» » मधेशी नेता र ठूला लगानीका मिडिया


-सुरेशकुमार यादव
मधेशवादी दल तथा मधेशी जनताको एउटै गुनासो छ कि ‘राष्ट्रिय मिडियाले मधेशको समाचार छापेन । मधेशको मुद्दालाई प्राथमिकतामा राखेन । यत्रो आन्दोलन भइरहेका छन् तर समाचार दिँदैन ।’ मधेशमा यतिखेर जानु भयो भने यस्तै यस्तै गुनासो सुन्न पाउनु हुन्छ ।

 त्यति मात्र होइन, त्यसको विरोध गर्दै मधेशमा राष्ट्रिय मिडिया अर्थात ठूला लगानीका पत्रिकालाई निषेध गरेको छ । मधेशका जिल्लाहरुमा ती पत्रिकाहरु गएपनि त्यसलाई कब्जामा लिएर जलाउने काम पनि गरेको छ । यस्तो दृश्य मधेशका प्रायः सबै जिल्लामा देखिएको छ । खासगरि सप्तरी, सिरहा, धनुषा र वीरगञ्जमा पछिल्लो समय काठमाडौबाट निस्किने ठूला लगानीका पत्रिकाहरुलाई जलाइएको छ । टीभी प्रसारणमा रोक लगाइएको छ ।

यो सरासर गलत काम हो । मधेशवादी दलले यस्तो गर्नु हुँदैन्थ्यो र गर्नु पनि हुँदैन । यसलाई जति भत्र्सना गरेपनि कम हुन्छ । मधेशवादी दलको एउटा अर्को माग वाक स्वतन्त्र र प्रेस स्वतन्त्रता पनि हो । तर त्यही दलहरुबाट पत्रिका जलाएर टीभी एफएम प्रसारणमा रोक लगाएर वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हनन गरिरहेको छ । एकातिर वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको माग गर्ने र अर्कोतिर हनन पनि गर्ने ।

एउटा समूहले पत्रिका जलाएपछि एर्को समूहको सूचनाको हक हनन भइरहेको हुन्छ । त्यसैले यो कदापी गर्नु हुँदैन । एउटा राजनीतिक दललाई त्यस्तो गर्न शोभा दिदैन । र, यस्तो गर्नु भनेको समस्याको समाधान पनि होइन । यसले मधेशको समस्यालाई समाधान गर्दैन । समस्याको समाधान आफ्नै ठाउँमा खोज्नु पर्छ ।

मधेशमा मिडियाको कमी छैन । मिडियाकर्मी र जनशक्तिको अभाव छैन । एकसे एक जनशक्ति छन् मधेशमा । एकसे एक पत्रिका, टीभी, एफएम, अनलाइनहरु छन् मधेशमा । तर प्रभावकारी हुन सकेको छैन । कम पूँजी, कम पहुँच, सिमिट साधन स्रोत, म्याटरका अभावका कारण प्रभावकारी हुन सकेको छैन । र, त्यसलाई प्रभावकारी बनाउने काम मधेशमा राजनीतिक गर्ने व्यक्तिहरुको पनि हो । त्यसलाई बलियो र सक्षम बनाउने दायित्व मधेशवादी दलको पनि हो तर त्यस्तो देखिएको छैन ।

मधेशमा एउटा ठूलो लगानीको मिडियाको आवश्यकता छ भने कुरा सबैतिरबाट उठेका छन् । मधेशवादी दलका नेताहरुले पनि यो कुरालाई स्वीकार गरेका छन् तर त्यसको पहल कहि कतैबाट भएको छैन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकपटक मधेशी पत्रकारहरुलाई बोलाएर यसको बारेमा कुरा पनि गर्नुभएको थियो । उहाँले यसको योजना पनि माग्नु भएको थियो । माग गरे अनुसारको योजना पनि उहाँले प्राप्त गर्नुभयो । तर त्यो त्यतिकै सेलायो । बरु उहाँले दुईटा एफएम र एउटा पत्रिका आफै सञ्चालन गर्नुभयो ।

राजेन्द्र महतोसँग मात्र होइन, मधेशका अधिकाँश नेताहरुको मिडियामा लगानी रहेको छ तर त्यो आफ्नो लागि मात्र । आफ्नो पार्टीका लागि मात्र । जयप्रकाश गुप्तादेखि महेन्द्रराय यादवसम्म, अनिल झादेखि वृषेशचन्द्र लालसम्मको आफ्नै मिडिया छन् तर त्यो प्रभावकारी छैन । ती मिडियाहरुले जनताको भाषा बोल्नु भन्दा पार्टीको गुनगान र नेताको भाषा बोल्नमै दिन बिताउँछन् । सञ्चारमाध्यममा देखिएको समस्याको त्यो समाधान होइन । शासक वर्गले आफ्नो बचाउका लागि आफ्नो मिडिया खडा गरेको छ ।

आफ्नो प्रचारका लागि लगानी लगाएका छन् भने तपाईको बारेमा किन लेख दिन्छन्, मधेशको बारेमा किन बोल्दिछन् ? हामीले आफ्नो मिडिया आफै किन नखाडा गर्ने जो मधेशको बारेमा बोलोस् । मधेशको बारेमा लेखोस् । मधेशको प्रचार गरोस् । राष्ट्रिय मिडियाको विकल्प दिने बेला आइ सकेको छ । राष्ट्रिय मिडियाको विकल्प दिएन भने यसरी नै अर्काको पत्रिका जलाएर विरोध गरिरहनु पर्छ ।

र, अर्को कुरा, यहाँ नेताहरुमा पनि दोहोरो चरित्र देखिएको छ । एकातिर उहाँका कार्यकर्ता तथा नेताहरु मधेशमा पत्रिका जलाउँछन् । टीभीमा प्रतिबन्धन लगाउँछन् भने अर्कोतिर पार्टीका ठूला नेताहरु काठमाडौमा त्यही पत्रिकामा आफ्नो अन्तरवार्ता छपाउन ललायित हुन्छन् । टिभीको स्टुडियोसम्म कुदि रहेका हुन्छन् ।

एमएमहरुमा अन्तरवार्ता दिन भ्याई नभ्याई हुन्छन् । किन यस्तो, एकातिर आफ्ना कार्यकर्तालाई पत्रिका जलाउन निर्देशन दिएका हुन्छन् भने अर्कोतिर त्यही पत्रिकामा अन्तरवार्ता दिन लेख छपाउन हरेक एक उपाय गर्छन् किन यस्तो दोहोरो चरित्र किन कसका लागि यस्तो, कसलाई भ्रममा राख्न खोजिएको हो, यो देखाउन खोजिएको हो ? यही राजधानीमा मधेशसँग सम्बन्धित पनि पत्रिकाहरु छन् । मधेशी पत्रकारहरु छन् । एमएफहरु छन् तर त्यसलाई वेवास्ता गरिएका हुन्छन् ।

मधेशी पत्रकारहरुको त मधेशवादी दलका नेताहरुले त फोन उठाउँदैन भने अर्को अपेक्षा के गर्न सकिन्छ ।

मधेशसँग सम्बन्धित कुनै पत्रिकामा कुनै अन्तरवार्ता वा लेख दिनु पर्यो भने उहाँहरुलाई फुर्सद हुँदैन तर ठूला लगानीका पत्रिकाहरुका पत्रकारहरुले एक कल फोन गर्यो भने जहाँ जुनसुकै अवस्थामा भएपनि फोन उठाउँनु हुन्छन् र उसको पत्रिका र टीभीमा अन्तरवार्ता दिन भागेर जानुहुन्छ । तर मधेशी पत्रकार र मधेशसँग सम्बन्धित पत्रिकालाई तिरस्कार गरिरहेका हुन्छन् । मधेशी नेताबाट मधेशी पत्रकार नै कतिपटक अपमान भएको थुप्रै उदाहरणहरु छन् तर त्यही नेताहरुले ठूला लगानीका ठूला पत्रिकाका पत्रकारहरुलाई रातो कर्पेट ओछ्याएर बेडरुमसम्म नै पुर्याएका हुन्छन् ।

पहाडि पत्रकारको छोराछोरीको पासनीमा भोज खान जाने ती मधेशी नेताहरु मधेशी पत्रकारको विहे, अथवा आमा बुवाको श्राद्धमा समेत जान मान्नु हुन्न । कुनै पहाडि पत्रकार विरामी भयो भने हतपत उनलाई अस्पतालमा भेट्न जानु हुन्छ तर कुनै मधेशका कुनै पत्रकार अस्पतालमा मृत्यूसँग जुद्धिरहे पनि त्यसको बारेमा खोजखबर पनि लिनु हुन्न । अनि त्यही मधेशवादी दलका नेताहरुले मधेशका बारेमा ठूला ठूला कुरा गर्नुहुन्छ ।

मधेशमा जसरी पत्रिकार जलाएका छन् । टीभीलाई बहिष्कार गरेका छन् त्यसरी नै यहाँ काठमाडौमा पनि बहिष्कार गरेर देखाउन् । कुनै पत्रिका आफ्नो अफिस वा कार्यालयमा नल्याउन्, । कुनै पत्रिका वा टेलिभिजनमा अन्तरवार्ता नदिउन् अनि मान्छौ नत्र प्रचारवाजी गर्न र जनतालाई गुमराहमा राख्नका लागि नेताहरुले यस्ता नाटकहरु बन्द गर्दा नै राम्रो ।
 suresh.journalist22@gmail.com

सहारा टाइम्स पत्रिकाबाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..