» » राजनीतिक संयन्त्रलाई विश्वाशिलो बनाउन मधेशी मोर्चाले गरे यस्तो प्रस्ताव


काठमाडौँ, माघ ३ गते । प्रमुख तीन राजनीतिक दल र तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच राजनीतिक संयन्त्रको टीओआर बनाउने सहमति भएको छ ।

सिंहदरबारमा आज बसेको कार्यदलको बैठकमा मधेसी मोर्चाले टीओआरका लागि आफ्ना केही बुँदाहरु पेस गरेका छन् ।

मधेशका सम्पूर्ण जिल्ला मधेशमै रहने गरि मधेशमा दुई प्रदेश बनाउनु पर्ने, प्रदेशको अधिकारको बाँडफाँडको काम यही संयन्त्रले गर्ने, सहमति भएका विषयलाई सविधानको अंग बनाउनुपर्ने, संसदमा पेस भएको दुईटा विधेयकमा जनसँख्याको आधारमा निर्वाचण क्षेत्र निर्धारण तथा राज्यको सम्पूर्ण अंगमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने गरि परिमार्जन गर्ने र बाँकी अन्य बुँदालाई राजनीतिक सहमतिको आधारमा टुगों लगाउने भनि कार्यविधिका लागि  मधेशी मोर्चाले प्रस्ताव गरेको छ ।

यी प्रस्तावमध्ये संयन्त्रलाई बैधानिकता दिने र सहमति भएका विषयलाई सविधानको अंग बनाउने तथा विगतमा भएका अध्ययन प्रतिवेदनलाई सन्दर्भ सामग्री बनाउनेमा तीन दलले सहमत भएका छन् तर मधेशमा दुई प्रदेश हुने कि तीन प्रदेश हुने वा कति प्रदेश हुने कुरा राजनीतिक संयन्त्रले मात्र टुग्यांउने कुरा तीन दलले राखेको बैठकमा सहभागि एक नेताले बताउनु भयो ।

 निर्वाचन क्षेत्र निर्धारणको बारेमा पनि जिल्लामा एक सांसद अनिवार्य रहने गरि जनसँख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने प्रस्ताव तीन दलको अझै कायम रहेको छ तर यसलाई राजनीतिक सहमतिको आधारमा टुग्यांउन सकिने ती नेताले बताउनुभयो ।

यी मधेशी मोर्चाले राखेको प्रस्तावको बारेमा सोमवार प्रमुख तीन दलको शीर्षस्थ तहमा छलफल गरी टुङ्गो लगाउने कार्यदलमा रहेका तीन दलका नेताहरुले भनेका छन् ।


मोर्चाका तर्फबाट पेस भएका ११ बुँदामा नै सहमतिको नजिक पुगेको जानकारी दिँदै उहाँहरुले भोलि साँझसम्म सकारात्मक निष्कर्षमा पुगिने उल्लेख गर्नुभयो ।

प्रमुख राजनीतिक दलले सीमाङ्कनको विषयमा उच्चस्तरीय समितिमार्फत तीन महिनाभित्र विवाद समाधान गर्ने प्रस्ताव राख्दै आएका थिए । सो समितिको कार्यादेशका विषयमा भने विवाद रहँदै आएको थियो । आजको वार्तापछि कार्यादेशको विषयमा समेत सहमति भएको बताइएको छ । तर सहमति कसरी र कुन आधारमा भयो भन्नेमा भने नेताहरुले प्रतिक्रिया दिनुभएको छैन ।

नेपाली काँग्रेसका नेता एवम् कार्यदल सदस्य महेश आचार्यले मोर्चाका तर्फबाट समिति गठन र त्यसको कार्यादेशको विषयमा शनिबारको बैठकमा उठाइएको विषयमा छलफल भएको बताउनुभयो ।

राजनीतिक समिति र त्यसको कार्यादेश सबैलाई मान्ने हुनेगरी बनाउने भन्नेमा विभिन्न विकल्पमा विचार राख्ने काम भएको भन्दै उहाँले एकाध विषयबाहेक अरु सबै मुद्दामा सहमतिको नजिक पुगेको बताउनुभयो ।

नेता आचार्यले एकअर्काको धारणा र भनाइलाई अभिलेखीकरण गरिएको र साझा धारणा बनाउने प्रयत्न भइरहेको र सोमबारसम्म केही न केही सहमति हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी) का महासचिव कृष्णबहादुर महराले विगतको भन्दा ठोसरुपमा नै वार्तामा प्रगति भएको जानकारी दिनुभयो । उहाँले प्रमुख तीन दलमा छुट्टाछुट्टै र संयुक्त रुपमा छलफल गरेर कार्यदलमा भएको प्रगतिलाई जानकारी गराउने र अन्तिम निष्कर्षमा पुगिने बताउनुभयो ।

“वार्ता एकदमै सकारात्मक भएको छ । व्यवस्थापिका–संसद्को अधिवेशन यही माघ ५ गते बोलाइएको सन्दर्भमा सो अगावै सहमति हुने आधार बनेका छन् । दुवै पक्ष समस्या समाधानप्रति गम्भीर देखिएका छन्”–महासचिव महराले भन्नुुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले एकदमै सकारात्मक ढङ्गबाट छलफल भएको र सहमतिको नजिक पुगिएको प्रतिक्रिया दिनुभयो । उहाँले पार्टी नेतृत्वसँग छलफल गरेर भोलि पुनः ३ बजे बैठक बस्ने र ठोस खाका तय गरिने बताउनुभयो ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बुँदागत रुपमा नै खुलेर छलफल भएको भन्दै सकारात्मक निकास निस्कने बताउनुभयो । उहाँले भन्नुभयो– “राजनीतिक समितिको अधिकार क्षेत्रको विषय र वैधानिकताको विषयमा लामै छलफल भयो । कार्यदल सहमतिनजिक पुगेको छ । पार्टीगत रुपमा नै छलफल गरेर भोलि टुङ्गो लगाउँछौँ ।”

बैठकपछि पत्रकारसँग कुरा गर्दै तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले राजनीतिक संयन्त्र बनाउने कुरा भएपनि यति महिना वा त्यति महिनामा टुगों लगाउने कुनै कुरा नभएको बताउनुभयो ।

पहिलो कुरा संयन्त्र बनाउने कुरा भएको छ तर त्यसमाथि कसरी विश्वास गर्ने, त्यसका आधारहरु के के हुन् कार्यविधि के हुने विषयमा टुर्गो लागे मात्र सहमति हुने कुरामा विश्वास गर्न सकिने उहाँले बताउनुभयो ।

बैठकमा उपप्रधान एवम् रक्षामन्त्री भीमबहादुर रावल, एमाओवादीका महासचिव महरा, काँग्रेस नेता आचार्य, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष त्रिपाठी, सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट डा मङ्गलसिद्धि मानन्धर, तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश राय सहभागी हुनुहुन्थ्यो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..