको मोर्चाको गुनासो रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, मधेशी मोर्चाको तर्फबाट ११ बुँदेको बारेमा धारणा स्पष्ट भइसकेको छ तर काँग्रेस, एमाले र एमाओवादीले अझै स्पष्ट नपारेको कारण बैठक निष्कर्षमा नपुगेको हो ।


पुस २६ गते बसेको बैठकले ११ बुँदे मागको बारेमा दुवै पक्षले आआफ्नो धारणा स्पष्ट पार्न कार्यविधि तय गर्ने निर्णय भएको थियो । त्यसअघि तीन दिनसम्म बसेको कार्यदलको बैठकमा ११ वटै बुँदामा एकएक गरि छलफल भइसको थियो । र, त्यसलाई अन्तिम रुपमा दिनका लागि कार्यविधि बनाउनु पर्ने कार्यदलले सहमति गरेको थियो ।

कार्यदलमा रहेका मधेशी मोर्चाका नेताहरुले शीर्षस्थ नेताहरुसँग छलफल गरेर आफ्नो कार्यविधि तयार गरिसकेका छन् भने प्रमुख तीन दलले तयारी गर्न सकेको छैन ।


एमाओवादीको तर्फबाट कार्यदलको बैठकमा सहभागि हुनु भएका गृहमन्त्री शकति बस्नेतले कुनै विषयमा औपचारिक निर्णय नभएपनि सिमांकन हेरफेरका लागि संयन्त्र निर्माण गर्ने तथा त्यसका लागि कार्यविधि बनाउने विषय नजिक नजिक पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, संयन्त्र तथा कार्यविधिको बारेमा शीर्ष तहमा कुरा गरेर टुगों लगाउने कुरा भएको छ ।’ बुधवार शीर्षतहमा कुरा गरेर विहिवार टुगों लाग्ने गरि नै बस्ने उहाँले जानकारी गराउनुभयो ।

कार्यदलका सदस्य एवं तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठीले कुराकानी सकारात्मक भएपछि निष्कर्षमा नपुगेको बताउनुभयो ।
 छलफल सबै विषयमा भएको छ तर टुगोंमा पुग्न नसकिने भएकाले त्यस विषयमा शीर्षस्थ तहमा कुराकानी गर्नुपर्ने बताउनु भयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..