» » गच्छदारले भने, मधेसमा दुई प्रदेश असम्भव छ


काठमाडौ, पुस २६ गते। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले मधेसमा दुई प्रदेश असम्भव रहेको दावी गरेका छन ।

मुलुकमा विद्यमान समस्या समाधानकोलागि दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘ मधेसमा दुई प्रदेश असम्भव छ झापा, मोरगं र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनै पर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत छैनन ।

यी जिल्ला दुई नम्बर प्रदेशमा जाने सम्भावना छैन । त्यहाँ म पनि छु । दुई प्रदेशले मधेसको समस्या समाधान गर्दैन । तराईमा तीन सहित आठ प्रदेश बनाए त्यसले सबैको माग संबोधन गर्छ ।’

गच्छदारले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा र उदयपुर जिल्लालाई समेटेर एक प्रदेश र पश्चिममा अर्घाखाँची,पाल्पा, रुकुम र रोल्पालाई बर्दिया प्रदेशबाट हटाएर कैलालीको थारु बाहुल्य क्षेत्रलाई समेटेर सीमांकन गरे समस्याको समाधान हुने दावी गर्दै आफ्नो यो प्रस्तावमा प्रमुख दलका शिर्ष नेताहरुले अस्विकार नगरेको बताए ।

उनले भने,‘ तराईमा दुई प्रदेश हुनु पर्छ भन्ने एक्सट्रिम सोच हो । सात प्रदेशबाट आठ प्रदेश गरेर सीमांकनमा पुर्ननिर्धारणको आधार मधेसी मोर्चालाई दिनु पर्छ । यसले थारु र मुस्लिमको माग पनि पुरा गर्छ ।

पहिला नै मैले भने अनुसारको आठ प्रदेश भएको भए अहिलेको यो रक्तपात हुने नै थिएन । अहिलेको समस्याको समाधान आठ प्रदेशले गर्छ । तराईमा तीन प्रदेश भयो भने तीन वटा मधेसी मुख्य मन्त्री नै हुन्छ नि ।’

गच्छदारले काग्रेस र एमालेका नेताहरु अहिले आएर तपाईले ल्याएको आठ प्रदेशको प्रस्ताव ठिकै छ भन्ने गरेको सुनाउँदै एकीकृत नेकपा माओवादीले औपचारिक रुपमै समर्थन गरेकोमा अध्यक्ष प्रचण्डलाई धन्यबाद दिए ।

उनले भने,‘काग्रेसका नेताहरु पनि तपाईले भनेको त ठिकै हो भन्छन तर अहिले महाविधेशन भएकोले नभनौ भन्छन । अरु पनि कोठामा तपाईको फर्मुला ठिक छ भन्छन तर बाहिर भन्न सक्दैनन । मैले पाँच विकास क्षेत्र ठिक छ भने पाँच वटा प्रदेश बनाउ पनि भनेको हो तर उहाँहरु आटन सक्नु हुन्न । मेरो साईज ठूलो भएको भए नाकमा नथ्थी लगाएर ल्याउने थिए ।’

गच्छदारले सरकार निर्माणको बेला आफूसँग भएको आठ बुँदे सम्झौताको सीमांकन बाहेकको सहमति पुरा भईसकेको तर ११ बुँदे पुरा हुन्छ कि हुँदैन आफूलाई थाहाँ नभएको बताउँदै भने,‘ समावेशी समानुपातिक लगायतको विषय संविधान संसोधनमार्फत अघि बढीसकेको छ । त्यो सकारात्मक छ । झुठा मुद्दा फिर्ता लिने विषयमा प्रधानमन्त्रीले गृहमन्त्रीलाई प्रक्रिया अगाडि बढाउन भनिसक्नु भएको छ । सोमबार गृहमन्त्री र कानूनमन्त्रीसँग बसेर प्रक्रिया अगाडि बढछ । संविधानसभाबाट जारी भएको संविधान अब खारेज गर्न सकिदैन अब सबैको अपनत्व गराएर संसिोधन गरेर समस्याको समाधान गर्नु पर्छ तर संसोधनकोलागि राष्ट्रिय एकताको आवश्यकता छ । सँगसँगै देश बचाउन पनि एकताको

आवश्यकता छ भन्ने कुरा सबैले बुझ्नु पर्छ ।’
सहमतिको लागि आफूले मध्यममार्गी बाटो लिदा निक्कै आलोचित समेत भएको उल्लेख गर्दै गच्छदारले संविधानसभाबाट शहीदको सपना, जन आकांक्षा बमोजिम बनेको संविधान उत्कृष्ट भएकोले त्यसमा केही विषय बाहेक आफूहरु समर्थन रहेको स्पष्ट पारे ।


उनले भने,‘ मेरो असहमति कायमै छ तर संविधानमा असहमति होईन, केही विषयमा मात्रै हो । संविधान अग्रगमनकारी छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशीलाई सुनिश्चित गरेको छ ।’


गच्छदारले नकाबन्दीले उत्पन्न संकट बार्ताबाटै समाधान गर्नु पर्ने मा जोड दिदै मुलुकले धेरै क्षति बेहोरीसकेकोले अब मुलुकले संघर्ष र अवरोध धान्न नसक्ने तर्फ सचेत गराए ।

बर्तमान सरकारले नभई काग्रेस नेतृत्वको सरकारको पालामै संकट आएको, मधेस आन्दोलनमा ५० जनाले ज्यान गुमाईसकेको अवस्था भएकोले आलोचना गर्नुको अर्थ नभएको भन्दै केही दिनभित्रै समस्या सहजीकरण तिर लिएर जाने विश्वास उनले ब्यक्त गरे ।

गच्छदारले अहिले नयाँ सरकार बन्ने आवश्यकता नरहेको भन्दै आफू यही सरकारलाई सफल बनाउन लाग्ने स्पष्ट पारे । उनले भने,‘ यो सरकारको असक्षमताले अहिलेको संकट आएको होईन ।’

उनले आफू ईमान्दारिताकै कारणले नेपाली राजनीतिमा सर्भाईभ भईरहेको उल्लेख गर्दै जुन प्रधानमन्त्री आए पनि आफूले ईमान्दारिताकासाथ सहयोग गरेको सुनाए । उनले भने,‘ देशक लागि जोखिम उठाएर सहकार्य गरेको छु ।’
आफूले केरुङ नाकासम्म बाटो बन्न ढिलाई गरेको भन्ने आरोपको खण्डन गर्दै  भने,‘केरुङ नाकालाई मैले विशेष प्राथमिकता दिएको छु । गल्छी देखि बेत्रावतीसम्मको सडक दुई लेन बनाउन सडक विभागले टेण्डर प्रक्रिया सुरु गरिसकेको छ ।

बेत्रावतीदेखि स्याफ्रुबेसीसम्मको सडक सडकले नेपाली सेनालाई निर्माणको जिम्मा दिईसकिएको छ । चीनसरकारको सहयोगमा गर्ने भनेको बाँकी काम चीनले चासो नदेखाए सरकारले नै दुई लेन बनाउँछ ।’



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..