» »Unlabelled » आजको वार्तामा के चाहेका थिए मधेसी मोर्चा

काठमाडौ माघ ७ गते । मोर्चाको कार्यदल भंग भएपछि
भएको शीर्ष नेताहरुको वार्तामा यसअघि कार्यदलमा सहमति नजिक पुगेका विषयहरुमा समेत तीन दल माझ नै विवाद देखिएको छ।
बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओली संशोधन विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने अडानमा देखिएको थियो ।
यद्यपि मोर्चालाई समेत सन्तुष्ट पार्ने गरी संशोधन विधेयकमाथि परेका थप संशोधनलाई परिमार्जन गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ । 

कार्यदल स्तरमा भन्दा शीर्ष नेताको तहमा वार्ता गर्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित सत्तारुढ दलहरुसँग वार्ता गर्न प्रधानमन्त्री निवास पुगेका मोर्चाका नेताहरु निराशाजनक अभिव्यक्ति दिंदै बाहिरिएका थिए।
दुबै तर्फका कार्यदलका सदस्यहरुले कार्यदलमा भएको प्रगतिका बारेमा जानकारी गराएको तर प्रधानमन्त्रीका अभिव्यक्तिले सहमति नजिक पुगेका विषयमा पनि तीन दलकैबीचमा कुरा नमिलेको देखिएपछि आफुहरु वार्ताबाट बाहिरिएको तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदेश त्रिपाठीले बताए।

उनले भने,"अध्यक्ष स्तरबाटै पछाडि ढकेलिएको हो। कार्यदलमा धेरै कुरा मिल्न खोजेको थियो। धेरै मिलेको र केही नमिलेको अवस्थामा हामी छलफलमै थियौं।"

बिहीबारको वार्ताका क्रममा संसदमा दफावार छलफल शुरु भएको संविधान संशोधन विधेयकलाई कसरी अगाडि बढाउने भन्ने बारेमा सत्तारुढ नेकपा एमाले र प्रमुख विपक्षी नेपाली काँग्रेसका बीचमा फरक मत देखिएको उनले बताए।

त्रिपाठीले भने," तीन दलकै बिचमा बिग्रियो। संशोधनकर्ता कांग्रेसका सांसद र कांग्रेसप्रति प्रधानमन्त्रीको वढी असन्तुष्टि देखिन्थ्यो।"

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले थप संशोधनलाई समावेश गर्न नसकिने अभिव्यक्ति दिएको बताइएको छ।


तर मोर्चासँगको वार्तापछि भएको प्रमुख तीन दलको छलफलमा उनी केही लचिलो देखिएको वार्तामा सहभागी काँग्रेस नेता मिनेन्द्र रिजालले बताए।

उनले भने," पछि प्रधानमन्त्री सहमत हुन भएको छ। कार्यदलमा हाम्रो तीनवटा पार्टीका सदस्यहरु बसेर मधेसी दलहरुसंगपनि अनौपचारिक रुपमा छलफल गरेर संसदमा प्रस्तुत भएका संशोधन माथिको संशोधन प्रस्तावहरु मध्ये कुनै प्रस्तावमा सहमत हुन सकिन्छ भने त्यसमा कोशिस गर्ने, संविधान संशोधनका लागि कस्तो प्रस्ताव गर्न सकिन्छ भनेर अनौपचारिक रुपमा छलफल गर्ने।"

बुधबार बसेको प्रमुख तीन दलको बैठकले संशोधन विधेयकमा परेका थप संशोधनलाई अध्ययन गरेर मोर्चाको मागलाई समावेश गर्ने गरि परिमार्जन गर्ने निर्णय गरेको थियो।

उक्त जिम्मेवारी अनुरुप नै कार्यदलले आफ्नो काम अघि बढाएको बताइएको छ।

बिहीबारदेखि संसदमा दफावार छलफल शुरु भएको संविधान संशोधन विधेयकमा उल्लेख गरिएका विषय पर्याप्त नरहेको भन्दै आन्दोलनरत दलहरुले संसद छलफल बहिस्कार गरेका छन्।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..