» » साउदी कमाउन गएका एक युवाको हत्या


कपिलवस्तु, माघ ३ गते । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ । जिल्लाको पकडी– ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा गत पुस ३० गते हत्या भएको हो ।

उनलाई बङ्गलादेशी कामदारको पाँच जनाको समूहले हत्या गरेको मृतक कामदारका नेपाली साथीले नेपालमा रहेका मृतकका दाजु मुहम्मद इसहाकलाई जानकारी दिएका छन् । आफ्नो परिवारको सदस्यको हत्या भएकाबारे आज पीडित परिवारजनले पत्रकारलाई जानकारी दिँदै मृतकको शव ल्याउन र दोषीउपर कडा सजाय दिलाउन सरकारीस्तरबाट पहलका लागि आग्रह गरेका छन् ।

साउदीस्थित अलियमाम कम्पनीमा कार्यरत मुसलमानलाई हत्या गरेका पाँच जना बङ्गलादेशीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको साउदीमा रहेका उनका दाजु हजरतले बताएका छन् ।

मृतकको घरपरिवार अहिले शोकमा डुबेको छ । मृतक मुसलमानको शव स्थानीय अस्पतालमा राखिएको छ । शव सुरक्षित साथ नेपाल ल्याउन र घटनामा संलग्न हत्यारालाई कडाभन्दा कडा सजाय दिलाउनुपर्ने मृतकका घरपरिवारले माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले मृतकका घरपरिवारले प्रशासनमा निवेदन दिएमा नेपाली दूतावासमार्फत साउदी दूतावासलाई पत्राचार गरी शव नेपाल ल्याउन पहल गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

मृतक मुसलमान ११ महिनाअघि काठमाडौँस्थित वल्र्डवाइड इम्पल्वाइड कम्पनीबाट साउदी अरब गएका थिए । मृतकका एक श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..