» » मोर्चाले भोली शव बुझ्ने


विराटनगर, माघ १० गते । मोरङको रङ्गेली र डाइनियामा गत बिहीबार प्रहरीको गोलीबाट मृत्यु भएका तीनजनाको शव सम्बन्धित पक्षले भोलि बुझ्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज संयुक्त मधेसी मोर्चाका कार्यकर्ताका साथ सहमति भएपछि शव बुझ्ने प्रक्रिया सुरु भए पनि भोलि सोमबार तीनैजनाको शव बुझ्ने सो मोर्चासँग आबद्ध सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराउनुभयो ।

उहाँले भोलि शव बुझेपछि विराटनगर बजारको परिक्रमा गरी मृतकका पैतृक गाउँमा पुगेर धार्मिक विधिपूर्वक दाहसंस्कार गरिने बताउनुभयो ।

यसैबीच, कोसी अञ्चल अस्पतालको शवगृहमा राखिएका ती शवको आज अपराह्न परीक्षणलगायत सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज दुबै पक्षबीच मृतकको परिवारलाई किरिया खर्चबापत प्रत्येक परिवारलाई रु २५ हजार उपलब्ध गराइने र मोर्चाका अन्य मागमा मृतकलाई सहिद घोषणालगायतका विषयमा गृह मन्त्रालयमा जानकारी गराउने सहमति भएको थियो ।

यसअघि माघ ७ गते रंगेलीमा गोली लागेर मृत्यु भएका तीनै जनाको परिवारलाई किरिया खर्च दिइने भएको छ ।
संयुक्त मधेसी मोर्चासहित जिल्ला प्रशासन कार्यालय मोरङमा आज बसेको सर्वदलीय बैठकमा मृत्यु भएका तीनै जनाको परिवारलाई तत्काल किरिया खर्च बापत २५ हजार रुपियाँ दिने भएपछि सहमति बनेको हो ।

छलफलमा मृतकलाई सहिद घोषणा गर्न, उच्चस्तरीय न्यायिक छानविन समिति गठन गर्न, घाइतेको निःशुल्क उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राखिएका थिए । उपचार र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको मोर्चाका संयोजक राजकुमार यादवले जानकारी दिनुभयो ।

उक्त बैठकमा भएको सहमतिपत्रमा मोर्चाका संयोजक तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष राजकुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष मोहमद कादिर, सद्भावना पार्टीका अध्यक्ष चन्द्रप्रसाद राजवंशी र तराई मधेश सद्भावना पार्टीका रमानन्द साहले हस्ताक्षर गर्नुभएको छ ।

सो बैठकमा नेकपा एमालेका अध्यक्ष महेश रेग्मी, नेपाली कांग्रेसका तर्फबाट नागेश कोइराला, एकीकृत माओवादीबाट गोपी आछामी, माओवादी क्रान्तिकारीका तर्फबाट कुशल लिम्बु लगायत दलका प्रतिनिधिहरुले पनि हस्ताक्षर गर्नुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..