» » सरकारको प्रस्ताव अस्विकार गर्दै मधेशी मोर्चाले वार्तालाई भने कर्मकाण्डी


काठमाडौ पुस १९ गते । तराई मधेशमा देखिएको समस्या समाधानका लागि सरकारले मधेशी मोर्चासहितको एक कार्यदल निर्माणका लागि गरेको प्रस्ताव मधेशी मोर्चाले अस्वीकार गरेको छ । सरकारको तर्फबाट र मधेशी मोर्चाको तर्फबाट छुट्टा छुट्टै वार्ता समिति हुँदा हुँदै किन अर्को कार्यदल बनाउने भन्दै मधेशी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सो प्रस्तावलाई अस्वीकार गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अवेर राती भएको वार्तामा प्रधानमन्त्री ओलीले ११ बुँदे मधेशी मोर्चाको माग र काँग्रेसले संसदमा पेस गरेको संशोधन विधेयकको बारेमा छलफल गर्न चार सदस्यीय कार्यदल बनाउन प्रस्ताव गर्नु भएको छ  ।
एमालेका नेता भिम रावलले जानकारी गराए अनुसार कार्यदलमा काँग्रेसको तर्फबाट महेश आचार्य, एमालेको तर्फबाट भिम रावल र एमाओवादीका तर्फबाट कृष्णबहादुर महारा रहनु हुनेछ भने एकजना मधेशी मोर्चाको तर्फबाट माग गरिएको छ । सो बैठकलाई तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठीले कर्मकाण्डीको संज्ञा दिनु भएको छ । उहाँले बैठक कर्मकाण्डी भयो, उहाँहरुले आज पनि गीता, कुरान सुनाएको बताउँदै पहिलाको भन्दा एक इन्च पनि कुनै प्रगति नभएको बताउनुभयो ।
तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले सरकारसँग जति पटक बस्दा त्यति पटक नयाँ नयाँ कुरा ल्याउने गरेको बताउँदै कार्यदलको प्रस्ताव ल्याएर वार्तालाई लम्ब्याउने प्रयास गरेको बताउनुभयो । दुवै पक्षले वार्ता समिति तयार गरेकै छन् अनि किन चाहियो अर्को कार्यदल, उहाँले भन्नुभयो, यो बहाना मात्रै हो, यसरी नै वार्ताको नाममा अल्झाएर आन्दोलन कमजोर गरेर मधेशको माग पूरा नगर्ने राज्यको रणनीति रहेको छ । मैले बैठकमा नै भनि सकेकि अब वार्तामा नबोलाउनुस् । वार्ता गर्दा गर्दै थाकि सके अब हामीलाई छोड दिनुस् अब हामी मधेशमा गएर हात उठाई दिन्छौ कि सरकारसँग हामीले अधिकार लिन सकेनौ तपाईहरुलाई जे जे मन लाग्छ गर्नुस् । अनि जनताले आफ्नो अधिकार आफ्नो तरिकाबाट लिन्छ ।’
मधेशी मोर्चाले जति छिट्टो नाम दिए त्यति छिट्टो नै कार्यदलले आफ्नो कार्य शुरु गर्ने नेता रावलले बताउनुभयो । उहाँले कार्यदल पूर्णता पाउने वित्तिकै आफ्नो कार्य थाल्नेछ र चाँडै एउटा धारणा बनाएर शीर्ष तहलाई दिएर वार्तालाई अगाडि बढाउने बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री ओली, एमालेका वरिष्ठ नेता झलनाथ खनाल, काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिह, एमामाअ‍ोवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महराको उपस्थिति थियो ।
मधेशी मोर्चाको तर्फबाट तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवको उपस्थिति थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..