» » उपेन्द्र यादवले भने, सरकारी बेवास्ताका कारण वार्ता असफल भएको


काठमाडौं,  माघ ८ गते – संघीय समाजवादी फोरम, नेपालको दोस्रो केन्द्रीय कार्यसमिति बैठक शुक्रवारदेखि काठमाडौंमा  सुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने केन्द्रीय बैठकले नेपालको वर्तमान राजनीति अवस्था, जारी मधेश आन्दोलन, पार्टीको भावी कार्यदिशा र आन्दोलन पार्टीको आगामी भूमिका लगायतका एजेन्डामा बैठक केन्द्रीत रहेको पार्टी उपाध्यक्ष लालबाबु राउतले जनाएका छन् ।

 मधेसमा पाँच महिनादेखि आन्दोलन जारी रहेको र सरकार–मोर्चाबीचको वार्ता सफल नभइरहेको बेला आन्दोलनरत मोर्चाको प्रमुख घटक फोरम नेपालले केन्द्रीय बैठक आह्वान गरेपछि यसलाई बडो महत्व र चासोका साथ हेरिएको छ ।

केन्द्रीय बैठकलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारी बेवास्ताले गर्दा वार्ता सफल नभएको आरोप लगाएका छन् । ‘वार्तालाई निष्कर्षमा पु¥याउन मोर्चा तत्पर र इमान्दार रहेपनि तीन दलका नेताहरुमा उच्च जातीय अहंकार वार्ताको बाधक बनेको छ’– यादवले भने ।

 तीन दल वार्ता गर्ने पक्षमै नरहेको भन्दै अध्यक्ष यादवले वार्ताका नाममा सरकारले समय कटाउने षड्यन्त्र मात्रै गरेको टिप्पणी गरे ।

पार्टी केन्द्रीय पदाधिकारी र सदस्यहरुले खचाखच भरिएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, भाषिक रुपले उत्पीडित जनताको आसा र भरोसा बनेको फोरम नेपालले जुनसुकै परिस्थितिमा आन्दोलनकारीको माग पूरा गराई छाड्ने अठोट व्यक्त गरेका छन् ।

उनले भने, ‘समाजवादजस्तो अग्रगामी विचार, सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, सम्प्रदायको प्रतिनिधित्व भएको प्रभावकारी संगठन र उत्पीडित जनताको पक्षमा हामी निरन्तर संघर्षमा छौं ।’

बैठकमा पार्टी सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थिति, संविधानसभा प्रतिक्रान्तिको साधन र नयाँ संविधान प्रतिक्रान्तिको उपज, नयाँ संविधानका प्रतिगामी तथा यथास्थितिवादी धाराहरु, समानुपातिक समावेशी लोकतन्त्रको कसीमा नयाँ संविधान, प्रतिगामी संविधान विरुद्धको सदन र सडकमा पार्टीको संघर्ष, तराई–मधेस–थरुहटमा आन्दोलन र विद्रोह, मोर्चा र सरकारबीच भएको वार्ता लगायतका विषयबस्तु समेटिएको छ ।

 नेपालका सबै परिवर्तनको निर्णायक केन्द्र काठमाडौं भएकोले राष्ट्रिय आन्दोलन काठमाडौं केन्द्रित हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पहिचान केन्द्रीत राजनीतिक शक्तिहरुसँग बृहत् गठबन्धन गर्दै काठमाडौं केन्द्रित विद्रोह हुनुपर्ने निष्कर्ष प्रतिवेदनमा निकालिएको छ  ।

शनिवार केन्द्रीय सदस्यहरुले सुझावसहित आ–आफ्नो भनाई राखिसकेपछि बैठक ठोस निष्कर्षमा पुग्ने उपाध्यक्ष लालबाबु राउतले बताए । केन्द्रीय सदस्य तथा लामो राजनीतिक संघर्ष गरेका प्रेमकृष्ण पाठकलाई क्रान्तिको योद्धाको रुपमा फोरम नेपालले सम्मान गरेको छ ।

 बैठकको उद्घाटन सत्रमा पूर्व उपराष्ट्रपति परमानन्द झाको समेत उपस्थिति रहेको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..