» » कार्यविधि बनाएर छलफल गर्ने कार्यदलमा सहमति

मोर्चाको बैठक 
काठमाडौ पुस २७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग सहमतिका लागि छलफल गर्न गठन भएको कार्यदलले मोर्चाको मागमा सहमति जुटाउन कार्यविधि तयार गर्ने निर्णय गरेको छ ।

सिहदरवारमा आइतवार बसेको कार्यदलको बैठकमा मधेशी मोर्चाले पेस गरेको ११ बुँदामा छलफल सकिएको छ । ती विषयहरुमा के कसरी र कुन विधिबाट सहमति जुटाउन सकिन्छ त्यसका लागि कार्यविधि बनाउनु पर्ने भन्दै छुट्टा छुट्टै छलफल गरि टुगों लगाउने भएको छ ।

मोर्चाले राखेको ११ बुँदे मागको बारेमा सबैले आआफ्नो धारणा राखेका छन् । कार्यदलमा रहनु भएका काँग्रेस, एमाले, एमाओवादीका नेताहरुले सिमांकनको विषयलाई राजनीतिक संयन्त्र वा आयोग बनाएर टुग्यांउने र अन्य विषयलाई राजनीतिक सहमतिको आधारमा टुग्याउने प्रस्ताव गरेको छ ।

त्यसमा मधेशी मोर्चाले तीन महिनामा सिमांकनको विषय टुग्यांउनका लागि कार्यविधि बनाउनु पर्ने धारणा राखेको छ ।

तीन महिनामा कसरी टुग्याउने त्यसका लागि विश्वासका आधार चाहियो, आफूहरुले चाहेको जस्तो संघीय प्रदेश नै हुन्छन् भने कुराको आधार के भनि कुरा राखेपछि सोमवार कार्यविधि बनाएर छलफल गर्ने भएको छ ।

काँग्रेसका नेता एवं कार्यदलका सदस्य महेश आचार्यले सरकारले गठन गरेको राज्यपुनःसंरचना तथा शक्ति बाँडफाँड उच्चस्तरीय आयोग र सविधानसभाको राज्यपुनः संरचना समितिले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर पनि सिमांकनको विषषलाई टुग्यांउन सकिने धारणा राख्नु भएको बैठक स्रोतले जनाएको छ ।

तर एमालेले मन्त्रीपरिषद्ले प्रस्ताव गरेको तीन बुँदे अवधारणाका आधारमा सिमांकनको विवाद टुग्याउनु पर्ने तथा समानुपातिक समावेशी तथा निर्वाचन क्षेत्र निर्धारणको विषय संसदमा पेस भएको संशोधन विधेयककै आधारमा टुगों लगाउनुपर्ने धारणा राखेको बताइन्छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कार्यदलका सदस्य एवं एमालेका उपाध्यक्ष भिम रावले छलफल निकै सकारात्मका भएको भन्दै छलफल भएका विषयलाई कार्यविधि बनाएर टुगों लगाउने कुरा भएको बताउनुभयो ।

संसदमा पेस भएको दुई बुँदे संशोधन प्रस्ताव र मधेशी मोर्चाको ११ बुँदे मागको बारेमा छलफल सकिएको छ, अब त्यसलाई अन्तिम रुप दिनका लागि कुन कार्यविधि वा प्रकृया अपनाउने विषयमा सोमवारदेखि छलफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,  देशको अवस्था हेरेर अब यो विषयलाई चाँडै टुग्याउनु पर्ने विषयमा सबै जना एकमत देखिनु भएको छ । आन्दोलनलाई धेरै लम्ब्याउनु हुँदैन, त्यसले देशमा झन समस्या थप्दै गएको कुरा सबैले महसुस गर्नुभएको छ । त्यसैले एकअर्काका धारणासँग हामी धेरै निकट भएका छौ र अब चाँडै सहमति होला भने कुरामा विश्वास लागेको छ ।’

तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले ११ बुँदामा कुरा भएपनि कुनै विषयको टुगों नलागेपनि सबैले आआफ्ना धारणा राखेको बताउँदै छलफलमा आएका विषयलाई कसरी टुगों लगाउन सकिन्छ त्यसको बारेमा कार्यविधि बनाएर पुनः छलफल गर्ने सहमति भएको बताउनुभयो । कुरा मात्र सकारात्मक भएर हुँदैन, उहाँले भन्नुभयो, निष्कर्ष पनि सकारात्मक आउनुपर्छ । कार्यविधि बनाएर छलफल शुरु भएपछि मात्र हामीले राखेको मागको बारेमा ठोस कुरा आउँछ ।’

कार्यदलका अर्का सदस्य एवं तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठीले संघीयता, समानुपातिक समावेशी, जनसँख्याको आधारमा निर्वाचन क्षेत्र, नागरिकता, न्यायलयलगायतका विषयमा गम्भीर छलफल भएको बताउँदै अर्को बैठक बसेर यसलाई अन्तिम रुपम दिने बताउनुभयो ।

एकएक बुँदामा गम्भीर र खुलेर छलफल भयो, उहाँले भन्नुभयो, सरकार र सत्ताधारी दलका तर्फबाट कार्यदलमा रहनु भएका नेताहरुले हामीले राखेको मागहरुको बारेमा आआफ्नो धारणा राख्नु भएको छ । त्यसमा अझ छलफल गर्नका लागि कार्यविधि बनाउने कुरा भएको छ ।’

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भविष्यमा पुनः आन्दोलन गर्न नपरोस् भन्ने तरिकाले छलफल अगाडि बढेको छ, सबै दलहरु त्यसमा गम्भीर देखिएको बताउँदै सत्ताधारी दल तथा प्रतिपक्षि दलले राखेको प्रस्तावको बारेमा कार्यविधि बनाएर छलफल गर्ने बताउनुभयो ।

संघीयता, समावेशी समानुपातिक तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा ती दलहरुले केही प्रस्ताव राखेको बताउनु भयो तर उहाँले ती प्रस्तावहरुको बारेमा केही खुलाउन चाहनु भएन ।

बैठकमा काँग्रेसका नेता महेश आचार्य, एमालेका तर्फबा भिम रावल, एमाओवादीका तर्फबाट शक्ति बस्नेत, तमलोपाका तर्फबाट ह्रदयश त्रिपाठी, तराई मधेश सद्भावना पार्टीका तर्फबाट रामनरेश राय यादव र फोरम नेपालको तर्फबाट राजेन्द्र श्रेष्ठ सहभागि हुनुहुन्थ्यो । बैठक सोमवार पुनः बस्नेछ ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..